बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : दोलखाका अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

आइतबार, १० असोज २०७८, २२ : ११
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोलखामा पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकासहित ९ पालिकामध्ये सात वटामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।

एउटा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । यस्तै अर्को एक पालिकामा भने मतदानबाट नेतृत्व चयन गरिएको छ । छलफलबाटै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा उम्मेदवारहरूबीच विवाद बढेपछि जिल्लाको कालिन्चोक गाउँपालिकामा अधिवेशन स्थगित गर्नुपरेको उनले बताए ।

आन्तरिक छलफलबाट सहमति गरी केही दिनमै सो पालिकामा अधिवेशन आयोजना गरी नेतृत्व चयन गर्ने उनको भनाइ छ । दोलखाको तामाकोशी गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्व चयन गरिएको छ । २ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

दोलखाको तामाकोशी गाउँपालिकाको सभापतिमा कृष्ण फुयाल निर्वाचित भएका छन् । फुयालले निकटतम प्रतिस्पर्धी गोपाल तिमल्सिनालाई २० मत अन्तरले पराजित गरेका हुन् ।​ फुयालले ७६ मत प्राप्त गर्दा तिमल्सिनाले ५६ मत प्राप्त गरे । फुयाल काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

दोलखाको मैलुङ गाउँपालिकाको काँग्रेसको गाउँपालिकाको काँग्रेस सभापतिमा नारायण बहादुर मगर सर्वसम्मत चयन भए । बैतेश्वर गाउँपालिकाको सभापतिमा शमशेर घिसिङ, सैलुङ गाउँपालिका सभापतिमा कृष्णध्वज योञ्जन,  गौरीशंकर गाउँपालिकाको सभापतिमा श्यामसुन्दर तामाङ सर्वसम्मत चयन भएका छन् ।

यस्तै, विगु गाउँपालिकाको सभापतिमा हेमराज तामाङ, भीमेश्वर नगरपालिकामा शंकर कार्की र जिरी नगरपालिकाको सभापतिमा सोनाम शेर्पा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप