शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा शल्यक्रिया गरेर ढाडबाट निकालियो ५ किलोको मासुको डल्लो

बिहीबार, ०७ असोज २०७८, ०९ : ०१
बिहीबार, ०७ असोज २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो ।

ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए । ‘उहाँको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासु पलाएको रहेछ, धेरै बर्षअघिदेखि ढाडमा ५ किलोको मासुको डल्लो बोकेर बसिरहनुभएको रहेछ,’ डा.भट्टराईले भने, ‘हामीले सर्जरी गरेर निकालेको छौ, अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौं ।’

डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर मासुको डल्लो निकालेको हो । बिरामीलाई अर्धबेहोस बनाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा नोबेलका एनएसथियोलोजिष्ट प्रा.डा.सीआर दासले सहयोग गरेका थिए । करिब १० बर्षअघि तामाङको गर्धनभन्दा मुनी ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रुपमा बढ्दै गएर ठूलो भएको हो । ढाडमा अस्वभाविक रुपमा मासुको डल्लो बढेपछि तामाङलाई हिँडडुल गर्न र सुत्न निकै समस्या हुने गरेको थियो । उनी बर्षौ अघिदेखि ५ किलोको मासुको डल्लो बोकेर बसिरहेका थिए ।

अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको पोको निकालिएपछि उनलाई सहज भएको छ । ‘सुरुमा सानो बिमिरो जस्तो निस्किएको थियो, पछि बढ्दै–बढ्दै गयो, सधै भारी बोकेर बासि रहनुपर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेशन गरेर फालेपछि ढुक्क भयो । १० बर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ ।’ यसअघि नोबेलमा इलामकी एक महिलाको पाठेघरबाट ६ किलोको ट्युमर निकालिएको थियो । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप