दसैँका अग्रिम टिकट बुकिङ खुल्ला, टिकट लिन लाइन (फोटोफिचर)
![दसैँका अग्रिम टिकट बुकिङ खुल्ला, टिकट लिन लाइन (फोटोफिचर)](https://rpcdn.ratopati.com/media/albums/dashain_ticket_14_7smIDQ9vML.jpg)
दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन । कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौँ छोड्नेको सङ्ख्या कम हुने आँकलन गरिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो ।
गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला नगरिएको भए पनि यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरू थप्दै जाने बताए । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गरिने बताए ।
कोरोना सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह
-
‘कमेडी दरबार’ छोड्दै नम्रता