रातोपाटी ब्रिफिङ : बादल सम्झिँदा प्रचण्डलाई एलर्जी, ओलीलाई सरकार सिस्नु जस्तो (भिडियोसहित)
आज २०७८ असोज ७ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।
दुई ‘अ’ ले अड्कायो मन्त्रिपरिषद्को ‘हलो’
पाँच दलीय गठबन्धनको सरकारले मन्त्रिपरिषद् विस्तारको उल्झनमै ‘हनिमुन’ पूरा गर्ने सङ्केत देखिएको छ । सरकार बनेको ७३ दिन पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारको ‘हनिमुन’ अर्थात् सय दिन पूरा हुन अब २७ दिन मात्र बाँकी छ ।
दसैँमा ५० हजार खसीबोका काठमाडौँ ल्याइने
विगतका वर्षहरुमा झै यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् । विगतका वर्षहरूमा भएको खपतलाई मध्यनजरमा राख्दै यो वर्षको दसैँका लागि उक्त सङ्ख्याका खसीबोका ल्याउने भएका हुन् ।
स्पञ्ज आइरनमा भन्सार छुट विवाद
अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै फलामे छड बनाउने कच्चापदार्थ स्पञ्ज आइरन र बिलेटमा राजस्व दर हेरफेर गरेका छन् । उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र रोजगारी बढाउने तथा आयात घटाइ व्यापार घाटा घटाउन यस्तो व्यवस्था गरिएको बताएका छन् । बजेटमार्फत भएको यो व्यवस्थालाई स्वागत या विरोध गर्ने भन्नेमा व्यवसायीहरूको छाता संगठन दोधारमा परेको हो । महासंघ र परिसंघ दुवैले सरकारले लिएको नीतिलाई स्वागत र विरोध दुवै गरेका छन् । छाता संस्थाका प्रमुखहरूको भनाइ छ, ‘सरकारले लिएको भन्सार छुटको नीतिले स्वदेशी उद्योग प्रोत्साहनमा पर्छन् । तर, तयारी बिलेट ल्याइ छड उत्पादन गरिरहेका दुई दर्जनभन्दा बढी उद्योग समस्यामा पनि पर्छन् ।’
स्पञ्ज आइरनमा भन्सार छुट विवाद : व्यवसायीका छाता संगठन नै दोधारमा |
ओलीको बोली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्दै जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौँमा आयोजना गरेको बृहत् भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ उनले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गरे ।
१ हजार २३९ जना संक्रमित थपिए
बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् ।
प्रचण्डका कुरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सबै पार्टी कमिटी वैधानिक ढंगले निर्माण गर्ने काम भइरहेको भन्दै त्यसैअनुसार अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ
काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने |
नेकपा एकीकृत समाजवादीमा यस्तो छ कार्यविभाजन
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।
असोज १० गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय
काठमाडौं महानगरपालिकाले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले कोभिडबाट सावधानी अपनाउँदै विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे विभिन्न २७ बुँदे मापदण्ड समेत अनुमोदन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !