सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

समाज कल्याण परिषद्का पदाधिकारीहरूको सामूहिक राजीनामा

प्रधानमन्त्रीको सचिवालयबाट ह्यारेसमेण्ट गर्न थालिएपछि राजीनामा दियौँ : उपाध्यक्ष खतिवडा
शुक्रबार, ०८ असोज २०७८, १२ : ३०
शुक्रबार, ०८ असोज २०७८

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । 

परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए । 

खतिवडाले भने, ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो । किनभने परिषद्ले आफ्नो बजेट बनाउनु पर्‍यो । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह ग¥यौँ, तर उहाँले मान्नुभएन । अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने र नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ ।’

उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो । खतिवडाले भने, ‘हामीलाई विभिन्न बहाना बनाएर पटक पटक दुख दिने, यो किन भयो र किन भएन भनेर पटक पटक बोलाउने, ह्यारेसमेण्ट गर्ने र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुप–यो भनेर दबाब दिइरहे । अब काम गर्नलाई बजेट नदिने, कर्मचारीको म्याद थप नगर्ने र हामीलाई ह्यारेसमेण्ट गर्न थालेपछि सामूहिक राजीनामा बुझाएका हौँ ।’

उपाध्यक्ष खतिवडाका अनुसार परिषद्मा राजनीतिक हस्तक्षेप बढेको र प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक पटक राजीनामाका लागि दबाब दिएपछि मार्ग प्रशस्त गरिदिएको हो । यसबारे थप जानकारी दिन असोज ८ गते शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको परिषद्ले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप