उद्योग परिसंघले भन्यो– अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो गर्यो
नेपाल उद्योग परिसंघ (सिएनआई) ले विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो काम गरेको बताएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि खुल्ला गर्नु सरकारको स्वागतयोग्य कदम रहेको बताएको हो ।
सो अवसरमा परिसंघले सरकारको यो निर्णयले कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानका लागि सकारात्मक पहल हुने समेत बताएको छ । परिसंघले यसका लागि नेपाल सरकारलाई धन्यवाद समेत दिएको छ ।
कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइ पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ ।
साथै अनअराइभल भिसा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहज रूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्नेमा परिसंघले जोड दिएको छ । सरकारले अनअराइभल भिसा खुला गरे पनि अझै केही मुलुकले नेपाललाई ‘रेड लिस्ट’ मा राखेको बताउँदै परिसंघले सो सम्बन्धमा सरकारले नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिएर पर्यटकलाई सुरक्षित गन्तव्यको पहिचान दिनुपर्नेमा समेत जोड दिएको छ ।
कोभिड–१९ को तीब्र संक्रमणसँगै सरकारले गत दुई वर्षदेखि विदेशी पर्यटक आगमनमा रोक लगाउँदै अनअराइभल भिसामा कडाइ गरेको थियो । हाल कोभिडको प्रभाव क्रमशः कम हुँदै गएसँगै पर्यटन व्यवसायीहरुको माग समेतलाई ध्यानमा राख्दै गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ स्वीकृत गरेको थियो । योसँगै विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा खुल्ला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु