बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामीण सडकमा पहिरोको सास्ती, मर्मतमै खर्च हुन्छ वर्षेनी लाखौँ बजेट

बुधबार, ०६ असोज २०७८, १३ : ४२
बुधबार, ०६ असोज २०७८

रुकुम पूर्वमा वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक मर्मतका लागि मात्रै बर्सेनि लाखौँ रकम खर्च हुने गरेको पनि समस्या जस्ताको तस्तै रहँदै आएको छ । जिल्लाका तीनवटै गाउँपालिका र सडक पूर्वाधार कार्यालयबाट बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडकहरू मर्मतका लागि लाखौँ रकम खर्च हुने गरेको हो ।
ग्रामीण सडकहरू ठाउँ ठाउँमा पहिरो खसेर हरेक बर्खाको समयमा अवरुद्ध हुने गर्छन् । प्रत्येक बर्खामा झन्डै चार महिना सबै सडक अवरुद्ध हुन्छन् । मापदण्ड पूरा नगरी, वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक निर्माण गर्दा गाउँ बस्तीमा पहिरोको जोखिम बढेको विज्ञहरु बताउँछन् । बर्खाभरि सडक अवरुद्ध हुँदा आवतजावत तथा सामान ढुवानीमा समस्या हुने गरेको छ ।

प्रत्येक वडामा सडक पुर्याउने योजनासहित जिल्लाका तीन वटै गाउँपालिकाले विभिन्न ठाउँमा सडक खनेका छन् । ती सडक बर्खाभरि अवरुद्ध हुने गर्छन् । मनसुन सकिनै लाग्दा अहिले तीन वटै गाउँपालिकाले वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडकहरु सुचारु गर्न थालेका छन् । मौसम सफा रहेको समयमा सडक मर्मतको काम हुने गर्दछ ।

जिभूमे गाउँपालिकाले अवरुद्ध भएका सडकहरू मर्मत सम्भार गर्न यस वर्षमात्रै २४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गत भदौ ३१ गते बसेको कार्यपालिका बैठकले केही सडक मर्मतका लागि लागत अनुमान तयार पारेको छ । अन्य सडकको पनि लागत अनुमान तयार गरी टेन्डर प्रक्रियामार्फत मर्मतको काम गरिने गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकाले मात्रै चालु आर्थिक वर्षमा ग्रामीण सडक मर्मतका लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । गाउँपालिकामा अहिले ग्रामीण सडक मर्मतको कार्य चलिरहेको उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । उनका अनुसार केही सडक सुचारु भइसकेका छन् ।

सिस्ने गाउँपालिकाले पनि सडक मर्मतकै लागि भनेर १० लाख रुपैयाँ बजेट छुट्याएको छ । प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले अवरुद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याउन बजेट बिनियोजन गरिएको जानकारी दिए ।

मौसमले साथ दिएमा जिल्लाका प्रायः सबै सडक दसैँतिहार भन्दा अघि नै सञ्चालनमा ल्याउने तीन वटै स्थानीय तहले जनाएका छन् । सडक पूर्वाधार कार्यालय रुकुम पूर्वले पनि १० लाख बजेट छुट्याएको छ । सडक मर्मतका लागि प्रदेशबाट यस वर्ष १० लाख बजेट प्राप्त भएको र मौसम अनुकुल हुने बित्तिकै पहिरो पन्छाएर सञ्चालनमा ल्याउने कार्यालय प्रमुख गोविन्द महतारा क्षेत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप