मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका विकास प्राधिकरण र नगर प्रमुखबीच छलफल

बिहीबार, ०७ असोज २०७८, १७ : ००
बिहीबार, ०७ असोज २०७८

उपत्यका विकास प्राधिकरणले नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गरेको छ । प्राधिकरणले हालसम्म गर्दै आएका  कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा नगर प्रमुख र उपप्रमुख​हरुसँग छलफल गरेको हो  ।

 छलफल कार्यक्रममा प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले काठमाडौं प्राधिकरणको उद्धेश्य काठमाडौं उपत्यकालाई पर्यटकीय, साँस्कृतिक, पुरातात्विक सम्पदाको शहरको रुपमा चिनाउनु रहेको बताइन् । उनले प्राधिकरणको काम सम्पदाको संरक्षण र संवर्द्धन गर्दै भौतिक पूर्वाधारयुक्त वातावरण मैत्री शहर बनाउने रहेको बताइन् । उनले आगामी दिनमा नगरपालिका र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताइन् । उनले प्राधिकरण र नगरपालिका बीचको सम्बन्ध नङ र मासुजस्तै हुनुपर्ने भन्दै अबका दिनमा आफ्नो टिमले काम गर्दा स्थानीय निकायलाई प्राथमिकतामा राखेर समन्वयपछि मात्रै कामहरु अगाडि बढाउने  प्रतिबद्धता जनाइन् ।

 छलफल कार्यक्रममा प्राधिकरणका नायव विकास आयुक्त दिलिप शेखर श्रेष्ठले प्राधिकरणले हालसम्म गरेका काम र आगामी योजनाको बारेमा जानकारी दिएका छन् । छलफल कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले  प्राधिकरण र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै ठूला ठूला लगानीका काम र सम्पूर्ण नदीहरूको करिडोर निर्माणका  काम एकीकृत रुपमा गर्नुपर्नेमा जोड दिए । अर्यालले बिना अनुमति डाँडाकाँडामा डोजर चलाउने गरेको देखिएको बताउँदै अनुमतिबिना गरिने त्यस्ता कार्यलाई रोक्नका लागि प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिए । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्राधिकरणले साना साना कामहरु भन्दा ठूला कामहरुमा फोकस हुनुपर्ने बताए ।

उनले उपत्यकाका नदी कोरिडोरसँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागू गर्नुपर्ने, खोलाको सूचीकरण गर्नुपर्ने, नदी सभ्यतालाई कायम गर्दै दिगो रुपमा संरक्षण गर्नुपर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिँदै नगरपालिकाहरूलाई प्रविधिक सहयोग गर्नुपर्ने र  समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  त्यस्तै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकाको मास्टर प्लान  प्राधिकरणले बनाउनुपर्ने सुझाव दिए । उनले प्राधिकरणले नगरपालिकासँग समन्वय गरेर विकास निर्माणका कामहरु गर्नुपर्ने र अनाधिकृत रुपमा भएको जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाडौंको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटोभन्दा छिटो काम शुरु गरिहाल्नु पर्नेमा जोड दिए । उनले विगतमा जस्तो कुरा मात्रै होइन चक्रपथलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढाइ हाल्नुपर्ने बताए ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा क्षेत्रमा स्मार्ट सिटीका लागि भनेर जग्गा रोकेर राखेको भएपनि अहिलेसम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको बताए ।  थापाले स्मार्ट सिटीको कामलाई छिटो शुरु गर्नुपर्ने र जति ढिला हुँदै गयो त्यति नै काम गर्न समस्या उत्पन्न हुने बताए । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले स्थानीय निकायसँग समन्वय गरेर काम गर्दा प्राधिकरणको काम प्रभावकारी हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप