मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जीर्ण बन्दै रत्न राजमार्ग

टालटुलमै लाखौँ रकम स्वाहा, खाल्टाखुल्टी जस्ताको तस्तै
शनिबार, ०९ असोज २०७८, ०९ : ०६
शनिबार, ०९ असोज २०७८

सुर्खेत । नेपालगञ्ज–कोहलपुर–वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग जीर्ण बन्दै गएको छ । समयमै राजमार्गको मर्मत सम्भार हु्न नसक्दा जताततै खाल्टाखुल्टी बनेको छ ।

विशेषगरी शहर बजार खण्डमा सडकको अबस्था कुरुप बन्दै गएको छ भने ठाउँ–ठाउँमा खाल्टाखुल्टीले सवारी साधन दुर्घटनाको खतरासमेत बढाएको छ ।

कालोपत्रे गरिएको लामो समयसम्म पनि राजमार्गको मर्मत सम्भार हुन सकिरहेको छैन । जसका कारण राजमार्गमा दिनदिनै सवारी दुर्घटना हुने गरेका छन् भने यात्रुले हैरानी खेप्नु परेको छ ।

यो सडक कर्णाली प्रदेशका लागि ‘लाइफलाइन’ हो । प्रदेशको राजधानी वीरेन्द्रनगरलाई तराई तथा बाँकी नेपालसँग जोड्ने यो राजमार्ग जीर्ण बन्दा दैनिक हजारौं यात्रीले कष्टकर यात्रा गर्नु परेको छ । वीरेन्द्रनगरदेखि कोहलपुरसम्म ११५ किलोमिटर लामो यो सडक अन्तर्गत कोहलपुर चिसापानीदेखि सुब्बाकुना खण्डको ठाउँ–ठाउँमा कालोपत्रे भत्किएको छ ।

सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको सडकखण्ड वीरेन्द्रनगर उपत्यका क्षेत्रभित्र पर्दछ । प्रदेश राजधानीसमेत रहेको यो क्षेत्रमा पर्ने सडकमा जताजतै खाल्डै–खाल्टामात्र छन् ।

प्रदेश राजधानीको मुख्य सडकखण्डकै हालत यस्तो भएपछि प्रदेशका अन्य क्षेत्रमा सडक कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

वीरेन्द्रनगरका बस व्यवसायी भुपेन्द्रबहादुर शाही राजधानीभित्रकै सडकको यो अवस्थाले अन्य क्षेत्रको सडकको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिने बताउँछन् ।

‘अब यहीँ त यस्तो छ, ग्रामीण सडकको अबस्था कस्तो होला ?’ उनले भने, ‘सडकको यो अवस्थाले नै प्रदेशको विकासको अवस्था कस्तो होला भन्ने देखाउँछ ।’

प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिहरुले दैनिक ओहोर–दोहोर गर्ने यो सडकखण्डको मंगलगढी चोक, बसपार्क, दैलेख चोक, खजुरादेखि पीपिरा क्षेत्रका दर्जनौँ ठाउँमा खाल्टैखाल्टा छन् । जसले गर्दा सवारी साधनका टायर र अन्य पार्टपूर्जासमेत धेरै नटिक्ने, सवारी दुर्घटना बढाउने गरेको यातायात व्यवसायीहरुको भनाइ छ ।

केही समय अघिमात्रै सञ्चालनका आएको नयाँ बसपार्कको प्रहरी बिट नजिकै सडकको अवस्था दयनीय छ । सडक मर्मत गर्ने दायत्वि बोकेको सम्बन्धित निकाय भने सडकको दुतावस्थाप्रति रमिते बनेर बसेको छ ।

बसपार्क भनेको सवारी साधनहरुको गन्तव्य स्थल र प्रस्थानबिन्दु हो । यहाँबाट दैनिक सयौँ सवारी साधन बाहिरिन्छन् भने उत्तिकै मात्रामा भित्रिन्छन् पनि ।

वीरेन्द्रनगरमा लामो समयदेखि अटो सञ्चालन गर्दै आएका रेशम विक सडकका खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिम बढ्ने बताउँछन् । उनका अनुसार ठुला सवारी साधन जसोतसो सञ्चालन भए पनि खाल्टाखुल्टीका कारण साना सवारी साधन चलाउन निकै कठिन हुने गर्दछ ।

सडक डिभिजनको लापरबाही

रत्न राजमार्गलाई अहिले सडक डिभिजन कार्यालयले हेर्दै आएको छ । केही दिन अघि सडकको अवस्थाबारे सामाजिक सञ्जाल तथा केही मिडियामार्फत आलोचना हूँदा डिभिजन कार्यालयले खाल्टाखुल्टीमा माटो ल्याएर भर्ने काम ग¥यो । तर अवस्था फेरि उस्तै भएको छ ।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा सडकका खाल्टा पुर्नका लागि माटो हालेर बजेट सक्ने काममात्र भएको बताउँछन् । सडकका खाल्टा  टाल्न हालिएको माटो धुलो उडेर उस्तै हुने र थोरै पानी पर्नासाथ माटो बगाएर फेरि उस्तै हुने उनको भनाइ छ । यसरी खाल्टा पुर्ने नाममा माटो ल्याएर हाल्नु बजेट सक्ने मेलोबाहेक अरु केही नहुने उनले बताए ।

‘माटोले एकातिर बर्खामा हिलाम्ये हुने गरेको छ,’ उनले भने, ‘अर्कोतिर घाम लागेको समयमा धुलोको समस्या । राज्यले सडक मर्मतका लागि बजेट छुट्याएको त होला नि, माटो हालेर बजेट सक्ने ?’

सडक मर्मतका लागि प्रत्येक वर्ष करोडौँ रकम विनियोजन गरे पनि सडकको अबस्था उस्तै रहने गरेको उनको भनाइ छ ।

उक्त राजमार्ग अन्तर्गत सुब्बाकुना देखि बाङ्गेसिलमको बीचमा पर्ने दुईवटा पुल निर्माणको कामसमेत अहिलेसम्म सकिएको छैन ।

के भन्छ सडक डिभिजन ?

सडक डिभिजन कार्यालयले सो राजमार्गका धेरै ठाउँमा पिच भत्किएर खाल्टा परेको भए पनि वर्षाका कारण मर्मत सम्भार गर्न नसकिएको बताउँदै आएको छ ।

राजमार्गको सुर्खेत सीमाभित्र पर्ने हर्रेदेखि सुब्बाकुनासम्मको सडकको पटके मर्मतका लागि अघिल्लो आर्थिक वर्ष नै ४३ लाख ४३ हजार ७२० रुपैयाँ बराबरको बजेट छुट्याइएको डिभिजन कार्यालयले जानकारी दियो । उक्त, रकम खाल्टाखुल्टी पुर्नका लागिमात्रै रहेको सो कार्यालयको भनाइ छ ।

अघिल्लो आर्थिक बर्षमा सडक मर्मतको काम गर्न नसकिएको भन्दै कार्यालयका सूचना अधिकारी सजन पोखरेल चालु आर्थिक वर्षमा मर्मतको कामलाई अघि बढाउने योजना बनाएको बताउँछन् ।

यस्तै बुलबुले चोक–बाङ्गेसिलमसम्मको खाल्टाखुल्टी पुर्ने लक्ष्य रहे पनि पर्याप्त बजेट भने छैन । इत्राम खोला–सुब्बाकुनामा पनि पुरानै बजेटबाट काम गर्ने भनिएको छ ।

मुख्य सडकको स्तरोन्नति गर्न छाडेर खाल्टाखुल्टी पुर्ने नाममा लाखौँ रकम खर्च गर्ने गरेको भन्दै डिभिजन कार्यालयको आलोचना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप