शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन : विप्लव

बुधबार, ०६ असोज २०७८, २० : ४०
बुधबार, ०६ असोज २०७८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन । बुधबार पोखरामा आयोजना गरिएको अखिल क्रान्तिकारीको २२ औँ अधिवेशनलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो पार्टी र तत्कालीन प्रधानमन्त्री केपी ओलीबीच भएको सहमति लामो समयसम्म सरकारले कार्यान्वयन नगरेकोमा रोष प्रकट गरे । उनले सम्झौता तत्कालै लागू नभए सरकारविरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए । 

तत्कालीन केपी ओलीको सरकारले गत फागुनमा विप्लवसँग ३ बुँदे सम्झौता गर्दै जेलमा रहेका कार्यकर्तालाई छुटाउने सरकारी प्रतिवद्धता जनाएको थियो । तर सहमति भएको झण्डै ८ महिना सम्म पनि सरकारले सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनले अझै पनि आफ्ना डेढ सय नेता कार्यकर्ता जेलमै रहेको बताए ।  

महासचिव चन्दले जनताको चाहना र अधिकार प्राप्तिका लागि जनमतसंग्रह नै अहिलेको उपयुक्त विकल्प भएको बताए । उनले कम्युनिष्टले दुई तिहाइको सरकार बनाउँदा समेत जनताको अपेक्षा अनुसार काम नगरी कुर्सीको लडाइमा अल्मलिएको आरोप लगाए ।

उनले प्रजातन्त्र आएपछि पुँजीवादी सत्ताले आमसर्वहारा जनताको अधिकार र मुक्तिका लागि बेवास्ता गरी आफ्नो स्वार्थ अनुरुपको शासनसत्ता चलाएको आरोप समेत लगाए ।  महासचिव विप्लवले अमेरिकी सहयोगमा सञ्चालनमा ल्याइने मिलिनियम च्यालेञ्ज(एमसीसी) राष्ट्रघाती भएको बताउँदै यसलाई नेपाल सरकारले स्वीकार गरे प्रतिरोध गर्ने चेतावनी दिए ।

उनले केही देशद्रोही नेताको स्वार्थमा एमसीसी ल्याउन खोजिएको समेत आरोप लगाए । ‘एमसीसी देशको हितमा छँदै छैन, केही स्वार्थी नेताको योजनाअनुसार देशलाई संकटका पार्न ल्याउन खोजिएको हो’ उनले भने, ‘यसलाई हाम्रो पाटीले कुनै पनि हालतमा स्वीकार्दैन, यदि जबरजस्त सहमति गरियो भने प्रतिरोध गछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप