बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारको बेथिति: कर्मचारी टाप ! सेवाग्राही मर्कामा (भिडियो)

बुधबार, ०६ असोज २०७८, १८ : ३४
बुधबार, ०६ असोज २०७८

समय: बुधबार बिहान साढे ११ बजे । स्थान: नेपालको सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयको भुइँतलामा अवस्थित सोधपुछ कक्ष अगाडिको प्रतीक्षालयमा केही कर्मचारी बसिरहेका थिए । उनीहरू काठमाडौँ बाहिरका जिल्लाबाट मन्त्रालयमा काम लिएर आएका थिए । त्यही समूहमा थिए– धनुषाबाट आएका चन्द्रेश्वर यादव ।

धनुषाको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएको बताउने उनले दुई दिनसम्म मन्त्रालयमा धाउँदा पनि आफ्नो काम नबनेको गुनासो गरे । कर्मचारी समायोजन भएको २ वर्ष पुगिसक्दा उनको समायोजन भएको रहेनछ । यसबारे आफूले काम गर्ने कार्यालयमा मन्त्रालयले पत्र नपठाएका कारण सिंहदरबार धाउनुपरेको यादवले रातोपाटीलाई बताए ।

पत्र लिनका लागि यादव मंगलबार मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा कर्मचारी नभएका कारण भोलिको निम्तो पाएपछि बुधबार बिहानै कार्यालय खुल्ने वित्तिकै पुगेका उनलाई फेरि अर्को आश्वासन दिइयो– दिउँसो दुई–तीन बजेसम्म पर्खनुस्, हामी पत्र खोज्ने प्रयास गर्छाैं।

सामान्य लेखपढ भएका यादवलाई अब कार्यालय सहयोगीका रूपमा काम गर्न मुख्यमन्त्रीको कार्यालयबाट समेत पत्र ल्याउन भनेकाले के गर्ने, कसो गर्ने भनेर आफू निकै तनावमा रहेको यादवले सुनाए ।

मन्त्रालयले समायोजनको चिठी नदिएकाले साउनदेखि तलब पनि नपाएकाले थप समस्या होला कि भनेर मन्त्रालय आउनुपरेको उनले बताए । कार्यालयमा बिना हाजिरी काम गरिरहेको र तलबसमेत नपाएकाले आफू निकै तनावग्रस्त भएको उनले रुँदै सुनाए । यस्तो हो भने राजीनामा दिने मानसिकतामा समेत पुगेको उनले दुखेसो गरे ।

उनीजस्तै विभिन्न जिल्लाबाट आएका अन्य कर्मचारीहरू पनि बुधबार आफ्नो काम गराउन मन्त्रालयका कर्मचारीहरूलाई पर्खेर बसेका थिए । ती कर्मचारीहरूसँग कुरा गर्न खोज्दा उनीहरूले मिडियामा बोलेपछि मन्त्रालयले आफ्नो काम नगरिदेला भन्ने डर लागेको बताए ।

मन्त्री नभएपछि मन्त्रालय कर्मचारीविहीन !

बुधबार बिहान साढे ११ बजे मन्त्रालयका अधिकांश कर्मचारी कक्ष खाली थिए । केही कर्मचारीहरू काममा व्यस्त देखिए पनि धेरैजसो कर्मचारीका कुर्सी खाली थिए भने केही कर्मचारीको कार्यकक्षको ढोका नै बन्द थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेको सुनौलो नेमप्लेट ढोकामाथि झुन्डिएको भए पनि मन्त्रीको कार्यकक्ष र सचिवालय सुनसान थियो । आफ्नो काम गराउन विभिन्न जिल्लाबाट आएका कर्मचारी मन्त्रालयमा यताउता घुमिरहेका थिए ।

मन्त्रालयमा कर्मचारी नभएको बारे जिज्ञासा राख्न खोज्दा मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीसमेत उनको कार्यकक्षमा भेटिएनन् । उनको कार्यकक्ष अगाडि सधैँ रहने कार्यालय सहयोगीसमेत थिएनन् । साथै अधिकारीलाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

किन यसरी सुनसान भयो मन्त्रालय भन्ने प्रश्नमा एक कर्मचारीले भने–‘मन्त्री ज्यू नभएपछि यस्तै हुन्छ मन्त्रालय ।’ गत असार २८ देखि अन्य केही मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रीविहीन बनेको छ ।

संघीय मामिला मन्त्रालय अगाडि दुई घरी केरा फलिरहेका छन् । केराका घरीले स्वागत गरी रहे पनि नयाँ मन्त्री कहिले आउने हुन् अत्तोपत्तो छैन ।

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप