शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर काँग्रेसको गाउँ नगर अधिवेशन सुरु, अधिकांशमा निर्वाचन हुँदै

शनिबार, ०९ असोज २०७८, ११ : १०
शनिबार, ०९ असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मकवानपुरको १० वटा स्थानीय तहहरुमा गाउँ तथा नगर अधिवेशन सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाहरुमा अधिवेशन सुरु भएको हो । जिल्लाका सबै स्थानीय तहहरुमा शनिबार बिहानैदेखि अधिवेशन सुरु भएको छ ।

गाउँ तथा नगर अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति नहुने नगर÷पालिकामा प्रजातान्त्रिक प्रक्रिया अवलम्वन गरिने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । आज हुने गाउँ नगर अधिवेशनले सबै स्थानीय तहहरुमा नयाँ नेतृत्व प्रदान गर्नेछ । जिल्लाका १० स्थानीय तहहरुमध्ये प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको अधिवेशनलाई महत्वका साथ हेरिएको छ । 

हेटौंडा उपमहानगरपालिकामा पार्टीको नेतृत्वका लागि उत्सव इटेनी र महेन्द्र राउत प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । दुवै उम्मेदवार आफ्नो एजेण्डासहित चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।  इटेनी पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने राउत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष पदमा २ मतले पराजित भएका इटेनीले उपमहानगरको प्रत्येक वडामा पुगेर जनताको सेवा गर्ने र संगठन विस्तार गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए ।  

यता लामो समय नेपाल विद्यार्थी संघको राजनीति गर्दै काँग्रेसको राजनीतिमा आइपुगेका राउतले नगर सभापतिमा उम्मेदवारी दिएका छन् ।  पार्टीमै सक्रिय राजनीति गर्ने उद्देश्यका साथ नगर सभापतिमा उम्मेदवारी दिएको राउत बताउँछन् । काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात गरी यसको मुल मर्मलाई वडा तहसम्म पुर्याउने, पार्टीभित्र मौलाउँदै गएको वेथिति, विसंगति र विकृति हटाउने र सम्पूर्ण क्रियाशील सदस्यहरुको जोश, जाँगर र सक्रियतालाई समुचित परिचालन गर्दै पार्टीको बृहतर हितमा लानाउने योजनासहित चुनावी मैदानमा आएको उनको भनाई छ । 

त्यस्तै थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी र भरत गोपालीले दावी प्रस्तुत गरेका छन् । विगत देखि नै सक्रिय राजनीति गरिरहेका दुवैजना आफ्ना एजेन्डासहित निर्वाचनमा होमिएका हुन् । मनहरी गाउँपालिकामा शंकर न्यौपाने र प्रकाश बर्तौलाले प्यानल नै घोषणा गरेका छन् । मकवानपुरगढी गाउँपालिकाको नेतृत्वका लागि भने ३ जनाले दावी गरेका छन् । मकवानपुरगढीको नेतृत्वको लागि गोपी अधिकारी, अर्जुनप्रसाद दाहाल र राजवीर मोक्तानले सभापतिमा दावी गरेका छन् । 

बकैया गाउँपालिकामा ४ जनाको चर्चा चलेको छ । गाउँपालिका सभापतिका लागि भूमिनन्द गौतम, सोम तिमल्सिना, दिलबहादुर बम्जन र निशान बजगाइँले उम्मेदवारी दावी गर्दै प्रचारप्रसार गर्दै आएका छन् । बागमती गाउँपालिकामा फणिन्द्र तिमल्सिना, चोकबहादुर ठाडामगर र डिल्लीप्रसाद घोरासैनीको दावी रहेको छ । 

त्यस्तै राक्सिराङ गाउँपालिकामा देव थिङ र वीरेन्द्र जिम्बा चुनावी अभियानमा रहेका छन् । कैलाश गाउँपालिकामा राजेन्द्र घिसिङ र गुणराज स्याङ्तानले पार्टी सभापति दावी रहेको जनाइएको छ ।  भीमफेदी गाउँपालिका सभापतिमा नारायण थापा र संजिव श्रेष्ठले दावी गरेका छन् । इन्द्रसरोवर गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन हुने देखिएको छ । गाउँपालिका सभापतिमा विश्व लामालाई अघि बनाउने नेताहरुबीच सहमति भएको जनाइएको छ । 

यस्तो छ कार्यक्रम तालिका
अधिवेशनका लागि समय र स्थान तय गरिनका लागि सबै स्थानीय तहहरुमा निर्वाचन अधिकृत खटाइएको छ भने आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन प्रहरी परिचालन गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।  उनले निर्वाचन सभ्य, भव्य र निश्पक्षरुपमा सम्पन्न गर्न निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकिएको जानकारी दिए ।

१० वटै स्थानीय तहको मतदाताको अन्तिम नामावली बिहान ७ बजे प्रकाशन गर्ने र त्यसलगत्तै उम्मेदवारको दस्तखत दिने समय तोकिएको छ ।  निर्वाचन अधिकृतले त्यहाँको अवस्था हेरेर उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारको नामावलीउपर दावी विरोधका लागि समय निर्धारण गर्ने कार्य तालिका रहेको प्रवक्ता कोइरालाले बताए । 

त्यसपछि निर्वाचन अधिकृतले दावी विरोध उपर निर्णय गर्ने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेलगत्तै मतदान प्रक्रिया सञ्चालन हुने उनले बताए । मतदान प्रक्रिया सकिएलगत्तै मतगणना र मतपरिणाम घोषणा हुने उनले बताए । काँग्रेसले मतदान अधिकृत र स्थानसमेत तय गरेको छ । क्रमशः बागमती गाउँपालिकाको अधिवेशन बागमती ४ पाल्पालीमा हुँदैछ । 

बागमती गाउँपालिकाका लागि मतदान अधिकृत राजेशप्रसाद घिमिरे रहेका छन् । त्यस्तै बकैया गाउँपालिकाको हात्तिसुँडे गुम्बा भवनमा अधिवेशन हुनेछ भने मतदान अधिकृत राजबाबु पहाडी रहेका छन् । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरी बजारमा अधिवेशन हुनेछ भने मतदान अधिकृत टिकाप्रसाद दाहाल रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको क्लब हेटौंडामा अधिवेशन हुँदैछ भने रामकुमार अधिकारी मतदान अधिकृत रहेका छन् ।  मनहरी गाउँपालिकाको अग्नि होत्राश्रममा अधिवेशन हुँदैछ भने रामसागर गुरागाईँ मतदान अधिकृत रहेका छन् ।  राक्सिराङ गाउँपालिकाको चैनपुरमा अधिवेशन हुँदैछ । त्यहाँ केशवप्रसाद देवकोटा मतदान अधिकृत रहेका छन् । 

उता कैलाश गाउँपालिकाको नामटारमा अधिवेशन तय भएको छ भने मतदान अधिकृत देवनायक शर्मा तोकिएका छन् । थाहा नगरपालिकाको वडा नं ३ मा रहेको जेसीज भवनमा अधिवेशन हुँदैछ भने मतदान अधिकृत गणेशप्रसाद हुँमागाईँ तोकिएका छन् । 

त्यस्तै इन्दसरोवर गाउँपालिकाको वडा नं २ स्थित कलंकी भन्ने ठाउँमा अधिवेशन हुँदैछ भने मतदान अधिकृत मदन लामिछाने तोकिएका छन् । भीमफेदी गाउँपालिकाको बजार क्षेत्रमा हुने निर्वाचनमा सुमनकुमार मानन्धर मतदान अधिकृत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप