बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिटल्सको त्यो अन्तरवार्ता र कबिर बेदी अभिनेता बनेको कहानी

सोमबार, ११ असोज २०७८, १३ : ४३
सोमबार, ११ असोज २०७८

बिटल्स नामको चर्चित ब्यान्ड दिल्ली आउँदा सायद म १८ वर्षको थिएँ । म उनीहरुको सङ्गीतको पारखी थिएँ र उनीहरुलाई जसरी पनि भेटेर कुरा गर्छु भनेर संकल्प गर्ने गर्थेँ । तर यो काम आकाशको तारा तोड्नु बराबर थियो । यो भनाई आकर्षक लुक र उत्कृष्ट व्यक्तित्वका लागि चर्चित अभिनेता कबिर बेदीको हो । 

उनी भन्छन्, ‘असाध्यै मिहिनेत गरेपछि निकै मुश्किलले मैले उनीहरुलाई भेट्न सकेँ । मैले उनीहरुको अन्तरवार्ता रेकर्ड गर्ने मौका पनि पाएँ ।’​ कबीर बेदीले उक्त अन्तरवार्ता आकाशवाणीमा सुनाए । त्यतिबेला उनी आकाशवाणीका लागि फ्रिलान्सिङ गर्दथे । कबिर बेदीका अनुसार त्यतिबेला उनको परिवारसँग पैसा नहुने भएकोले उनले पढाई र पैसाका लागि काम गर्नुपर्दथ्यो । 

उनी भन्छन्, ‘आकाशवाणीका कर्मचारीले बिटल्सले रेकर्ड गरेको अन्तरवार्तालाई टेपबाटै मेटिदिए किनभने उनीहरुको टेपको पैसा बचाउन चाहन्थे । उनीहरुले के गरिरहेका थिएन, सायद यसबारे उनीहरुलाई केही थाहा थिएन ।’ उनी भन्छन्, ‘यदि यो घटना ममाथि नभएको भए मलाई थाहा हुँदैनथ्यो कि त्यतिबेला मैले मेरो जीवनसँग के गरिरहेको थिएँ ।’

कबिर बेदी भन्छन्, ‘निकै सोचेपछि म मुम्बई गएँ । यहाँ आएर मैले पाँच वर्षसम्म विज्ञापनमा काम गरेँ । साथै थिएटर गरिरहेँ र त्यसपछि हिरो बनेँ ।’

आफ्नो अटोबायोग्राफी ‘स्टोरिज आई मस्ट टेल ः दि इमोशनल लाइफ अफ एन एक्टर’ का केही घटनाबारे कुराकानी गर्दै उनी भन्छन्, ‘यो लेख्दै गर्दा मेरा पुरानो घाउ पुनः चर्किन थालेको थियो । ’

डिप्रेशनसँग छोराको संघर्ष र आत्महत्याः

बीबीसीसँगको विशेष कुराकानीमा कबिर बेदी भन्छन्, ‘मलाई थाहा थियो कि मेरो छोराले आत्महत्या गर्न लागेको छ, तर लाख कोसिस गर्दा पनि उसलाई बचाउन सकिएन । उसको पीडाले आज पनि मलाई असाध्यै सताउँछ । मैले त्यतिबेला महसुस गरेँ कि डिप्रेशनसँग जुधिरहेका व्यक्तिको पूरा परिवार पनि ती दिमागी समस्यासँग गुज्रिरहेका हुन्छन् । उक्त पीडाबाट निस्कन सजिलो हुँदैन ।’

सिद्धार्थ, कबिर बेदीकी पहिलो श्रीमती प्रोतिमाका छोरा थिए र उनका दुई सन्तानमध्ये जेठो । २५ वर्षको उमेरमा नै उनी सिजोफ्रेनियाका शिकार भए र त्यसपछि उनले आत्महत्या गरे ।

ओडिसी डान्सरसमेत रहेकी प्रोतिमा गौरी बेदीसँग ‘ओपन म्यारिज’ ले पनि कबिर बेदीलाई पीडा सहन बाध्य पारेको थियो । 

उनी भन्छन्, ‘जब तपाईं विवाह गर्नुहुन्छ तब सोच्नुहुन्छ कि कोही तपाईंको साथमा हुनेछ । परिवार हुनेछ, बालबच्चा पनि हुनेछ । ती सबै भए तर स्थिति यस्तो बन्यो कि हामी ओपन म्यारिजमा रहनुपर्यो । त्यसले हामी सबैमा के बित्यो, यो किताबमा यसबारे पनि जानकारी दिइएको छ ।’

कबिर भन्छन्, ‘यदि आज कसैले ओपन म्यारिजबारे सोचिरहेका छन् भने उनीहरुले यसका कारण कस्ता समस्या भोग्नुपर्छ भनेर सोच्नुपर्छ ।’

उनी थप्छन्, ‘ हाम्रो कुरा त त्यतिबेलाको थियो जब ओशो ‘फ्री लभ’ को कुरा गर्दथे । हिप्पीको जमाना थियो, जसको नारा नै थियो – मेक लभ नो वार ।’

तर पुराना प्रथाबाट निस्किएर ओपन म्यारिज गर्ने उनको प्रयास असफल रह्यो र उनीहरुको सम्बन्धविच्छेद भयो । 

चार विवाहः

बलिउडसहित हलिउडमा पनि काम गर्ने कबिर बेदी भारतका केही सिमित कलाकारमध्ये एक थिए । तर उनी करियरभन्दा आफ्नो विवाहका लागि चर्चामा रहे । चौथो विवाह त उनले ७० वर्षको उमेरमा आफूभन्दा २९ वर्ष कान्छी परवीन दोसांझसँग गरे । 

प्रोतिमापछि उनले बेलायती मूलकी फेसन डिजाइनर सुजेन हम्फ्रीजको हात थामे । त्यसपछि टिभी र रेडियो प्रस्तोता निकी रिड्सलाई आफ्नो जीवनसाथी बनाए । अन्तिममा परवीन दोसांझ उनको जीवनमा आइन् । 

करिब बेदी साहिर लुधियानवीबारे कुरा गर्दै भन्छन्, ‘साहिर साबले भनेका थिए कि जुन अफसोसलाई उद्देश्यसम्म पुर्याउन मुश्किल हुन्छ भने त्यसलाई एउटा सुन्दर मोड दिएर छोडिदिनु नै राम्रो हो । कुनै सम्बन्ध जिन्दगीभर चल्न सक्दैन ।’

परवीन बाबीलाई याद गर्दै भए भावुकः

त्यसपछि परवीन बाबीको कुरा गर्दै उनी पुनः भावुक भए । 

कबिर भन्छन्, ‘परवीन बारे लेख्न मेरा लागि निकै मुश्किल थियो । परवीन निकै होसियार थिइन्, कतै न कतै धार्मिक पनि । कसैको मद्दत नलिइकनै उनी मुम्बईमा निकै ठूलो स्टार बनेकी थिइन् । मैले उनीसँगको हरेक पलबारे लेखेको छु । कसरी प्रेम बस्यो, कसरी नजिकियौं र कसरी अलग्गियौं ।’

यो किताबमा उनी लेख्छन्, ‘उनको शव चार दिनपछि जुहूको उनको फ्ल्याटमा भेटिएको थियो । उनको एउटा खुट्टा ग्रैंगिनले कुहिएको थियो । उनको बेड नजिकै ह्विलचेयर थियो । यो एक स्टारको एक्लो र त्रासद अन्त्य थियो । जो कुनैबेला करोडौं मनकी राजकुमारी थिइन् । उनलाई चिन्ने र कुनै बेला प्रेम गर्ने तीन व्यक्ति महेश भट्ट, डेनी र म, उनको अन्तिम दर्शन गर्न जुहूको मसानघाट पुगेका थियौं । हामीले उनको शवलाई उनका आफन्तसँग मिलेर गाडेका थियौं ।’

बीबीसीhttps://www.bbc.com/hindi/entertainment-58679359

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप