शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फाती फर्किँदा बार्सा विजयी

सोमबार, ११ असोज २०७८, ०६ : २७
सोमबार, ११ असोज २०७८

आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो ।

मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको थियो ।

जीतसँगै बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा बार्सा ५ अङ्कले पछि रहेको छ । ६ खेलबाट बार्सिलोनाको १२ अङ्क रहेको छ । यद्यपि, बार्साले रियलभन्दा एक खेल कम खेलेको छ । रियल शनिबार भिल्लेरियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

ला लिगामा ५ खेलमध्ये दुई मात्र जीत हासिल गरेपछि म्यानेजर कुमन ठुलो दबाबमा थिए । गत बिहीबार क्याडिजसँग गोलरहित बराबरी खेल्ने क्रममा रातो कार्ड पाएपछि आइतबारको खेलमा उनी अनुपस्थित रहेका थिए । उनको अनुपस्थितिमा पनि टोलीले सबै प्रतियोगितामा तीन खेलको जीतविहीन यात्रामा पूर्ण विराम लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप