बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादीलाई प्रशिक्षण दिँदै पूर्व मुख्यसचिव पौड्याल

शनिबार, ०९ असोज २०७८, १८ : २५
शनिबार, ०९ असोज २०७८

गत केही दिन यता नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्याल गृह जिल्ला गुल्मीको आफ्नै जन्मथलो रुरु क्षेत्र गाउँपालिकामा नेकपा माओवादी केन्द्रका  भेला–सम्मेलनहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै सो पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइरहेका छन् । शनिवार पनि उनी त्यस गाउँपालिका–४ बलेटक्सारमा भएको माओवादी केन्द्रको वडा सम्मेलनमा प्रमुख अतिथि भएर प्रशिक्षण दिएका हुन् । 

उनले अब माओवादी केन्द्रका कार्यकर्ताहरू सबै भन्दा बढी भ्रष्टाचारविरुद्ध लड्नु पर्ने सुझाव दिए ।  विगतमा नेकपा एमालेको गढ मानिने बलेटक्सारमा केही दिन यता एमालेका कार्यकर्ताहरूले पूर्व मुख्यसचिव पौड्याल रुरु क्षेत्र गाउँपालिकाका प्रत्येक वडामा हुने माओवादी केन्द्रको भेला–सम्मेलनमा सहभागी हुँदै आएपछि  सामाजिक सञ्जालमा निकै चर्चा रहेको छ ।

पूर्व मुख्य सचिव पौड्यालले भने–‘अरू कसैले अन्याय ग–यो भने त्यसलाई नसहनुस् । सङ्गठित रूपले प्रतिवाद गर्नुस् । अब सबभन्दा बढी लड्नु पर्ने भ्रष्टाचारसँग हो । त्यो संस्थागत हुँदै माथि सम्म जान्छ ।’ उनले  अहिलेको परिवर्तन ल्याउने माओवादी नै भएको ठोकुवा गरे । माओवादी इतरका राजनैतिक दलहरूलाई लक्षित गर्दै उनले भने–‘ मुलुक रूपान्तरणको एजेन्डा बोक्ने र अहिलेको व्यवस्था ल्याउने माओवादी तर उही क्या ! काम गर्ने कालु मकै खाने भालु भने जस्तै भएको छ । ’

उनले माओवादीले जनस्तरसम्म आफूहरूले ल्याएको परिवर्तन र गरेको जनमुखी काम बुझाउन नसकेर त्यसको फाइदा अरूले लुटेको धारणा राखेका थिए । उनले माओवादी र एमाले पार्टी उस्तै उस्तै हुन जता गए पनि एउटै हो भन्ने नसोच्न कार्यकर्ताहरूलाई सुझाउँदै भने–‘ एमाले र माओवादी एउटै होइन । फरक छ माओवादीले नै अहिले दलित , लगायतका पछाडि परेका वर्ग समुदायलाई प्रत्येक तहमा प्रतिनिधित्व गराएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप