बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेबिको इज ब्याक !

आगलागी भएको डेढ महिनामै नेबिकोले पुनः उत्पादन थाल्यो
बुधबार, ०६ असोज २०७८, १८ : ०६
बुधबार, ०६ असोज २०७८

आगलागी भएको डेढ महिनापछि नेबिको प्रालिले बालाजु औद्योगिक क्षेत्रको प्लान्टबाट बिस्कुट उत्पादन पुनः थालेको छ । उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो कम्पनीले उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत गरेर पुनः उत्पादन थालेको हो ।

उद्योगका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले आज (बुधबार) देखि उत्पादन सुरु गरेको जानकारी दिए । उनले आगलागी हुनुअघिकै क्षमतामा उत्पादन सुरु नभएपनि प्लान्ट सञ्चालनमा ल्याइसकेको बताए । आगलागी हुनुअघि उद्योगबाट दैनिक २० टनभन्दा बढी उत्पादन हुन्थ्यो । पुनः उत्पादन थालेपछि दैनिक १५ टन हाराहारीमा उत्पादन गर्ने र क्रमशः बढाइने कम्पनीले जनाएको छ । 

साउन महिनामा आगलागी हुँदा उद्योग भवनमा करिब ७० प्रतिशतसम्म क्षति भएको थियो । जसकारण उद्योग भवनभित्र उत्पादन मेसिनरीदेखि बिस्कुट प्याकेजिङ गर्नेसम्मका मेसिनरी सखाप भएका थिए ।

यसरी सम्भव बन्यो पुनः उत्पादन

२०७८ सालको साउन २३ गते बिहान २ बजेतिर उद्योगको भवनमा आगलागी भएको थियो । आगो निभाउन २४ गते दिउँसोसम्म अग्निनियन्त्रक र सुरक्षाकर्मीहरू खटिए । त्यसअवधिमा उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर करिब ध्वस्त नै बन्यो । 

उद्योग ध्वस्त प्रायः भएपछि पूर्ण क्षमतामा पुनः सञ्चालन गर्न कम्तिमा पनि ६ महिनादेखि बढीमा २ वर्षसम्म लाग्ने प्राविधिक विष्लेषण गरिएको थियो ।

तर, उद्योगले आफूसँग भएका सम्पूर्ण जनशक्तिलाई समूह–समूहमा बाँड्यो र छिटोभन्दा छिटो उद्योग सञ्चालनमा ल्याउने गरी काम अघि बढायो । उद्योगले बनाएको तीनवटा समूह तीनतर्फ बाँडियो । तत्काल एउटा टिम २०७४ सालदेखि सञ्चालनमा आएको भैरहवाको प्लान्टमा पठायो । उक्त टिमले दैनिक १६ घण्टा चलेको भैहरवाको प्लान्टलाई २४ घण्टा चल्ने बनायो । जसबाट बजारमा नेबिको बिस्कुट आपूर्ति भइरह्यो ।

यस्तै, एउटा टिम भारततर्फ हानियो । जसले आगलागी जलेका र बिग्रेका मेसिन बनाउन र नयाँ मेसिनको जोहोमा लागे । भारतबाट तीन महिनाभन्दा छिटो नआउने र मर्मत नहुने मेसिन अनुमानभन्दा अघि नै नेपाल आइपुग्यो । ‘उक्त टोली भारत नगएको भए उद्योगलाई चाहिने मेसिनरी यति छिट्टै ल्याउन सम्भव हुँदैनथ्यो,’ उद्योगका सीईओ भट्टराईले जानकारी दिए ।

यसैगरी, एउटा टिम आगलागी भएको भवन र संरचनाको पुनःनिर्माण गर्न रातदित खट्यो । जसले गर्दा डेढ महिनाभित्रै उद्योगले आफ्नो उत्पादन थाल्यो । आगालागी भएपछि प्लान्ट पुनःस्थापना गर्दा धेरै कर्मचारीहरूले १८ घन्टासम्म काम गरे । जसकारण प्लान्ट छिट पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्यो ।

सबै टोली असोज १ गतेदेखि नै उत्पादन थाल्न दृढ थियो । अन्ततः असोजको पहिलो साताभित्रै उत्पादन थाल्न उद्योग सफल भयो । 

‘ध्वस्त भएको उद्योग यसरी पुनः सञ्चालनमा ल्यायौँ’

नेबिको कम्पनीमा एक हजार कर्मचारी छन् । साउन २३ गते आगलागी भएपछि हामी सबै कर्मचारी कम्पनीको भविष्यलाई लिएर चिन्तित भयौँ । आगलागी भएको ४४ दिनभित्रै पुरानै स्थितिमा ल्याउन नसकेपनि पुनःसञ्चालनमा आएका छौँ । उत्पादन गर्नसक्ने स्थिति बनिसकेको छ ।

उद्योगमा आगलागी भएपछि कम्तिमा पनि ६ महिनासम्म उत्पादन थाल्न नसक्ने आँकलन थियो । त्यसलाई गलत साबित गर्दै डेढ महिनामै सञ्चालनमा ल्यायौँ ।

२०२१ सालमा स्थापना भएको नेबिको कम्पनी नेपालकै पहिलो बिस्कुट उद्योग हो । त्यतिखेर नेपालमा बिस्कुट खाने प्रचलन नै थिएन । यो कम्पनीले नै नेपालीलाई बिस्कुट खान सिकाएको हो । उद्योगले आफ्नो क्षमता विस्तार गरिह्यो ।

२०४९ सालपछि नेपालमा देखिएको राजनीतिक घटनाक्रमले नेबिकोलाई पनि समस्यामा पारेको थियो । 

राजनीतिक अस्थिरताको समयमा विभिन्न कारणले बन्द भएको मैदा मिललाई २०६९ सालदेखि पुनः सञ्चालनमा ल्याइयो । त्यसपछि नेबिकोले २०७३ सालमा कन्फ्लेक्नरी सेसन थप ग¥यो । उद्योग खोल्दा बिस्कुटमात्रै उत्पादन गरिन्थ्यो । त्यसपछि मैदा मिललाई सञ्चालनमा ल्याइयो । कन्प्लेक्स उत्पादन गर्न सक्षम भयौँ । २०७४ सालमा नेबिकोले उपत्यका बाहिरबाट आफ्नो उत्पादन सुरु ग¥यो ।

कमजोर व्यवस्थापनसहित चलिरहेको कम्पनीलाई टेकओभर गरेर भैरहवामा नेबिको प्लान्ट स्थापना भयो । ‘नेबिको भैरहवा’ नामको संस्था खोलियो । २०७६ सालमा उद्योगले बजारमा कुकिज पठायो ।

कुकिजको उत्पादन बजार पठाउँदा÷नपठाउँदै कोभिड–१९ महामारीको प्रभाव सुरु भइसकेको थियो । जसको परिणामस्वरूपः कम्पनीलाई नराम्रो आर्थिक प्रभाव प¥यो । कोरोना महामारी नियन्त्रण निम्ति गरिएको देशव्यापी लकडाउनका कारण उद्योगको प्लान्ट तीन महिनासम्म बन्द भयो । उद्योग चल्न थालेपछि ललिपपको ब्राण्ड उत्पादन २०७७ सालमा सुरु भयो ।

यो वर्ष थप तीन वटावस्तु बजारमा ल्याउन सफल भइएको छ । ओटस्, चोकोज र कन्फेक्नरी तीनवटा प्रडक्ट बजारमा ल्याइएको छ । यसरी आफ्नै गतिमा हिँडिरहेको उद्योग आगलागीका कारण डेढ महिना ब्रेक लगाउनुपरेको थियो ।

यसैगरी, उद्योगले बागमती प्रदेशको राजधानी हेटौँडामा समेत आफ्नो प्लान्ट स्थापना गर्दैछ । उद्योगले हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा भाडामा लिइसकेको छ । अहिले उद्योगका प्राविधिकहरू त्यही छन् । उद्योगले पुसमा सबै काम सकेर माघको १ गतेदेखि उत्पादन थाल्ने योजना बनाएको छ ।

उक्त प्लान्टले काठमाडौंको भन्दा दोब्बर क्षमतामा उत्पादन गर्छ । हेटौँडाको प्लान्ट अबको तीन÷चार महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ । यस्तै, अबको एक महिनाभित्र उद्योगले दाङमा पानी उद्योग सञ्चालनमा ल्याउने छ ।

उद्योग पुरानै अवस्थामा आउन भने थप केही समय लाग्छ । तर, अहिले हामीले उत्पादन थालिसकेका छौँँ । अबको एक महिनामा उद्योगले दाङबाट पानीको उत्पादन समेत थाल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप