बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षअघिको त्यो चर्चित अपहरण : यसरी समातिए डा. भक्तमान श्रेष्ठको अपहरणकारी

बुधबार, ०६ असोज २०७८, १८ : ५५
बुधबार, ०६ असोज २०७८

२०६७ साल जेठ ४ गते चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा.भक्तमान श्रेष्ठ अपहरणमा परे । करिब १५ जनाको समूहमा आएका अपहरणकारीले भरतपुर नगरपालिकाको हाकिम चोकबाट श्रेष्ठलाई अपहरण गरी १९ दिनसम्म बन्धक बनाएका थिए । पछि तत्कालीन समयमा १ करोड १० लाख मूल्य बराबरको ३ किलो ६ सय ग्राम सुन लिएर उनलाई रिहाइ गरिएको थियो ।

अपहरणका मुख्य योजनाकारका रूपमा रहेका नुवाकोटका भीमसेन पण्डित अझैसम्म फरार रहेका छन् । तर तिनै मुख्य योजनाकार भीमसेनका ठूलो बुवाको छोरा राजेन्द्र पण्डितलाई भने सीआईबी टोलीले मंगलबार नुवाकोटबाट पक्राउ गरेको छ । 

यस्तो थियो भक्तमान अपहरण प्रकरण

२०६७ साल जेठ ४ गते बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठ भरतपुरको हाकिमचोकबाट अपहरणमा परे । १२ देखि १५ जनाको समूहमा आएका अपहरणकारीले भक्तमानलाई अपहरण गरी धादिङ ल्याए । तर भक्तमानले प्रयोग गरेको कार भने पोखरा पुराएर बेवारिस अवस्थामा छाडियो । 

भक्तमान हराएको भोलिपल्ट मात्रै अपहरणकारी समूहले भक्तमानको परिवारसँग फिरौती रकम माग गर्‍यो । धेरै रकमबाट सुरु भएको फिरौती रकम अन्त्यमा १ करोड १० लाख रुपैयाँमा डिल मिल्यो । तर अपहरणकारीले नगद नभएर सुन लिने योजना बनाए । अनि तत्कालीन समयमा ३ किलो ६ सय ग्राम सुन लिएर अपहरणकारीले भक्तमानलाई धादिङ ल्याएर छाडिदिए । 

प्रहरी स्रोतका अनुसार भक्तमानलाई अपहरण गरिसकेपछि अपहरणकारीको समूहले उनको परिवारसँग सकुशल चाहिने भए फिरौती रकम दिन धम्की दिएको थियो । प्रहरीसम्म सूचना पुगेको भए पनि व्यक्तिको ज्यू ज्यान पहिलो प्राथमिकतामा रहेको भन्दै एकजना प्रहरी नायब निरीक्षकसहित भक्तमानको आफन्तले अपहरणकारी समूहका सदस्य रोहित पालिवाललाई ३ किलो ६ सय ग्राम सुन फिरौतीका रूपमा दिएका थिए । भारतको कानपुर पुगेर भक्तमानका आफन्त र प्रहरीका सईले अपहरणकारी समूहलाई उक्त परिमाणको सुन दिई सुन लिने व्यक्ति रोहित पालिवाल अग्रवाल रहेको पहिचान गरेको थियो । 

अपहरणपछि कहिले धादिङ, कहिले नुवाकोट र कहिले काठमाडौँको सामाखुसीसम्म ल्याएर भक्तमानलाई राखिएको थियो । फिरौती बराबरको सुन पाएपछि मात्रै अपहरणकारी समूहले भक्तमानलाई रिहा गरेका थिए । 

उक्त अपहरण काण्डको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनाको मुख्य योजनाकार नुवाकोट जिल्ला साबिकको चारघरे गाविस ३ मुलाबारीका भीमसेन पण्डित रहेका थिए । उनकै योजनामा उनकै समूहले भक्तमानको अपहरण गरी फिरौती रकम असुल गरेको थियो । अपहरणमा संलग्न धेरै व्यक्ति पक्राउ परिसकेको भए पनि मुख्य योजनाकार भीमसेन पण्डितसहित केही व्यक्ति भने फरार थिए । फरारकै सूचीमा रहेका भीमसेनका दाइ राजेन्द्र पण्डितलाई भने सीआईबीको टोलीले मंगलबार नुवाकोटबाट पक्राउ गरेको छ ।

यसरी पक्राउ परे पण्डित, यस्तो थियो भूमिका

घटनाको ११ वर्षपछि नुवाकोटबाट पक्राउ परेका राजेन्द्र पण्डित भक्तमानको अपहरणमा भीमसेनका सहयोगीका रूपमा खटिएका थिए । प्रहरी स्रोतका अनुसार राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डित भीमसेनका सवारी चालक थिए । भक्तमानको अपहरण प्रकरणमा कार चलाउने व्यक्ति तिनै राजेन्द्र पण्डित थिए र फिरौतीबापतको रकमको केही हिस्सा उनले पनि पाएका थिए । 

प्रहरीले उक्त अपहरण र फिरौती प्रकरणमा सुन लिने रोहित पालिवाल सहितका व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा चलाएको थियो । उनीहरूकै बयान अनुसार फिरौती बापतको रकम लिने र अपहरणमा सहयोग गर्नेमा भीमसेन पण्डितको दाइ नाता पर्ने राजेन्द्र पण्डित पनि सहभागी थिए । केही रकम उनले पनि पाएका थिए । 

आरोपी पक्राउ पर्न थालेपछि भागेर भारततिर

तर जब अपहरणमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थाले, राजेन्द्र पण्डित पनि भिनसेनसँगै भागेर भारतको विभिन्न स्थानमा पुगे । नेपालबाट भागेर भारत पुगेका राजेन्द्रले भारतको हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु, मण्डी, काँगडा आदि क्षेत्रमा बन्दै गरेको हाइड्रो कम्पनीको रोड कटिङको काम गरेका थिए । ती क्षेत्रहरूमा भीमसेनकै बुवा हेम बहादुर पण्डितले ठेक्का लिएको र सोही स्थानमा राजेन्द्रले सुपरभाइजरको रूपमा काम गरेका थिए ।

२०६७ सालदेखि नै राजेन्द्र भागेर भारत पुगी ७ वर्ष अर्थात् २०७४ सालसम्म हिमाञ्चलका विभिन्न स्थानमा काम गरी बसेका थिए । राजेन्द्रलाई हिमाञ्चलबाटै उठाउने योजना बनिरहँदा राजेन्द्र त्यहाँबाट पनि भागेका थिए । 

त्यसपछि उनी कहाँ पुगे भन्ने थाहा भएको थिएन । तर उनी त्यहाँबाट भागेर नेपाल आएको खुल्न आएको छ । हिमाञ्चालबाट भागेका पण्डित त्यसपछि नेपाल आइ लमजुङमा रहेको एक हाइड्रो कम्पनीमा लेबर इञ्चार्जको रूपमा काम गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार पण्डित लमजुङको हाइड्रोपावर कम्पनीमा काम गरिरहेका थिए । अचम्म त के भने सो हाइड्रोपावर कम्पनीमा राजेन्द्र अधिकारीकै नामबाट काम गरिरहेको भए पनि प्रहरीलाई त्यसबारे न कुनै सूचना आयो, न त प्रहरीले उनी नेपालमै होलान् भनेर अनुमान गर्न सक्यो । 

तर दशैंको मुखमै पण्डित गाउँमा आएको प्रहरीले सुइँको पायो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई कसैले सूचना दियो कि पण्डित घरमा आएको छ । सोही सूचनाकै आधारमा सीआईबीको टोली मंगलबार बिहानै पण्डितको गाउँमा पुग्यो । र, उनलाई पक्राउ गरी काठमाडौँ ल्यायो । 

जिल्लाबाट सफाइ, पुनरावेदनबाट दोषी ठहर

अपहरण गरिएको वा वारदात भएको जिल्ला चितवन जिल्ला अदालतमा सुरुमा पण्डितसहितका व्यक्तिमाथि अपहरण तथा शरीर बन्धकको मुद्दा दायर भयो । तर जिल्ला अदालतले केही व्यक्तिलाई दोषी ठहर गरे पनि प्रमाण नपुगेको भन्दै राजेन्द्र पण्डित लगायतका केही व्यक्तिलाई भने सफाइ दियो । 

तर जिल्ला अदालतको फैसला चित्त नबुझाएको सरकारी वकिल पुनरावेदनका लागि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलास पुग्यो । र, पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासले २०७० साल माघ २१ गते राजेन्द्र पण्डितलाई पनि दोषी ठहर गर्दै ९ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनायो ।

२०६७ सालदेखि नै फरार रहेका पण्डित त्यसपछि पनि नेपाल फर्किएनन् । भाइ भीमसेन पण्डित पनि त्यतिबेलासम्म भारतमै रहेका थिए र उतै बसिरहेका थिए । तर भीमसेन पण्डित त्यहाँबाट पनि भागेर युरोप पुगेपछि राजेन्द्र भने नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार मात्रै उनी सीआईबीको नियन्त्रणमा आइपुगेका हुन् । 

सीआईबीका प्रवक्ता श्याम कुमार महतोका अनुसार पण्डितलाई फैसला कार्यान्वयनका लागि असोज ६ गते बुधबार जिल्ला अदालत काठमाडौँमा बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप