शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यौन व्यवसायको ‘हब’ बन्दै चन्द्रनिगाहपुर

आइतबार, १० असोज २०७८, ११ : ००
आइतबार, १० असोज २०७८

 पूर्व–पश्चिम राजमार्गमै रहेको चन्द्रनिगाहपुरमा पछिल्लो समय यौन व्यवसाय बढ्दै गएको छ । स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा  चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन ।

ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्लाबाट समेत पुरुषहरु चन्द्रनिगाहपुरका होटलमा यौनकर्मी महिलाको ग्राहक बन्ने गरेको स्थानीय पत्रकार कृष्ण तिवारी बताउँछन् ।

महिला सुरक्षा दबाब समूहकी अध्यक्ष तथा महिला नेतृ देवकी नेपालले चन्द्रनिगाहपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताइन् । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटकपटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।

मेची महाकाली बुहारी समाजको प्रदेश २ की अध्यक्ष पूजा पाठक तिमल्सिनाले यस्तो विकृतिले पूरै समाज बदनाम हुने खतरा बढेको बताइन् । चन्द्रनिगाहपुर निवासी उनले यस्तो विकृति समयमै नियन्त्रण नभए यो ठाउँलाई हेर्ने दृष्टिकोण नै गलत हुने खतरा औंल्याइन् ।

महिला सशक्तिकरण चन्द्रनिगाहपुरकी अध्यक्ष गिता भारतीले महिलालाई देह व्यापारमा धकेलेर केही व्यापारीले पैसा कमाए पनि यसबाट पूरै समाज बदनाम हुने भएकाले त्यस्तो गतिविधि तत्काल नियन्त्रण गर्न आवाज उठाउनुपर्ने बताइन् ।

चन्द्रनिगाहपुरमा भइरहेको यौनजन्य क्रियाकलाप रोक्न स्थानीय प्रशासन तथा नियमनकारी निकायले तत्काल पहल नगरे हजारौं महिला सडक संघर्षमा उत्रने उनको चेतावनी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले चन्द्रनिगाहपुरमा देहव्यापार भइरहेकोबारे आफूलाई जानकारी नभएको बताए । उनले त्यस्तो गतिविधि जारी रहेको हो भने आफूले स्थानीय प्रहरीलाई तत्काल नियन्त्रणका लागि निर्देशन दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप