आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुस्टर डोजको बहस

के तपाईंले कोरोनाविरुद्ध बुस्टर डोज लगाउन आवश्यक छ ?
बिहीबार, ०७ असोज २०७८, १० : १९
बिहीबार, ०७ असोज २०७८

कोरोना खोपको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्टमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो । यसपछि भने बाइडेनले बुस्टर योजना अझै पनि एफडीए र सीडीसीका वैज्ञानिकहरूबाट स्वीकृत हुन बाँकी रहेको स्वीकार गरिसकेका छन् । 

अहिले वैज्ञानिकहरूले यसबारे मुख खोलेका छन् । सेप्टेम्बर १७ मा फाइजर खोपबारे समीक्षा गर्न बसेको एफडीए सल्लाहकार समितिको बैठकमा यसबारे व्यापक छलफल भयो । जसअनुसार ६५ वर्ष र त्यसभन्दा माथिका व्यक्ति एवम् उच्च जोखिममा रहेको जनसङ्ख्यामा मात्रै तेस्रो डोज आवश्यक हुने पक्षमा अधिकांशले मत जाहेर गरे । अहिलेको समयमा खोपको प्रभावकारिता र सुरक्षाको तथ्याङ्कले सबैलाई तेस्रो डोजको आवश्यकता रहेको पुष्टि नगर्ने उनीहरूको निष्कर्ष थियो । 

बुस्टर सट के हो ?

धेरैजसो खोपमा प्राय प्रारम्भिक शृङ्खला र बुस्टर हुन्छ । प्रारम्भिक शृङ्खला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी खोपको डोज भन्ने बुझिन्छ, यसले व्यक्तिलाई ब्याक्टेरियल वा भाइरल सङ्क्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । यस अवस्थालाई हामी ‘पूर्ण खोप लगाएको’ अवस्था भन्छौँ । 

यसरी प्रारम्भिक रूपमा पूर्ण खोप लगाइसकेका व्यक्तिहरूले थप खोप लगाउने प्रक्रिया बुस्टर डोज हो । 

बुस्टर अस्वाभाविक होइन । उदाहरणका लागि, दादुराको खोप झन्डै १ वर्षका शिशुहरूलाई एकै डोज दिइन्छ । यो प्रारम्भिक डोज हो । एकै डोज निकै प्रभावकारी थियो, त्यसैले हामीले अर्को डोज दिनु आवश्यक थिएन । तर, १९८९ मा अमेरिकामा स्कुले बालबालिकाहरूमा दादुराको ठूलो सङ्क्रमण फैलियो । र, यसले महामारीको रूप लियो । केही बालबालिकालाई पहिलो डोजले प्रतिक्रिया देखाएको रहेनछ भन्ने महसुस यतिबेला भयो । यहीकारण, अहिले ४ देखि ६ वर्षको उमेरका बालबालिकाहरूलाई दोस्रो डोज लगाउन सल्लाह दिइन्छ । 

ब्याक्टेरियल संक्रमणहरुविरुद्ध प्रतिरोध क्षमता कायम राख्नु सामान्यतः कठिन नै हुन्छ । त्यही कारण ब्याक्टेरियाविरुद्ध सामान्यतः प्रारम्भिक चरणमा खोपका धेरै डोज आवश्यक हुन्छ । उदाहरणका लागि, लहरे खोकीका लागि वर्षौँसम्म प्रारम्भिक शृङ्खला अन्तर्गत पाँच डोज खोप लगाउनुपर्छ । र, ११–१२ वर्षको उमेरमा बुस्टर डोज लगाइन्छ । 

कोभिडका सवालमा फाइजर र मोर्डनाका खोपहरू अहिले दुई डोज लगाइन्छ । यता, जोन्सन एन्ड जोन्सन खोप भने केवल एक डोज लगाए पुग्छ । त्यसैगरी कोभिशिल्ड, भेरोसेललगायत खोपहरू पनि दुई डोज लगाइन्छ । अहिलेको आपत्कालीन अवस्थामा प्रतिरोध क्षमता कमजोर भएका मानिसहरूलाई फाइजरको तेस्रो डोज पनि दिन सकिन्छ । 

कोभिडको बुस्टर सटबारे निर्णय लिन यति लामो समय किन लागिरहेको छ ?

सामान्य अवस्थामा खोपको सुरक्षा कुन अवधिसम्म रहन्छ र बुस्टर सट दिने उत्तम समय कुन हो भनेर निर्धारण गर्नका लागि औषधी कम्पनीले खोप लगाएका व्यक्तिहरूमा वर्षौँसम्म अध्ययन गर्छ । तर, आपत्कालीन अवस्था भएकाले वर्षौँसम्म अध्ययन गर्ने समय थिएन, चाँडै नै खोप ल्याउन आवश्यक थियो । र, खोप आयो पनि । अर्थात्, अहिले महामारी चलिरहेकै समय खोप आएको छ र खोपबारे अध्ययन पनि भइरहेको छ । अर्को शब्दमा भन्नुपर्दा, ‘हामी प्लेन बनाइरहेका छौँ, यसैमा उडिरहेका पनि छौँ ।’

मानिसको शरीरमा समयअनुसार एन्टीबडीको स्तर कस्तो छ भनेर अध्ययन गर्न अहिले सम्भव छ । यदि, एन्टीबडीको स्तर खस्केको छ भने यसले बुस्टर सट आवश्यक परेको सङ्केत गर्नसक्छ । तर, यो सरल छैन । एन्टीबडी केवल यो विषयको एउटा पाटोमात्रै हो । मानव शरीरसँग भाइरससँग लड्ने अन्य बाटाहरु पनि छन् । जसलाई मापन गर्न कठिन छ । 

रोगबाट जोगाउनका लागि एन्टीबडीको कुन स्तर आवश्यक पर्छ भन्नेबारे पनि हामीलाई थाहा छैन । र, एन्टीबडीको स्तरलाई कहाँ पु–याउनका लागि हामीले प्रयास गर्ने भन्ने पनि थाहा छैन । 

खोपले कसरी काम गर्छ भन्नेबारे अध्ययन गर्ने राम्रो उपाय ‘वास्तविक विश्व’ को तथ्याङ्क हेर्ने हो, समयसँगै कति व्यक्ति सङ्क्रमित भए र बिरामी भए भनेर हेर्ने हो । 

अहिलेसम्म के थाहा भएको छ ?

जब कोभिड खोपहरू पहिलोपटक बाहिर आए , तब सुरुवाती तथ्याङ्कले देखाएअनुसार गम्भीर रोग र मृत्युबाट जोगाउनका लागि यी खोपहरू ९० प्रतिशत प्रभावकारी थिए । तर, कति समयसम्म खोपले हामीलाई सुरक्षा दिन्छ भन्ने विषयमा केही थाहा थिएन । 

कमजोर प्रतिरोध प्रणाली भएकाहरूमा खोपले राम्रोसँग प्रतिक्रिया देखाउँदैन भन्ने सुरुवाती चिन्ता पनि थियो । नतिजा, अहिले यस्ता व्यक्तिहरूलाई दोस्रो डोज लिएको कम्तीमा २८ दिनपछि तेस्रो डोज लिन सल्लाह दिइएको छ । कोभिड १९ विश्वभर फैलिरहने क्रम निरन्तर छ र अहिले उच्च सङ्क्रामक डेल्टा भेरियन्ट डढेलो जसरी फैलिरहेको छ । हामीले ‘ब्रेक थ्रु’ सङ्क्रमण अर्थात्, पूर्ण खोप लगाएका व्यक्तिहरू पनि सङ्क्रमित भइरहेको देखेका छौँ । 

सीडीसीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले देखाएअनुसार खोप लगाएका व्यक्तिमा पनि कोभिड सङ्क्रमण बढ्दो रूपमा छ । (अप्रिल ४– जुन १९ र जुन २०–जुलाई १७ को अध्ययन तथ्याङ्कअनुसार ।) तर, यही अवधिमा गम्भीर रोग र मृत्युविरुद्ध खोपले दिने सुरक्षा स्तर हल्का मात्र घटेको देखिन्छ । 

६५ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा भने सुरक्षा स्तर अन्यको दाँजोमा बढी घटेको छ । अमेरिकामा आईसीयूहरु भरिने क्रम जारी छ, विशेषगरी खोप नलगाएका मानिसहरू सङ्क्रमित भइरहेका छन् । 

सीडीसीको तथ्याङ्क जुलाई २०२१ सम्मको अध्ययनमा आधारित हो । त्यही कारण हामीले जे बुझ्न खोज्दैछौ, यो त्यसको पूर्ण तस्बिर नहुनसक्छ । इजरायलको पछिल्लो अध्ययनले  फाइजर खोपको दोस्रो डोज लगाएको ६ महिनापछि सङ्क्रमण र गम्भीर संक्रमणविरुद्ध सुरक्षा स्तर घट्दै गएको देखाएको छ । विशेषगरी ६० वर्षभन्दा माथिको जनसङ्ख्यामा यस्तो अवस्था छ ।  

बुस्टरबारे कसले निर्णय गर्छ ?

अमेरिकाको राष्ट्रपति कार्यालयले दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज दिने आफ्नो मनसाय पछिल्लो समय दर्साएको छ । तर, ह्वाइट हाउस होस् वा अन्य देशको नीति निर्माण गर्ने निकाय वा कुनै वैज्ञानिक अध्ययन नै किन नहोस् । कहिले बुस्टर डोज आवश्यक पर्छ भन्ने निर्धारण कसैले गर्न सकेको छैन । 

प्रक्रियाअनुसार, कम्पनी प्रडक्ट प्रायोजकले वास्तविक दुनियाँबाट तथ्याङ्क सङ्कलन गरेर यसलाई एफडीएमा पेश गर्नुपर्छ । जहाँ वैज्ञानिक र नियामकहरूले यसलाई स्वीकृति दिन्छन् । एफडीएका नियामक अधिकारीहरूले नै खोपले सुरक्षा र प्रभावकारिता देखाए– नदेखाएको विषय नियाल्दै बुस्टर डोज दिनका लागि अन्तिम निर्णय लिन्छन् । यो निकै योजनाबद्ध प्रक्रिया हो । र, यस्तो हुनु पनि पर्छ किनकि यसले मानिसहरूको स्वास्थ्यमा प्रभाव पार्छ । 

एफडीएको सल्लाहकार समिति यस प्रक्रियाको महत्त्वपूर्ण हिस्सा हो । १७ सेप्टेम्बरमा सल्लाहकार समितिले विभिन्न स्रोतका तथ्यहरूबारे विचार गरेको  थियो, जसमा फाइजर कम्पनीका तथ्याङ्कहरू पनि पर्छन् । कमिटीको प्रतिबद्धताले केही प्रश्नहरूको जवाफ दिएको हुनसक्छ, तर यहाँ अझै धेरै दुबिधा बाँकी हुन सक्छन् । 

सामान्य अवस्थाको दाँजोमा तीव्र ध्यानसहितको वैज्ञानिक बहस अहिले हामीले देखिरहेका छौँ किनकि जारी महामारीको सरोकार र चिन्ता पनि उच्च छ । यसका बाबजुद वैज्ञानिकहरूबीच असहमति सामान्य हो र यो वैज्ञानिक प्रक्रियाको स्वस्थ विषय पनि हो । 

के तपाईलाई बुस्टर आवश्यक पर्छ ?

त्यसो भए के तपाईंलाई बुस्टर आवश्यक पर्छ ? यदि तपाईंले कुनै भ–याङको कल्पना गर्नुहुन्छ भने सबैभन्दा माथिको सिँढीलाई गम्भीर सङ्क्रमणको उच्च जोखिम मान्नुस् ।  सोच्नुस्, हरेक सिँढी गम्भीर सङ्क्रमणका लागि एउटा जोखिम पक्ष हुन् । उदाहरणका लागि ६५ वर्षमाथिको उमेर एउटा सिँढी हुनसक्छ । 

प्रतिरोध प्रणाली कमजोर हुने रोग अर्को सिँढी हुनसक्छ । सङ्क्रमित व्यक्तिसँग अन्तक्रिया हुने खतरा रहेको जागिरमा तपाई हुनुहुन्छ भने यो अर्को सिँढी हुनसक्छ, उदाहरणका लागि : स्वास्थ्यकर्मी, नर्सिङ होमका कर्मचारी, शिक्षक आदी । 

अर्को जोखिम तपाई‌ंले दोस्रो डोज खोप लिएको लामो समय बित्नु पनि हुनसक्छ । तपाईंले यी सबै जोखिम पक्षहरूलाई जोड्नुहुन्छ र जति तपाईंले आफूलाई सिँढीको माथिल्लो भागमा उभिएको पाउनुहुन्छ, बुस्टर सट लिनु त्यति नै तपाईंका लागि व्यवहारिक र तर्कसङ्गत हुनेछ । 

मस्तिष्कमा याद राख्नुस् कि यदि तपाई पूर्ण रूपमा खोप लगाएको हुनुहुन्छ भने तपाईंको प्रतिरोधी प्रणाली एकै छिनमा बल्ने र छिनमै निभ्ने लाईट स्विचजस्तो होइन । 

यदि प्रतिरोध घट्दैछ भने पनि समयसँगै यो बिस्तारै कम हुँदै जाने हो । तीन वा ६ महिनामा कुन तथ्य देखिन्छ भनेर स्पष्ट थाहा पाउने ‘काँचको बल’ हामीसँग भएको भए राम्रो हुने थियो, तर हामीसँग त्यस्तो केही छैन । 

मानिसहरू चाँडै उत्तर चाहन्छन्, तर सामाजिक सञ्जालको गतिमा विज्ञान चलायमान हुँदैन । कहिल्यै हुनेवाला छैन र यो राम्रो कुरा हो । 

https://www.forbes.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप