शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गेम चेन्जर’ अफ्रिदीका उपलब्धि र विवाद

शुक्रबार, ०८ असोज २०७८, ०६ : २६
शुक्रबार, ०८ असोज २०७८

पाकिस्तानका लोकप्रिय र सर्वोत्कृष्ट क्रिकेटमध्ये शाहिद​ अफ्रिदी एक हुन् । आफ्नो आक्रामक ब्याटिङ, उत्कृष्ट बलिङ र फिल्डिङ क्षमतामार्फत जुनसुकै समय खेल परिवर्तन गर्न सक्ने विशेषताले अफ्रिदीलाई समर्थकमाझ लोकप्रिय बनायो ।  

 विश्वका सर्वोत्कृष्ट अलराउन्डरहरु मध्ये एक मानिएका अफ्रिदीले दुई दशकभन्दा लामो समय पाकिस्तानको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे । यसक्रममा उनले ३ सय ९८ एक दिवसीय, २७ टेस्ट र ९९ टी–२० खेल खेले । १९९६ मा पाकिस्तानको राष्ट्रिय टोलीबाट पहिलोपटक एक दिवसीय खेल खेलेका अफ्रिदीले फेब्रुअरी २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । 

करियरको सुरुवाती समय उनले विस्फोटक ब्याट्सम्यानका रूपमा आफ्नो परिचय बनाए, यद्यपि उनी आफूलाई बलिङमा राम्रो ठान्छन् । दायाँ हाते लेग–स्पिनर अफ्रिदीले पाकिस्तानका लागि टेस्ट क्रिकेटमा ४८ विकेट र एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ सय ५० विकेट र टी–२० अन्तर्राष्ट्रिय खेलमा ९८ विकेट लिएका थिए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक धेरै छक्का हान्ने कीर्तिमान उनको नाममा छ । उनले पाकिस्तानका लागि ३ सय ५१ पटक छक्का प्रहार गरेका छन् । 

​सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान १७ वर्षभन्दा लामो समय अफ्रिदीकै नाममा थियो, १९९६ मा डेब्यु खेलमै उनले ३७ बलमा शतक प्रहार गरेका थिए । २०१४ मा ३६ बलमा शतक प्रहार गर्दै न्युजिल्यान्डका कोरी एन्डरसनले यो कीर्तिमान आफ्नो नाममा लेखाए, त्यसको एक वर्षपछि दक्षिण अफ्रिकाका एबी डी बिलियर्सले ३१ बलमा शतक प्रहार गरेर एन्डरसनको कीर्तिमान पनि तोडे । 

 

उमेरको विवाद र दुविधा 

अफ्रिदी कुन वर्ष जन्मिएका हुन् भन्नेमा विवाद छ । रेकर्डअनुसार अफ्रिदीले १६ वर्षको उमेरमा १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । यस तथ्यअनुसार उनी १९८० मा जन्मिएको हुनुपर्ने हो । यद्यपि, आफ्नो अटोबायोग्राफी ‘गेम चेन्जर’ मा अफ्रिदीले आफ्नो जन्म मिति १९७५ उल्लेख गरेका छन् । क्रिकेट अधिकारीहरूले आफ्नो उमेर गलत लेखाइदिएको उनको खुलासा थियो । ‘म केवल उन्नाइस वर्षको थिएँ, उनीहरूले दाबी गरेजस्तो १६ वर्षको थिइनँ । १९७५ मा म जन्मिएको थिएँ । हो, अधिकारीहरूले मेरो उमेर गलत बताएका थिए,’ अफ्रिदीले पुस्तकमा लेखेका छन् । तर, यो विषयले विवाद मात्रै नभएर दुविधा पनि सिर्जना गरिदियो । किनकि, १९७५ मा जन्मिएको मानिस १९९६ मा २१ वर्षको नभएर कसरी १९ वर्षको भयो ?

यद्यपि, अफ्रिदीले केही समयपछि आफ्नो बायोग्राफीमा केही त्रुटिहरू भएको स्विकार्दै केही समयपछि सार्वजनिक हुने ई–बुकमा उमेरबारे स्पष्ट पार्ने अभिव्यक्ति दिएका थिए । 

बाल्यकालका प्रेरणा 

पाकिस्तानको खैबरमा जन्मिएका अफ्रिदीले ११ वर्षको उमेरमै क्रिकेट खेल्न थालेका थिए । लगत्तै उनले कराँची क्रिकेट क्लबमा प्रशिक्षण लिन थाले । अहिले पाकिस्तानको प्रधानमन्त्री रहेका ८० को दशकका लोकप्रिय क्रिकेटर इमरान खान अफ्रिदीको बाल्यकालका सबैभन्दा ठूला प्रेरणा थिए । 

अफ्रिदीले समिर कप नामक प्रतिस्पर्धामार्फत पाकिस्तानको टोलीबाट  श्रीलंकाविरुद्ध १९९६ मा डेब्यु गरेका थिए । उनले तेस्रो खेलमा ब्याटिङ गर्ने अवसर पाए, र यही खेलमा उनले ३७ बलमा शतक प्रहार गर्दै विश्व क्रिकेटमा नयाँ इतिहास लेखाए । 

दुई वर्षपछि उनले टेस्ट क्रिकेटमा पनि डेब्यु गरे । आफ्नो विस्फोटक ब्याटिङकै कारण उनी ‘बुम बुम अफ्रिदी’ नामले चिनिन थाले । 

अफ्रिदीले २००९ मा पाकिस्तानलाई टी–२० विश्वकप जिताउन निकै महत्वपूर्ण भूमिका निभाए । उनले प्रतियोगिताको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ५१ रन र फाइनलमा श्रीलंकाविरुद्ध अविजित ५४ रन बनाएका थिए, उनी फाइनलमा म्यान अफ दि म्याच घोषित भए । 

अफ्रिदीले २०१० देखि पाकिस्तानको कप्तानी गर्न थाले । २०११ को विश्वकपमा उनकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर त्यही वर्ष पाकिस्तान क्रिकेट बोर्डसँग विवाद निम्तिएपछि उनले छोटो समयका लागि सशर्त सन्यास घोषणा गरे । पाकिस्तानको क्रिकेट बोर्डमा परिवर्तन भएमात्रै फेरि मैदानमा फर्कने उनको शर्त थियो । पाकिस्तानी क्रिकेट बोर्डका तत्कालीन अध्यक्ष ईजाज बटको ठाउँमा नयाँ अध्यक्ष जाका असरर्फ आएपछि अफ्रिदीले राष्ट्रिय टिममा फर्कन तयार रहेको घोषणा गरे । 

उनले त्यसपछि २०१५ को विश्वकप र २०१६ को टी–२० विश्वकपमा पाकिस्तानको प्रतिनिधित्व गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप