वैदिक परम्परामा पितृपक्ष र सोह्र श्राद्ध

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline0

देवयोनि र पितृयोनि एउटा यस्तो योनि हो; जसले टाढाबाट भनिएका कुरा सुन्ने, पूजा ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रशन्न हुन्छन् । देवता र पितृहरू सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार अन्न भए जस्तै पितृहरूको आहार भनेको अन्नको सारतत्त्व हो ।

जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोज्छन् त्यसैगरी मन्त्र, आहुति, द्रव्य पितृहरूले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगिरहेको हुन्छ । आफ्नो पितृहरूको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर गर्ने परिवारमा उनीहरूको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरू श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशीर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने कुरा उल्लेख गरेका छन् । श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागबाट भनिएको छ– श्राद्धभन्दा ठूलो अरू कुनै पनि कुराबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ ।

स्कन्दपुराणको नगरखण्डमा के बताइएको छ भने  श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरू व्यर्थ नजाने भएकाले श्राद्ध अवश्य गर्नुपर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुरा यति धेरै विस्तारमा बताइएको छ– श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं पूर्वजहरूको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो । शास्त्रमा भनिएको पनि छ–

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।

पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।।

शास्त्रअनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नुपर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र भाइको पनि अभाव भएमा जामाता (ज्वाइँ) पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ ।

मत्स्यपुराणका अनुसार श्राद्ध गर्नका लागि सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रिस, अपवित्रता र हतारलाई त्याग गरी शुद्धपवित्र भावनासहित गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । श्राद्धकर्ताले ताम्बुलभक्षण, तेलमालिस, उपवास तथा अन्यत्रबाट ल्याइएको अन्न पनि खान निषेध गरिएको छ ।

श्राद्धभोजन गर्ने व्यक्तिहरूले पनि २ पटक भोजन गर्नु नहुने र श्राद्धको दिन यात्राका लागि पनि वर्जित गरिएको छ । त्यसैगरी दान लिन, हवन गर्न, हिंसादि कर्ममा लिप्तता पनि शास्त्रनिषिद्ध गरिएका छ । श्राद्धमा प्रयोग गरिने अन्नको बारेमा पनि शास्त्रमा व्यापक रूपमा चर्चा गरिएको छ । श्राद्धको दिन कालो दाल, तिल, जौँ, सामा, चामल, दूध, मह, गहुँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरूको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ ।

उक्त पुराणअनुसार सात्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनुपर्ने कुरा बताइएको छ । भनिएको पनि छ– श्राद्धका अवसरमा कदम्ब, कबेडा, बेलपत्र, करवीर, रातो तथा कालो रङ्गका फूल एवं धेरै बस्ना आउने सबै फूलहरू श्राद्धमा वर्जित गरिएको छ ।

श्राद्धका लागि उपयुक्त मानिएको कमल, मालती, जुही, चम्पाका साथै बास्ना आउने सेता फूलहरू तथा तुलसी या भृङ्गराजको प्रयोग गर्न हुने बताइएको छ । श्राद्धचन्द्रिका नामक ग्रन्थमा केराको पातमा भोजन गर्न नहुने तर श्राद्ध बाहेकका अन्य क्रियाकलाप भने गर्न हुने कुरा उल्लेख गरिएको छ । श्राद्ध–भोजनका लागि पात्रको रूपमा सुन, चाँदी, काँस, तामा र पातलाई सर्वोपरि मानिएको छ । त्यसैगरी आसनका रूपमा रेसमी वस्त्र, ऊन, काठ, कुशको आसनलाई उत्तम मानिएको छ । निषिद्ध काठका रूपमा पलाँस, वर, पीपल, मौवा आदिको आसनमा बसेर भोजन गर्न नहुने कुरा बताइएको छ ।

वैदिक परम्पराअनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ । ती पिण्डदान, हवन, तर्पण, ब्राह्मण भोजन हुन् । यो नियमअनुसार सम्भव भएमा पिण्डदान र हवन गर्न सकिनेछ । यदि असम्भव अवस्थामा पिण्डदान पनि छाड्न सकिन्छ तर तर्पण र ब्राह्मण भोजन गराउनुपर्ने हुन्छ ।

तर्पण र ब्राह्मण भोजनलाई मुख्य अङ्ग मानिएको छ । पितृहरूको नाममा केही पनि गर्न नसक्नेले तिथि परेको दिनमा ब्राह्मणभोजन र दक्षिणादान मात्र गरे पनि पितृहरू तृप्त हुन्छन् भन्ने कुरा मार्कण्डेय पुराणमा बताइएको छ । कुनै पनि प्रकारको पितृकार्य नगर्नेहरूका लागि पितृहरूले लाचार भएर उक्त परिवारको रक्तपान गर्दछन् भन्ने कुरा पनि बताइएको छ ।

आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औँसीसम्म ब्रह्माण्डको ऊर्जा तथा त्यो ऊर्जासँग पितृहरूको प्राण पृथ्वीमा व्याप्त हुन्छ । पितृ पक्षमा पितृहरू श्राद्ध, तर्पण पाउने आशामा आफ्नो सम्बन्धित श्राद्धकर्ताको घरमा सूक्ष्म शरीरले घुमिरहन्छन् । तसर्थ १६ दिन, ११ दिन, ७ दिन, ५ दिन, ३ दिन अथवा १ दिन श्राद्ध तर्पण गर्ने विधान छ । शक्ति एवं परिस्थितिअनुसार १ दिन त अनिवार्य नै गर्नुपर्दछ । अन्यथा पितृहरू श्राद्धकर्ताको पुण्यहरण गरी दारुण नामको श्राप दिएर निरास हुँदै जान्छन् भन्ने कुरा निर्णयसिन्धुमा बताइएको छ ।

वृश्चिके मसतीक्रान्ते पितरौ देवतैः सह ।

निःश्वास्य प्रतिगच्छन्ति श्रापं दत्वा सुदारुणम् ।।

(ज्योतिषी तथा वास्तुशास्त्री रिजाल दक्षिण एसियाली ज्योतिष महासङ्घ, राष्ट्रिय समिति नेपालका सचिव हुन्)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।