बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ : पूर्व प्रधानसेनापति कटवाल

सोमबार, ११ असोज २०७८, ०७ : ०४
सोमबार, ११ असोज २०७८

नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पालेमा मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् । शनिबार टेक्ससको ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा कटवालले बाहिरको प्रतिक्रिया बुझ्न आफूबाट गरेका सही एवं गलत कार्यहरूका बारेमा यथार्थ जानकारी लिनका लागि आलोचकहरू तयार पारेर उनीहरूको कुरा आफूले सुनेका अनुभव प्रस्तुत गरेका हुन् ।

‘पदमा हुँदा चाकडी गर्नका लागि आफ्ना बारेमा राम्रा कुरा मात्र सुनाउने जमातहरू हुन्छन् । तर तिनका कुराभन्दा आलोचकका कुरा सुनेमा आफूबाट कामको दौरानमा भए गरेका गल्ती कमजोरी सुधार्न सहयोग पुग्छ’, कटवालले भने । प्रधान सेनापति पदमा बहाल हुँदा बाहिरका आलोचनाहरू, प्रतिक्रियाहरू बुझ्नका लागि एक जना वरिष्ठ सैनिक अधिकारीलाई जिम्मा नै दिएको प्रसङ्गसमेत उनले जोडे । राजा अकबरदेखि लिएर महेन्द्रसम्मले आलोचकहरू तयार पारेर सफल भएको सन्दर्भ प्रस्तुत गर्दै खराब नियत भएको आलोचक होइन, असल नियत भएको र नडराइ यथार्थ कुरा भन्न सक्ने आलोचकहरू तयार पार्नुपर्ने बताए ।

पृथ्वीनारायण शाहका कारण अहिलेको नेपाल देश भन्न पाइएको उल्लेख गर्दै कटवालले इतिहास मेट्न नहुने धारणा राखे । संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटेका छैनन् । भारतदेखि बेलायत, अमेरिका कुनै पनि देशले आफ्नो इतिहास नमेटेको र नेपालले पनि पृथ्वीनारायण शाहको इतिहास मेट्न नहुने उल्लेख गरे ।

आफ्नो सक्रियतालाई अनुमान गरेर विभिन्न व्यक्तिहरूले राजनीतिक दल खोल्न लागेको अनुमान गरे पनि आफू त्यसतर्फ नलागेको उनले बताए । ‘मैले बोल्न पाएकै छु, हिँडडुल गर्न पाएकै छु । किन दल खोल्नुपर्यो ?’, उनले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप