बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले २१ जिल्लाको अधिवेशन दसैँअघि गर्ने, महाधिवेशनको मिति पनि सर्ने

बिहीबार, ०७ असोज २०७८, २० : २०
बिहीबार, ०७ असोज २०७८

काठमाडौँ । नेपाली काँग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।  विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । ​दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

पोखरेलका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ ।  तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन ।

डोल्पा र रसुवाको अधिवेशनबारे सोधिएको प्रश्नमा पोखरेलले भने,  'यो पनि दसैँअघि नै सकिन्छ । २१ जिल्लामा एक निर्वाचन क्षेत्र भएको जिल्लामा १५ गते सकिन्छ । १५ गतेदेखि २० गतेसम्म डोल्पा र रसुवामा पनि अधिवेशन सम्पन्न हुन्छ । दसैँअघि कुनै हालतमा २१ जिल्लाको अधिवेशन हुन्छ ।'

५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा सकिने उनको भनाइ छ । यस कारण पूर्वनिर्धारित अधिवेशनको तालिकामा आंशिक परिवर्तन हुने देखिएको छ । 

१२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । ५६ जिल्लामा उक्त तालिका अनुसार अधिवेशन नहुने भएको छ ।

यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । उनका अनुसार प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ ।

उनले भने, 'आजको हाम्रो छलफलको निष्कर्षले मंसिर ९ गतेदेखि १३ गतेको महाधिवेशनको मिति पनि सर्ने सम्भावना देखियो । नयाँ मिति कहिले तोकिने अर्को बैठकले तय गर्छ ।'


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप