बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शेरबहादुर देउवाले आफूखुसी मन्त्री छानेको भन्दै काँग्रेसको पौडेल पक्ष आक्रोशित, सिंहदरबारमा पदाधिकारी बैठक

बुधबार, ०६ असोज २०७८, १० : ००
बुधबार, ०६ असोज २०७८

काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै छलफल नै नगरी आफूखुसी मन्त्री छानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय नेताहरूले प्रधानमन्त्री देउवाको कार्यशैलीलाई लिएर आक्रोश पोखेका हुन् । साथै पौडेल पक्षका नेताहरूले देउवाको कार्यशैली र व्यवहारका बारेमा सिंहदरबारमा बस्ने पदाधिकारी बैठकमा कडा ढङ्गले प्रस्तुत हुने तयारी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हामीले सभापति तथा प्रधानमन्त्रीजीलाई पार्टीमा सहमति गरेर जानुस् भनेका थियौ, तर उहाँले कुनै समन्वय गर्नुभएको छैन । आफूखुसी मन्त्री छनोट गरिरहनुभएको छ’, बैठकमा सहभागी अर्का नेताले भने, ‘आफूलाई पुगेपछि मात्रै हामीसँग कुरा गर्ने नियत राखेको देखियो, यो हामीलाई मान्य छैन ।’

ती नेताले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा आफ्नो पक्षका नेताहरूको उपस्थिति हुने बारेमा समेत जोडदार ढङ्गले कुरा उठाउने तयारी भएको बताए । यसैबीच काँग्रेस पदाधिकारी बैठक काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार बैठक पौने चार बजेबाट सुरु भएको हो ।  उक्त बैठकमा काँग्रेसका तर्फबाट मन्त्री हुनेहरूको नाम टुङ्गो लगाउने बताइएको छ । काँग्रेसले अहिलेसम्म चारवटा मन्त्रालय पाइसकेको छ । गठबन्धनमा रहेका दलहरुबीच काँग्रेसले बढीमा सात मन्त्रालय पाउने बताइएपनि अहिलेसम्म देउवाले आफू पक्षीय नेतालाई मात्रै जिम्मेवारी दिएका छन् । यसबाट पौडेल र अर्का नेता कृष्ण सिटौलाले असन्तुष्टि जनाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप