बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न माग

शनिबार, ०९ असोज २०७८, १६ : १६
शनिबार, ०९ असोज २०७८

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो । 

महासंघले हेमोफिलिया भएका व्यक्तिहरू अपाङ्गताको ऐनभित्र परेको र अपाङ्गता भएकाहरूको सूचिको दसौँ नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरू आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रस्ट विवरण दिन अनुरोध गरेको छ । त्यस्तै यसबारेमा गणकहरू पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । महासंघका महासचिव दीपक न्यौपानेले वास्तविक तथ्याङ्क समेट्न तथा गणक र सुपरिवेक्षकहरूलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे ।

हेमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुन गई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनी सरकारले परिभाषा गरेको छ । हेमोफिलिया भएको व्यक्तिमा कुनै पनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने हुने, रक्तश्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरूले बताउने गरेका छन् । विश्व हेमोफिलिया महासंघको तथ्याङ्क अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हेमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हेमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरेको र हेमोफिलिया सोसाइटी नेपाल मार्फत् हालसम्म ७ सय ५० जना हेमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप