शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नेतृत्वका लागि राउत र इटेनी चुनावी मैदानमा

शुक्रबार, ०८ असोज २०७८, २० : ५७
शुक्रबार, ०८ असोज २०७८

नेपाली काँग्रेस मकवानपुर गाउँ तथा नगर अधिवेशनमा जुटेको छ । शनिबार हुने गाउँ तथा नगर अधिवेशनमा मकवानपुरको १० वटा स्थानीय तहहरूको नेतृत्वका लागि नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 
१० वटा स्थानीय तहहरु मध्ये बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकालाई सबैभन्दा महत्वका साथ हेरिएको छ । 

शनिबार बिहानदेखि हुने उपमहानगरपालिकाको नगर अधिवेशनमा नेतृत्वको लागि २ वटा प्यानल खडा भएको छ । जसमा लामो समय नेविसंघ मकवानपुरको नेतृत्व गरेका महेन्द्र राउत र १३ औं महाधिवेशनमा जिल्ला समितिको कोषाध्यक्षमा पराजित भएका उत्सव इटेनीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै राउत र इटेनीले प्यानल घोषणा गरेका हुन् ।​


इटनी संस्थापन पक्षबाट हेटौंडा उपमहानगपालिकाको सभापतिको उम्मेदवार बनेका हुन् भने राउत रामचन्द्र पौडेल पक्षमा रहेका छन् । यसअघि नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँले पनि इटेनीलाई सघाउने भएका छन् भने राउतको पक्षमा कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकल र केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको समर्थन रहेको छ ।
वि.सं २०४६ सालको आन्दोलन देखी विद्यार्थी राजनिति सुरु गरेका राउतले नेवि संघ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति हुदै नेपाली कांग्रेसको विभिन्न तहमा रहेर सक्रिय भुमिका रहदै आएका छन् । 

कांग्रेसमा सबैलाई समेटेर अगाडी बढाउन सक्ने क्षमता भएकोले नगर सभापतिमा आफनो उम्मेदवारी रहेको राउतले बताए । त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपसभापतिमा राउतको प्यानलबाट रोशन गोले र ज्योती कोइराला रहेका छन् भने सचिवमा गंगा पौडेल र कुमार पोखरेल रहेका छन् । यस्तै सहसचिवमा अन्जनी पराजुली र सोममाया मोक्तानले उम्मेदवारी दिएका छन् । 

उता नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको साथ पाएका इटेनीको प्यानलको नगर उपसभापतिमा रामकृष्ण कोइराला र डोल्मा स्याङबोले उम्मेदवारी दिएका छन् । कोइराला हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षसमेत हुन् ।

त्यस्तै सचिवमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने र हर्करत्न लामा, सहसचिवमा निगम श्रेष्ठ र विकास बानियाँको उम्मेदवारी रहेको छ । भोलीको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनबाट प्रत्यक्ष तर्फको समावेशी सदस्य र समानुपातिक तर्फको सदस्य गरी कुल ९५ सदस्यीय समिति निर्वाचित हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप