शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

शुक्रबार, ०८ असोज २०७८, २० : ०२
शुक्रबार, ०८ असोज २०७८

 जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।शुक्रबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम कायमै रहेकाले सुरक्षित रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका हुन् ।

सम्पूर्ण क्षेत्रमा सुरक्षित वातावरणको प्रत्याभूति एवं जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, गराउँदै हर्ष उल्लासका साथ चाडपर्व मनाउन प्रशासनको आग्रह छ ।प्रशासन कार्यालयले चाडपर्वको अवधिमा यात्रीहरुको सहजताका लागि उचित वातावरण तयार गर्नसमेत यातायात व्यवसायीहरुमा आग्रह गरेको छ ।

सार्वजनिक यातायातका साधनहरूमा क्षमताभन्दा बढी यात्री नराख्न, यात्रीहरूलाई आवतजावतका क्रममा ठगिनबाट जोगाउन यातायातका साधनमा सबैले देख्ने गरी भाडादर टाँस्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।त्यस्तै यात्रुहरुको सहायताका लागि हेटौडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिक सहितको नागरिक सहायता कक्ष स्थापना गर्न सम्बन्धित पक्षलाई निर्देशनसमेत दिइएको छ ।

तोकिएको भन्दा बढी भाडा लिने र दिने दुवै पक्षका उपर तत्काल कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजमार्गहरुमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन हुने व्यवस्था मिलाइने तथा सुरक्षित यात्राका सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर मार्फत सचेतनामूलक सन्देश प्रचार प्रसार गरिने बताइएको छ ।

बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्य वृद्धिजस्ता क्रियाकलाप गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाइने, कोभिड संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सबै प्रकारका मेला, महोत्सव, चिठ्ठा विक्री वितरण एवं खेलकुदका कार्यक्रम संचालनमा पूर्णरूपमा रोक लगाइएको प्रशासन कार्यालयको भनाइ छ । मठ मंन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चतता गरिने, जुवातास, कौडा खेल्ने लगायतका गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने प्रशासनको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप