बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै हट्यो ‘गभर्मेन्ट सटडाउन’

बिहीबार, ०७ असोज २०७८, १८ : १८
बिहीबार, ०७ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । 

राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् । प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको विनियोजन विधेयक आजै बसेको राष्ट्रियसभा बैठकबाट पनि पारित भएको थियो । पारित गरेको सो विधेयक प्रतिनिधिसभामा फर्काएको थियो । 

अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । सो बजेटको आकार १४ अर्ब ७४ करोड रुपैयाँले घटाउँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो । वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक ल्याउन नसक्दा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । संवैधानिक अङ्ग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक अन्य खर्च रोकिएको थियो 

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै एकसाता लामो सटडाउन अन्त्य भएको हो । भोलि (शुक्रबार) देखि नै सरकारले संघीय सञ्चित कोष चलाउन पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप