शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीले कोभ्याक्सिन लगाएका थिए, अमेरिका जाने अनुमति कसरी पाए भन्दै बहस सुरु

शुक्रबार, ०८ असोज २०७८, ११ : ५३
शुक्रबार, ०८ असोज २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा कम्पनीका प्रमुखसँग पनि भेट्नेछन् ।

नरेन्द्र मोदीको यो भ्रमणको विषयमा भारतमा सोसल मिडियामा रोचक चर्चा भइरहेको देख्न सकिन्छ । कोभिड संक्रमणबाट बच्नका लागि उनले पूर्ण रुपमा भारतमा बनेको कोभ्याक्सिनको खोप लगाएका छन् ।

विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले हालसम्म कोभ्याक्सिनलाई मान्यता दिएको छैन । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पनि यसलाई मान्यता दिएको छैन ।

यसकारण हज्जारौं भारतीय कोभ्याक्सिनको दुबै डोज लगाएपछि पनि विदेश जान सकिरहेका छैनन् । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने अमेरिका जाने अनुमति कसरी दिइयो, यो विषयमा सोसल मिडियामा असाध्यै धेरै प्रश्न तेर्सिएका छन् ।

मोदीले एक मार्चमा नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा कोरोना भ्याक्सिनको पहिलो डोज लिएका थिए ।

त्यसपछि उनले अप्रिल महिनामा यो भ्याक्सिनको दोस्रो डोज लिएका थिए ।

सोसल मिडियामा प्रश्नः

भारतीय प्रधानमन्त्रीले जुन कोरोना भ्याक्सिन लगाएका छन्, त्यसको अमेरिकामा मान्यता नभएका कारण उनको विदेश यात्रामाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् ।

चर्चित रियालिटी टिभी शो इन्डियन आइडलका निर्माता निखिल अल्वाले ट्वीट गरेर नरेन्द्र मोदीले कुन चाहिँ भ्याक्सिन लगाएका छन् भनेर प्रश्न सोधिरहेका छन् ।

उनले ट्वीट गरे, ‘प्रधानमन्त्री मोदीले झैं मैले पनि ‘आत्मनिर्भर कोभ्याक्सिन लगाएको थिएँ । इरान, नेपाल र केही सिमित देशलाई बिर्सिने हो भने म कुनै अर्को देशको यात्रा गर्न सक्दिनँ । प्रधानमन्त्री अमेरिका यात्रामा जाँदै छन् भन्ने सुन्दा म अचम्मित थिएँ । अमेरिकामा कोभ्याक्सिनको मान्यतासमेत छैन । त्यसैले उनले साँच्चै कुन चाहिँ भ्याक्सिन लगाएका थिए ?’

कांग्रेस पार्टीका सोसल मिडिया कोओर्डिनेटर विनय कुमार ढोकनियाले पनि कोभ्याक्सिन लगाएका मोदीजी अमेरिका कसरी जाँदैछन् भनेर प्रश्न उठाएका छन् । उनले निखिल अल्वाको ट्वीटमा नै लेखेका छन्, ‘प्रधानमन्त्रीले अमेरिका जाने अनुमति कसरी पाए ? त्यो पनि त्यतिबेला जब उनले जुन कोभ्याक्सिन लगाएका छन्, जुन अमेरिकामा मान्य छैन ।’

राजनीतिक पत्रकार स्वाति चतुर्वेदीले पनि ट्वीट गर्दै सोधेकी छिन्, ‘कोभ्याक्सिनलाई अमेरिकामा मान्यता छैन । यस्तोमा भारतका प्रधानमन्त्री मोदीले अमेरिका जाने अनुमति कसरी पाए ?’

मोदीलाई अनुमति किन चाहियो ?

यस्तोमा प्रश्न यो उठ्छ कि अमेरिकाले कोभ्याक्सिनको डोज लगाएका भारतीय प्रधानमन्त्रीलाई आफ्नो देशमा आउने अनुमति कसरी दिइयो होला ?

यो प्रश्नको जवाफमा अन्तरराष्ट्रिय मामिलाका जानकार शैलेन्द्र देवलाङ्करले भने, ‘भ्याक्सिनको मामिला भारतसँग मात्रै जोडिएको होइन, यो दुनियाँका विभिन्न देशसँग जोडिएको छ । सबै देशमा यो भ्याक्सिन उपलब्ध हुन सक्दैन जसलाई अमेरिकाले मान्यता दिएको छ । यस्तोमा प्रावधानमा छुट दिने गरिन्छ ।’

भारतीय प्रधानमन्त्री अमेरिकी यात्रामा शनिबार संयुक्त राष्ट्र महासभाको ७६ औं सत्रलाई सम्बोधन गर्नेछन् । यसमा संसारभरीका १९३ देशका शासन प्रमुख समावेश हुनेछन् ।

शैलेन्द्र भन्छन्, ‘जतिबेला पनि कूटनीतिक सम्बन्धको कुरा आउँछ, कूटनीतिज्ञलाई विशेष छुट दिइन्छ । यस्तै छुट यसपटक पनि दिइएको होला ।’

बीबीसी मराठीसँग कुराकानी गर्दै थुप्रै देशमा भारतका कूटनीतिज्ञ रहेका अनिल त्रिगुणयतले भने, ‘कोरोना संकटको समय हरेकका लागि नयाँ अनुभव हो । राजनीतिक संवादका लागि आयोजक देशले नियममा छुट दिन सक्छन् । यो संयुक्त राष्ट्रको बैठकका लागि पनि सम्भव छ । ’

मोदी अमेरिका जान सक्छन् तर तपाई....

मुम्बईकी नीता परब (परिवर्तित नाम) ले अमेरिकाको वासिङ्टनबाट उच्च शिक्षा हासिल गर्नु छ । उनले यसका लागि कोर्स पनि पाएकी थिइन् । तर उनले कोभ्याक्सिनको दुई डोज लगाएकी थिइन् ।

उनले भनिन्, ‘मैले कोभ्याक्सिनको दुई डोज लगाएकी थिएँ । यो भ्याक्सिनलाई न त विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ न नै अमेरिकाले । अब अहिले एउटै चिन्ता छ कि यो भ्याक्सिनलाई अमेरिकाले अनुमति देला त ?’

भारतमा निता परबजस्ता हज्जारौं मानिसहरु छन् जसले कोभ्याक्सिनको दुई डोज दिएका कारण आफ्नो गन्तव्यसम्म पुग्न सकिरहेका छैनन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप