बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस पोखरा महानगरको चुनाव जारी ६ आकाङ्क्षीमा कसले मार्ला बाजी ?

शनिबार, ०९ असोज २०७८, १७ : ०७
शनिबार, ०९ असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज पालिकास्तरीय कार्यसमिति कार्यसमिति चयनका लागि निर्वाचन चलिरहेको छ । गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाहरूमा आजै नेतृत्व चयन हुने छ । प्रदेश अन्तरगतको मनाङमा यस अघि नै निर्विरोध निर्वाचन भएकाले अनुमोदन हुने छ भने अन्य जिल्लाहरूमा निर्विरोध हुन नसकेको ठाउँहरूमा नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ । 

कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकामा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारीका लागि अहिले निर्वाचन चलिरहेको छ । पोखरा महानगर समितिको नेतृत्व चयनका लागि पोखराको प्रदर्शनी केन्द्रमा मतदान भइरहेको छ । 

पोखरा महानगर समितिको सभापतिको लागि ६ जना मैदानमा रहेका छन् । सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र ज्योति हमालले उम्मेदवारी दिएका छन् । त्यसै गरी २ जना उपसभापतिका लागि ६ जना र २ जना सचिवका लागि ३ जनाको उम्मेदवारी परेपछि निर्वाचन भइरहेको छ । त्यस्तै २ जना सहसचिवको लागि ६ जनाले उम्मेदवारी परेपछि निर्वाचन भइरहेको छ ।  

नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल ,शिव केसी र राजेन्द्र बरालले उम्मेदवारी दिएका छन् । सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीबीच प्रतिस्पर्धा चलिरहेको छ । सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ, लक्ष्मी बास्तोला,सञ्जय आले र संघर्ष कोइराला उमेदवार बनेका छन्  । काँग्रेसमा कोषाध्यक्ष मनोनीत हुने व्यवस्था छ ।

यता अन्नपूर्ण गाउँपालिकाको सभापतिमा मनपति भण्डारी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ, सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

रुपामा पनि सर्वसम्मत भएको छ । सभापतिमा ३ जनाले उम्मेदवारी दिए पनि विमलबाबु न्यौपानेलाई सभापति बनाएर सहमतिमा मनोनयन फिर्ता लिइएको छ । पोखरा महानगरमा करिब १ हजार ३ सय ४० जना मतदाता रहेका छन् । पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेको छ । 

कास्कीको माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन्। पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूले मतदान गर्ने छन् ।

यता,चुनावी मैदामा उत्रिएका सभापतिका सबै उम्मेदवारहरूले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् ।

वडाजस्तै पालिकामा पनि महिलाको नेतृत्व करिब शून्य देखिएको छ । काँग्रेसको निर्वाचनमा महिलाले आकाङ्क्षा देखाएका छैनन् । रुपामा गीमाया गुरुङ आकाङ्क्षी भए पनि अन्तिममा ब्याक भएकी छन् । पोखरा महानगरमा भने मा एक जना महिला उम्मेदवार छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप