मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको सम्मेलन पोखरामा सुरु

बुधबार, ०६ असोज २०७८, १९ : ०६
बुधबार, ०६ असोज २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । बुधवार पोखराको चिप्लेढुंगामा सडकमै सुरु भएको अखिलको सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् । 

स्थानीय व्यवसायी र सरोकारवालहरूले ट्राफिक व्यवस्थापनसँगै व्यवसाय चौपट भएको भन्दै विगतमा चर्को विरोध गर्दै आएका थिए । व्यवसायीको विरोधपछि सडक कब्जा गरेर आमसभा गर्न छाडिएकोमा बुधवार सर्वसाधारणलाई पैदल हिँड्न समेत रोक लगाएर सम्मेलनको आयोजना गरेको हो। चिप्लेढुङ्गा क्षेत्रमा सर्वसाधारणको आगमन र सवारी साधन चल्न समेत पूर्णरुपमा रोक लगाइएको थियो । 

सवारी साधनको आउजाउ रोक लगाउन अखिलका कार्यकर्ता सडकमा खटिएका थिए । कार्यकर्ताले अत्यावश्यक रूपमा प्रयोग हुने सवारी साधनलाई समेत रोक लगाएका थिए । दलहरूले पटक पटक सडक कब्जा गरी सभा गर्दा आफ्नो व्यापार, व्यवसाय धराशायी बनेको भन्दै व्यवसायीले विरोध गर्दै आएका छन् । उनीहरूले यसको विकल्प खोज्न राजनीति दललाई आग्रह गर्दै आएका छन् ।

सधैँ सडक कब्जा गरेर आमसभा गर्दा आफ्नो व्यवसाय नै चौपट भएको स्थानीय व्यवसायी राजेन्द्र थापाले बताए । ‘प्राय जस्तो विभिन्न राजनैतिक दलहरूले आयोजना गर्ने सभाले गरिखान समेत नपाइने भयो, पसल खोल्यो सभामा आएकाले लस्करै लागेर ढाकिदिन्छन्,’उनले भने,‘राजनैतिक दलले चोक चोकमा सवारी रोक्ने र सर्वसाधारणको आवतजावतमा समेत अवरोध गरेपछि पसल बन्द गरेर हिँड्नुपर्छ ।’ यस क्षेत्रमा आमसभा नगरी दिन व्यवसायी संघ, सरोकारवाला संस्था र व्यक्तिगत रूपमा समेत पटक पटक आग्रह गर्दा समेत दलहरूले बेवास्ता गरेको उनको भनाइ छ ।  

पोखराको मुख्य बजार मानिने चिप्लेढुङ्गाको सडकमा आयोजित सम्मेलनका कारण पोखरा क्षेत्रको ट्राफिक ब्यवस्थापन समेत अस्तब्यस्त बनेको थियो। बढ्दो सवारी चापका कारण साँघुरो बन्दै गएका यहाँका सडकहरू जताततै जाम नै,जाम भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप