अन्तरवार्ता

‘काठमाडौँमा ७ हजार गाई बेवारिसे छन्,पशुपतिमा अन्त्येष्टि गर्ने ठाउँ छैन’

person explore access_timeअसोज ८, २०७८ chat_bubble_outline0


सुरुमा कतिले उनलाई पागल भने । कतिपयले ‘हिन्दु राज्य फर्काउन’ अभियान चलाइरहेको आरोप लगाए । कतिले गाई तस्करी गर्ने गरेको आरोप पनि लगाए । यी सबै आरोपहरूलाई नजरअन्दाज गर्दै ६१ वर्षीय आरबी न्यौपाने विगत लामो समयदेखि सडकमा छाडा छोडिएका गाई–बाच्छाको उद्धार र संरक्षणमा सक्रिय छन् । उनी पशु अधिकारकर्मी हुन् ।

२०७१ सालयता ‘मठमन्दिर गाईबाच्छा बचाऊ तथा समाज विकास अभियान’को अध्यक्षका रूपमा उनले गाईवस्तुको उद्धार र संरक्षण कार्य अघि बढाइरहेका छन् । गाई गोरुको स्याहारमा उनी आफ्ना सहयोगी र शुभचिन्तकसहित अहोरात्र खटिने गर्छन् ।

पशुपतिनाथ मन्दिर नजिकैको गौशालामा अहिले १५३ वटा गाई गोरु छन् । काभ्रेको बेथानचोक र नमोबुद्धमा पनि यस अभियानले गौशाला सञ्चालन गरिरहेको छ । गाई, गोरु र बाच्छा–बाच्छीको संरक्षणमा लाग्दा न्यौपानेले अनेकौँ  समस्या र चुनौती भोग्नुपरेको छ ।    

न्यौपाने दैनिकरुपमा सडकमा गएर बेवारिसे गाईको उपचार पनि गर्छन् । गाई संरक्षणमा लाग्दाको खुसी र चुनौतीबारे रातोपाटीसँग उनले आफ्नो अनुभव यसरी साटे :

गाई संरक्षण अभियान कहिलेदेखि, कसरी सुरु भयो ?

२०७१ सालदेखि । मठ मन्दिर गाईबाच्छा बचाऊ तथा समाज विकास अभियानलाई संस्थाका रूपमा औपचारिक दर्ता गरेका हौँ । हाम्रो ७ सदस्यीय कार्यसमिति छ । काठमाडौँ र काभ्रेका दुई स्थान (बेथानचोक र नमोबुद्ध) मा पनि हामीले गौशाला सञ्चालन गरिरहेका छौँ । काठमाडौँमा १४ जना र काभ्रेमा ७ जना सहयोगीहरू कार्यरत हुनुहुन्छ ।

यसरी संस्थागत रूपमा अघि बढ्नुअघि मैले ७–८ वर्षसम्म सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई र नन्दीहरूको सेवा गरेको थिएँ । बिरामीलाई उपचार गर्ने, भोकोलाई खुवाउने गर्दथे । कतिले मलाई पागल भन्थे । कतिले त यसले गाईहरूलाई होटलमा सप्लाई गर्ने काम गर्छ भन्ने आरोप पनि लगाए । कुनै स्वार्थ नभई  यो मानिस किन राति–राति गाई–बाच्छा खोज्न हिँड्छ भन्दै प्रश्न गर्थे ।

यहाँ राम्रो काम गर्न पनि चुनौती हुने रहेछ । एक्लै गर्न नसकिने रहेछ भन्ने लागेपछि संस्थागत रूपमा अघि बढेको हुँ । हामीले निकै कमजोर अवस्थामा रहेका गाईहरूलाई उद्धार गरेर गौशालामा ल्याएर राख्ने गरेका छौँ । सामान्य उपचार गरेर पुग्ने अवस्थामा रहेकाहरूलाई उपचार गरेर सडकमै छाड्ने गरेका छौँ ।

छाडा चौपायाको सङ्ख्या कति होला ?

काठमाडौँ उपत्यकामा मात्रै ७ हजार छाडा छोडिएका गाई–बाच्छा छन् भन्ने हाम्रो अनुमान छ । तर, तिनको उद्धारमा सक्रिय संघ संस्थाहरु निकै थोरै छन् । कुकुर, बिरालोलगायत जनावरहरूको संरक्षणमा धेरै संस्थाहरु सक्रिय रहेको भए पनि गाई–बाच्छाको संरक्षणमा पर्याप्त ध्यान कसैले दिएको नदेखेपछि मैले संस्थागत रूपमा नै यो अभियान सुरु गरेको हुँ ।

त्यतिबेला पशुपति क्षेत्र विकास कोषमा डाक्टर गोविन्द टण्डन सदस्य–सचिव हुनुहुन्थ्यो । उहाँकै सक्रियतामा यो गौशाला तयार भयो । उहाँले हिन्दू धर्मबारे नै पीएचडी गरेको व्यक्ति भएकाले गाई संरक्षणको महत्त्व बुझ्नुभयो । तर, त्यसपछि आएका सदस्य–सचिवहरूले हाम्रो अभियानमा सहयोग गर्नुको साटो उल्टै असहयोग गरे ।

डा. घनश्याम खतिवडा नेतृत्वमा हुँदा हामीलाई यहाँबाट निकाल्न पनि खोजियो । दैनिकरुपमा हामीलाई गौशाला छाड्न उर्दी जारी हुन्थ्यो, पछि यस विषयमा मुद्दा चल्यो र अदालतले निषेधाज्ञा जारी ग–यो ।  हामीलाई हटाएर कुनै भोजन र स्नानगृह निर्माणका लागि एक व्यवसायीलाई यो जमिन भाडामा दिने उहाँहरूको योजना रहेछ, न्यायमूर्तिहरुको विवेकका कारण त्यस्तो सम्भव हुन सकेन ।

छाडा चौपायाको समस्या निम्तनुमा कसलाई दोषी देख्नुहुन्छ ?

सबैभन्दा ठूलो दोष त कृषकहरूकै देख्छु । उहाँहरूले एउटा गाईलाई १६ वर्षसम्म पाल्नुहुन्छ । त्यसको दूध खानुहुन्छ, परिवारलाई खुवाउनुहुन्छ र बेच्नुहुन्छ । त्यही दूध बेचेको पैसाले छोराछोरीलाई डाक्टर–इन्जिनियर वा अधिकृत बनाउनुहुन्छ । तर, त्यही गाईको बाच्छालाई सानैमा सडकमा लगेर छाडिदिनुहुन्छ । त्यतिले नपुगेर बुढो भएपछि त्यो गाईलाई पनि सडकमा छाड्नुहुन्छ । मानिसमा विवेक र नैतिकता नभएपछि के गर्ने ?

एकपटक नेपाल सरकारको पशुपालन सम्बन्धी एक कार्यक्रममा गएको थिएँ, त्यहाँ दुई सयभन्दा बढी कृषक थिए,  पशु अधिकारकर्मी ममात्रै थिएँ । कृषकहरूको माग : सरकारले कम्तीमा डेढदेखि दुई लाख हामीलाई दियो भने हामी बाच्छाहरू हुर्काउँछौ, नत्र जन्मिएपछि मारेर मलखादमा पालिदिन्छौँ भन्ने रहेछ ।

उहाँहरूले गाईलाई एआई गर्नुपर्छ, डाइरेक्ट साढे लगाएर हुन्न भन्ने तर्क पनि गर्नुभएको थियो । एआई गरेर जन्मिएको बाच्छालाई मार्न सजिलो हुन्छ, साँढे लगाएकोलाई मार्न गाह्रो हुन्छ भन्ने उहाँहरूको तर्क रहेछ । अब आफैँ सोच्नुस्, उनीहरू कति पापी रहेछन् । व्यापार गरेका रहेछन् कि सेवा ? के पृथ्वी उनीहरूको मात्रै हो त ?

हामीले केही नीति बनाएका छौँ । जस्तो– अभियानमा निरन्तर सक्रिय भएको व्यक्तिले एउटा गाई हामीलाई पाल्न दिन्छ भने हामी त्यसबापत दैनिक २० रुपैयाँको दरले एक वर्षको एकमुष्ट ७२ सय रुपैयाँ लिन्छौँ । त्यति पैसा तिरेपछि उसको एउटा गाई वा बाच्छो सधैँका लागि पालिदिन्छौँ । अर्को, गाई वा बाच्छो पनि पाल्न दिने हो भने उसले फेरि त्यति नै रकम तिर्नुपर्छ । यो पैसा हामी गाई–बाच्छाको संरक्षणमा खर्च गर्छौँ ।

बचाऔँ भन्नुपर्ने ठाउँमा राज्यले डेढ लाख दियो भने पाल्ने, नत्र मारेर फाल्ने भन्दैछन् । त्यो बाच्छाले खानुपर्ने दूध आफू खाने र बेच्ने, अनि त्यसलाई मलखादमा हालिदिन्छु भन्ने धम्की कत्तिको जायज छ ? तर, मानिसले यति धेरै पाप गरिरहँदा सरकार लाचार भएर हेरिरहन्छ ।

यदि सरकारले चाहने हो भने कडा नियम बनाएर गाईको व्यवस्थापन गर्न सक्छ । जस्तो– हामीले सरकारलाई कर तिरेर बिल बुक नलिई मोटरसाइकल चलाउन पाउँदैनौँ नि, त्यसरी नै किसानका लागि पनि एउटा नियम बनाउने हो भने समस्या केही कम भएर जान्छ ।

कस्तो नियम ?

पहिले, राज्यले यसबारे गम्भीर भएर सोच्नुप–यो । त्यसपछि नीति–निर्माण गर्ने कुरा आउला । अहिले त सरकार गम्भीर नै भएको छैन । हामीले भने गाईबाच्छा संरक्षणका लागि अभियान चलाउने क्रममा सबै कृषकहरूलाई एकजुट गर्ने प्रयास गरिरहेका छौँ । तर, निकै थोरैले मात्रै यसमा चासो देखाउनुभएको छ । धेरैलाई त गाईको बाच्छा सडकमा छोड्यो, गाई बुढो भएपछि सडकमा छोड्यो, भइहाल्यो । मन भएकाहरू हामीसँग जोडिनुभएको छ ।

हामीले हाम्रो अभियानमा सदस्य बनेर लाग्नुस्, दैनिक २० रुपैयाँ छुट्टयाउनुस् भनेका छौँ । यदि, कोही कृषक हाम्रो अभियानमा लागेको छ भने उसले पालेका गाईका बाच्छाहरू संरक्षण गरिदिने र बुढो भइसकेपछि गाईलाई संरक्षण गरिदिने जिम्मा पनि हामी नै लिन्छौँ । त्यसको हुँदा सडकमा छाडेर पाप गर्नु पर्दैन ।

हामीले केही नीति बनाएका छौँ । जस्तो– अभियानमा निरन्तर सक्रिय भएको व्यक्तिले एउटा गाई हामीलाई पाल्न दिन्छ भने हामी त्यसबापत दैनिक २० रुपैयाँको दरले एक वर्षको एकमुष्ट ७२ सय रुपैयाँ लिन्छौँ । त्यति पैसा तिरेपछि उसको एउटा गाई वा बाच्छो सधैँका लागि पालिदिन्छौँ । अर्को, गाई वा बाच्छो पनि पाल्न दिने हो भने उसले फेरि त्यति नै रकम तिर्नुपर्छ । यो पैसा हामी गाई–बाच्छाको संरक्षणमा खर्च गर्छौँ ।

आजको दिनमा एउटा गाई मरेपछि १५ हजारदेखि २० हजारसम्म खर्च त अन्त्येष्टिमै लाग्छ । कृषकहरूलाई समस्या नहोस् भनेर यति थोरै रकममा हामीले गाई वा बाच्छा पालिदिने योजना ल्याएका छौँ । हाम्रो अभियानमा सक्रियरुपमा लाग्न र यसबारे अन्यलाई पनि जानकारी दिएर संलग्न हुनका लागि प्रेरित गराउन आग्रह गरेका छौँ । तर, थोरै मात्र कृषकले चासो दिनुभएको छ । किनकि, कतिपयलाई ७२ सयले ठूलै गर्जो टर्छ, घर बनाउन सकिन्छ भन्ने लागेको हो । गाईका लागि ७२ सय खर्च गर्नुभन्दा गाईलाई सडकमै बेवारिसे छाड्नु उहाँहरूका लागि सहज भएको होला । तर, मनकारी व्यक्तिहरू हाम्रो अभियानमा जोडिनु भएको छ । अहिलेसम्म कृषकभन्दा पनि धेरैजसो गैरकृषक गाईप्रेमीहरु यस अभियानमा हुनुहुन्छ ।

सरकारबाट कत्तिको सहयोग पाउनुभएको छ ?

सरकारले केही गरेको हुन्थ्यो भने आज छाडा छोडिएका जनावरहरूले यति धेरै दुःख पाउनुपर्ने नै थिएन । माथिल्लो तहमा रहेका केही जनावरप्रेमीहरुले सहयोगका लागि चासो दिनुहुन्छ । तर, पनि नियम निकै झन्झटिलो छ । एकपटक प्रदेश सरकारले ५ लाख बराबरको घाँस सहयोग दिएको थियो, तर त्यो पनि अनुदान नभएर साझेदारीमा थियो । त्यति घाँस हेटौँडाबाट ल्याउनका लागि हामीले यहाँ ५ लाखको घाँस पहिले भण्डारण गर्नुपर्ने सर्त थियो । हामीजस्तो दाताका भरमा चल्ने संस्थाका लागि एकैपटक त्यसरी घाँस ल्याएर भण्डारण गर्नु पनि चुनौतीपूर्ण हुन्छ ।

राज्यको नीति नै झन्झटिलो भइदिएकाले सहयोग गर्न चाहनेहरूलाई पनि सहज छैन । आजका दिनमा गाई–बाच्छाले खान नपाएर सडकमा भौँतारिएर प्लास्टिक खाएर, पानी खान नपाएर मर्नुपरेको अवस्था छ । राज्यले पर्याप्त काम गरेको हुन्थ्यो भने सायद हामी यसरी खट्नुपर्ने थिएन । यो देशमा सर्प पाल्नका लागि कुनै नेतालाई ७२ करोड दिइन्छ, गाईबाच्छा र छाडा छोडिएका जनावरहरूको संरक्षणका लागि किन रकम निकासा हुँदैन ? वा, निकासा भएको रकम पनि किन सदुपयोग हुँदैन ?

जस्तो– बूढानीलकण्ठ नगरपालिकासँग यस वर्ष गोठ बनाउनका लागि ७५ लाखदेखि १ करोडसम्मको बजेट थियो । तर, गोठ बनेको देखिएन । काठमाडौँ महानगरपालिकामा पनि यसरी नै बजेट विनियोजन भएको छ । तर, गोठ बनाएको देखिन्न । छाडा पशुपंक्षीका लागि भनेर राज्यले १५ करोडभन्दा धेरै रकम वार्षिक छुट्टयाउँछ भन्ने सुनेको छु, तर त्यो कहाँ जान्छ ? किन सदुपयोग हुँदैन ? पृथ्वी सबैको साझा हो भन्ने विषयलाई ध्यानमा राखेर राज्यले यी र यस्ता समस्याहरु समाधान गर्न लाग्नुपर्छ ।

गाईलाई खुवाउनका लागि एयरपोर्टबाट समेत घाँस किनेर ल्याउनुपर्ने बाध्यता छ । जबकि, विमानस्थलको घाँस त गाईले सित्तैमा खान पाउनुपर्ने होइन ? असल नियतका नेता र सरकारी अधिकारीहरू भइदिएको भए यस्तो अवस्था हुने थिएन होला । तर, हामीले बारम्बार आफ्नो समस्या बताउँदा पनि सम्बन्धित निकायले सुन्दैनन् ।

कोरोना भाइरस महामारीका कारण भएको लकडाउनमा केही समस्या भयो कि ? गाई संरक्षणका चुनौती के–के छन् ?

गाई–बाच्छाको उद्धार र जर्गेनाका लागि यो अभियानलाई बृहत् बनाउन जरुरी छ ।  पृथ्वी सबैको साझा हो भन्ने उद्देश्यले हाम्रो अभियान अघि बढिरहेको छ । तर यहाँ सबै गाई–बाच्छा राख्न पर्याप्त ठाउँ छैन । त्यही भएर काभ्रेको बेथानचोक र नमोबुद्धमा पनि गौशाला बनाएर राखेका छौँ । त्यहाँ पनि सडकभरि गाई–बाच्छा छोडिएको पाइन्छ । धुलिखेल, बनेपालगायत ठाउँमा छाडा छोडिएका चौपायाहरू दुर्घटनाको शिकार भएर मर्ने खतरा छ । तिनलाई बटुलेर राख्ने गरेका छाैँ । हामीले उद्धार गरेका वयस्क गाईलाई उपचार गर्न पनि महँगो खर्च लाग्ने गरेको छ , कतिपय अवस्थामा एउटै वयस्क गाईलाई ८० हजारदेखि १ लाखसम्म उपचार खर्च लाग्छ  ।

 

महामारीको समय आर्थिक स्रोतको जोहो गर्न निकै कठिन छ । कोरोनाको त्रासका कारण आजकल थोरै मात्र दाताहरू यहाँ आउनुहुन्छ । त्यहीकारण ऋण लिएर गाई पाल्नुपर्ने अवस्था पनि आयो । लकडाउनको समय इन्द्रेणी परिवारका कृष्ण कँडेलले १५–२० लाख रकम सङ्कलन गरेर दिनुभएको थियो । त्यही रकम र दाताहरूबाट आएको सहयोगले घाँस, परालको व्यवस्थापन ग–यौं ।

भगवान्को नजिक भएकाले अहिलेसम्म भगवानको कृपा भएको छ र यस्ता सहयोगी व्यक्तिहरू भेटिनुभएको छ भन्ने लाग्छ । दया भएका कसैले दुई–चार हजार रुपैयाँ खर्च गरिदिनुहुन्छ र गाई पाल्न सकिएको छ ।

गाईहरूलाई पाल्न त समस्या हुने नै भयो, मरेपछि अन्त्येष्टि गर्न पनि समस्या छ । यहाँ, अन्त्येष्टि गर्ने ठाउँ छैन । कहिले चोभार पु–याएर अन्त्येष्टि गर्छौँ, त कहिले कतै लग्छौँ ।

पशुपतिकै जङ्गलमा अन्त्येष्टि गर्न मिल्दैन ?

पहिले, यही पशुपति पारिको जङ्गलमा गर्ने गरेका थियौँ । अहिले त्यहाँ कम्पाउन्ड लगाइएको छ । बोकेर लैजान सकिँदैन, गाडी जाँदैन, त्यसैले समस्या छ । सम्बन्धित अधिकारीहरूले हाम्रो समस्या बुझ्ने कोसिस गरेका छैनन् ।

गाईलाई खुवाउनका लागि एयरपोर्टबाट समेत घाँस किनेर ल्याउनुपर्ने बाध्यता छ । जबकि, विमानस्थलको घाँस त गाईले सित्तैमा खान पाउनुपर्ने होइन ? असल नियतका नेता र सरकारी अधिकारीहरू भइदिएको भए यस्तो अवस्था हुने थिएन होला । तर, हामीले बारम्बार आफ्नो समस्या बताउँदा पनि सम्बन्धित निकायले सुन्दैनन् ।

काठमाडौँ महानगरमा धेरैपटक सहयोगको आग्रह गरेको छु, तर कहिले फाइल गायब हुन्छ, कहिले मेयरले तोक लगाइदिए पनि तलका कर्मचारीले त्यसलाई सदर गर्न मान्दैनन् ।

तपाईले यहाँ कुकुर, बिरालो पनि पाल्नुभएको रहेछ नि ?

पहिला ३३ वटा बिराला थिए । हामीले बाटामा अलपत्र अवस्थामा भेटिएका कुकुरलाई पनि उपचार गर्ने गरेका छौँ । तर, यस क्षेत्रमा कुकुर राशि विद्रोही हुने भएकाले उनीहरूलाई यहाँ ल्याएर राखेका छैनौँ । बाटोमा कुकुरहरूको बिजोग भएको देख्दा मन खिन्न लागेर आउँछ, त्यसैले हामीले अन्यत्रै घर बनाएर राख्ने सोच बनाइरहेका छौँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।