बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कश्यपको कथा : धूर्त जोगीको दुर्दशा

आइतबार, १० असोज २०७८, ०७ : ३७
आइतबार, १० असोज २०७८


धेरै पहिलेको कुरा हो । एउटा गाउँमा धूर्त जोगी बस्थे । बाहिरबाट संन्यासी देखिन्थे भित्रभित्रै दुराचारी थिए । जटाको मुकुट बाँधी पहेँलो धोती लगाउँथे । पीताम्बर ओड्थे, निधारमा खरानी खसेर हिँड्थे तर भित्रभित्रै भने त्यसैलाई भजाएर ठगी धन्दा चलाइरहेका हुन्थे । गाउँलेहरू सिधा थिए लप्पनछप्पन जान्दैनथे । जोगीको कुरामा विश्वास गरी आश्रम बनाइदिए, खाने बस्ने व्यवस्था मिलाइदिए । बिस्तारै चेलाचपेटा थपिँदै गए । उनीहरूकै सहयोग लिएर जोगीले आश्रममा सुन्दर बगैँचा बनाए ।

समय बित्दै गयो । एक दिन साँझ छिमेकीको कोरली (ब्याउनेबेला नभएकी बाच्छी) फुस्केर बगैँचा चर्न आइपुगेकी थिइन्, जो जोगीले हानेको झटारोका कारण ठाउँको ठाउँ ठहरै भइन् । भोलिपल्ट खोज्दै आएका छिमेकीले बाच्छी मरेको देखेपछि गाउँलेहरूलाई बोलाए । बाच्छीको अवस्था देखेर गाउँलेहरूले आफूलाई रोक्न सकेनन् र जोगीलाई बोलाएर सोधे–

‘बन्नोस् बाबाजी ! गाईको बाच्छी मार्ने अपराधी को हो ? तपाईँको बगैँचामा मरेको छ भने मार्ने कि यहीँका मानिस हुनुपर्छ नभए पनि कि देखेको हुनुपर्छ । सत्यसत्य भन्नोस् अन्यथा जे पनि हुनसक्छ । हो, हामी सिधा छौँ तर यसको अर्थ यो होइन कि गाईको बाच्छी मारेको अपराध पनि सहेर बस्नेछौँ ।’

जोगीले जिभ्रो चपाउँदै भने–

‘ठीक भन्नुभयो बाच्छी मार्ने अपराधी देखेको छु तर मेरो कुरामा विश्वास गर्नुहुन्छ भने मात्र भन्न सक्छु । होइन भने भन्नुको के अर्थ रह्यो र । जसले मारेको भए पनि आफ्नो आश्रममा मरेकाले जिम्मेवारी मैले नै लिनुपर्छ ।’

‘हाम्रो आशय त्यो होइन बाबाजी !’ गाउँलेहरूले एकै स्वरमा भने–

‘हामीले वास्तविकता बुझ्न खोजेका हौँ । तपाईँले नै जिम्मेवारी लिनुपर्छ भन्न खोजेका होइनौँ । सत्य कुरा बताउन सक्नुहुन्छ । अहिलेसम्म कुन कुरा विश्वास गरेका छैनौ र अहिले नगर्ने ।’

गाउँलेको आँखामा छारो हाल्न सकिएकोमा मख्ख पर्दै जोगीले भने–

‘त्यसो हो भने सुन्नुहोस्, बाच्छी मारेको मानिसले होइन इन्द्र हो ।’ 

जोगीको कुरा पत्याउन लायक नभए पनि विश्वास गर्नुको विकल्प थिएन । त्यसैले गाउँलेहरूले सोचे–

‘यी जोगीले अहिलेसम्म झुट बोलेको थाहा छैन । हुन सक्छ इन्द्रले नै मारेका पो हुन् कि । होइन मान्छेले नै मारेका भए पनि मार्ने काम हातले गरेकाले त्यसो भनेका होलान् । किनभने वेदान्तीहरू हातलाई पनि इन्द्र नै भन्छन् । यस्ता वेदान्तीसँग के द्वादस गर्ने ।’

यस्तैयस्तै सोच्दै उनीहरू घरतिर लागे तर ढोँग किन धेरै दिन टिप्थ्यो र । लगत्तैजसो कुनै दिन उनकै मुखबाट झुटको पर्दाफास भयो । प्रसङ्गवश उनले आफ्नो बगैँचाको आफैँ प्रशंसा गर्दै भने–

‘आफूले बनाएको बगैँचा जहाँ पनि यस्तै सुन्छर हुन्छ ।’

यसबाट गाउँलेहरूलाई जोगीको धुत्याईँ थाहा बेर लागेन । उनीहरूले एऽऽ गाईँ चाहिँ इन्द्रले मारे बगैँचा चाहिँ आफूले बनाएँ ? भन्दै केराको सुप्लो लगाएर लखेटे ।

त्यसपछि जोगी केही चेलाका साथमा त्यताबाट भागी निकै दिनको हिँडाइपछि अर्कै गाउँमा पुगेर बस्न लागे । उनी चौतारोमा बसेर तपस्या गरे जस्तो गर्थे । उनको प्रशंसा गर्ने कामको ठेक्का चेलाहरूले लिएका थिए ।

बिस्तारै गाउँभरि हल्ला फैलियो । मानिसहरू गाउँमा त्रिकालदर्शी बाबा तपस्या गर्दैछन् रे भन्ने सुनेर दर्शन गर्न आउन थाले । उनीहरू आउँथे भेटीघाटी तथा फलफूल चडाएर ढोग्थे र कृतकृत्य मानेर फर्कने गर्थे । हुँदाहुँदै आश्रममा मानिसको यति ठूलो भीड लाग्न थाल्यो कि सुरक्षाका लागि प्रहरीहरू नै खटिनुपर्ने भयो । जब दर्शनार्थी अगाडि आउँथे तब जोगी कुनै कुरा गुनगुनाए जस्तो गर्थे तर बुझ्न भने कसैले पनि सक्दैनथे । चेलाहरूलाई सोद्धा भन्ने गर्थे–

‘बाबाजी समाधिका बेला अलाैिकक भाषा बोल्नुहुन्छ । उहाँ के भनिरहेको हुनुहुन्छ हामी थाहा त पाउँछौँ तर भन्न असमर्थ छौँ किनकि तपार्र्ईँहरू विश्वास गर्न गर्नुहुन्न । यति बुझ्नोस् कुरा तपाईँहरूकै हितमा गरिरहनुभएको छ । जान्न चाहने हो भने आफैँले बुझ्ने प्रयास गर्नुपर्छ ।’

गाउँलेहरूमा उनीप्रति विश्वास झन् गाढा भयो र प्रत्येक दिन दर्शनार्थीहरूको सङ्ख्या बढ्न थाल्यो । बिस्तारै कुरा फैलिँदै पल्लो गाउँका चतुर्भुज शर्मा (चतुरे) को कानसम्म पनि पुग्यो । त्यसैले उनी पनि एक दिन वास्तविकता बुझ्न आए । जोगी यतिबेला पनि पूर्ववत गुनगुनाइरहेका थिए ।

चतुरेले भनाइको अर्थ बुझ्ने निकै प्रयास गरे तर मरिकाटे अर्थ निस्केन । कारण जोगीले केही भनेकै थिएनन् । कसैले पनि नबुझ्ने गरी जेपायो त्यही फतफताइरहेका थिए । वास्तविकता पत्ता लागेपछि चतुरेले जोगीको टाउकोमा एकलोटा पानी खन्याउँदै सबैले सुन्नेगरी भने–

‘बल्ल बाबाजीको भनाइको अर्थ पत्ता लगाउन सफल भएँ ।’

गाउँलेहरूले पनि अर्थ बुझ्न चाहेकाले उनले सम्झाउँदै भने–

‘बाबाजी यही भनिरहेका छन् कि यस गाउँका पितृहरू अगति परेर घोर नरकमा पुगेका छन् । उनीहरूको उद्धार गर्न चाहनेले मेरो टाउको एक लोटा पानी खन्याउनुपर्छ । सबैले आफ्ना पितृहरूको अवस्था र उद्धारको तरिका थाहा पाउनेछन् ।’

उपाय पत्ता लगाउन बेर हो काम तमामीमा किन बेर लाग्यो र । गाउँलेहरू तछाडमछाड गर्दै जोगीको टाउकोमा पानी खन्याउन थाले । जाडो महिनामा दिनभर चिसो पानीमा भिजेर बस्न जोगीलाई गाह्रो भयो र त्यसै रात झोलीतुम्बा बोकेर कुलेलम ठोके । 

जोगी भागेपछि चतुरेले गाउँलेलाई सबै कुरा बताए । गाउँलेहरू चतुरेको कारण धूर्त साधुको ठगीधन्दाबाट बच्न सकिएकोमा उनको प्रशंसा गर्दै घरतिर लागे । जोगीले पनि त्यस दिनदेखि कहिल्यै यस्तो कार्य गर्ने हिम्मत गरेनन् ।

केहीलाई ढाँटे पनि सँधै ढाँट्न सकिन्न, निकै चलाख रहेछ कसैले केहीलाई सँधै ढाँटेछ भने पनि सबैलाई सँधै ढाँट्न भने कसैले पनि सक्दैन भन्ने विद्वानहरूको भनाइ किन खेर जान्थ्यो र ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप