बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘ओली गुट’ जसरी हामी पार्टी सञ्चालन गर्दैनौँ : नेपाल

बिहीबार, ०७ असोज २०७८, १४ : ४५
बिहीबार, ०७ असोज २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘ओली गुट’ ले जसरी आफूहरूले पार्टी सञ्चालन नगरी निश्चित मापदण्ड र विधि तथा पद्धतिका आधारमा अघि बढ्ने बताएका छन् । पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक समापनका अवसरमा सम्बोधन गर्दै उनले पार्टीमा खास मापदण्ड र विधि तथा प्रक्रियाका आधारमा जिम्मेवारी तोकिने र सोहीअनुसार पार्टीका सबै कमिटी चलायमान हुने बताए ।

हालै पार्टीका केन्द्रीय पदाधिकारी नियुक्त गरिएको, स्थायी कमिटी र पोलिटब्युरो गठन गरिएको केन्द्रीय समिति विस्तार गरिएको जानकारी दिँदै उनले केही मापदण्ड बनाएर नै जिम्मेवारी बाँडफाँट गरेको प्रस्ट पारे । उनले पार्टीभित्र फरक मत भएमा, कुनै प्रकारको असन्तुष्टि भएमा कमिटीहरूमा लिखित रूपमै त्यस्ता मत प्रकट गर्न पनि उनले सुझाव दिए । ‘मलाई मेरो विचार र सुझाव नै सबैभन्दा सही लाग्न सक्छ । तर दिइएका सुझाव, सल्लाहमा पनि केही कमी हुन सक्छन्,’ उनले भने, ‘आफूलाई लागेको कुरा अन्यत्र भन्ने होइन, पार्टीको सम्बन्धित कमिटीमा राख्ने हो ।’

गम्भीर चिन्तन गरेर राखिएका सुझावलाई पार्टीले उचित महत्त्व दिने र त्यस्ता सुझावमाथि व्यापक छलफलका लागि सधैँ तयार हुने उनको भनाइ छ । पार्टीका हरेक कार्यकर्ताले पार्टीको स्कुल कक्षामा भाग लिनैपर्नेमा पनि उनले जोड दिए ।

पाँच दलीय गठबन्धनविरुद्ध एमालेले अनर्गल प्रचार गरिरहेको उनको आरोप छ । ‘कसैले कुनै किसिमको भ्रम सिर्जना गर्छ भने त्यसको सशक्त खण्डन गर्नुस्,’ उनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हामी पाँच दलको गठबन्धनमा सहभागी छौँ । यी पाँचवटै पार्टीका नेता, यी पाँच पार्टीका बीचमा निकै सुमधुर सम्बन्ध छ । कसैले भन्दैमा गठबन्धन टुट्दैन ।’ उनले यो गठबन्धनलाई नामकरण गरेर तल्लो कमिटीसम्म नै यसलाई एकताबद्ध गरिने जानकारीसमेत दिए । एउटा संयन्त्र बनाएर चुनावसम्म र चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिइने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप