बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने

बिहीबार, ०७ असोज २०७८, २२ : ४०
बिहीबार, ०७ असोज २०७८

काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । 

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए । भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जबाफदेही आफूहरू नहुने पनि स्पष्ट पारे । महासङ्घले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

महासचिव सिटौलाले भन्नुभयो, ‘विभिन्न ठाउँमा विभिन्न ढङ्गबाट छलफल भएका छन्, नेपालीहरूको महान् पर्व विजयादशमी,दीपावली, छठ लगायतका यी महत्त्वपूर्ण पर्वमा हरेक वर्ष चाडबाडमा अग्रिम टिकटको व्यवस्था एक महिना, १५ दिन पहिला गर्ने गरिन्थ्यो, परम्परा आएको थियो, पोहोर कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढङ्गबाट यात्रुहरू पनि त्रसित भएको अवस्थाले सबै मिलेर यात्रुहरूको व्यवस्थापन गर्‍यौ । बाटो अवरुद्ध भएर गाडी आउन सकेन भने त्यसको जबाफदेही हामी हुनेछैनौँ, असोजको ११ गतेबाट अग्रिम टिकटको सुरुवात हुन्छ, त्यहाँबाट ठाउँ, यात्रुको चापको परिस्थिति हेरेर क्रमशः अघि बढ्छौँ ।’

महासङ्घका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरूबाट सहजै बुकिङ गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप