बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२० वर्षीय कार्तिकको कमाल, रोमाञ्चक खेलमा पञ्जाब २ रनले पराजित

बुधबार, ०६ असोज २०७८, ०९ : १६
बुधबार, ०६ असोज २०७८

आईपीएल २०२१ को दोस्रो चरणको खेलमा मंगलबार राति राजस्थान र पञ्जाबबीच निकै रोमाञ्चक प्रतिस्पर्धा भएको छ । खेलको अन्तिम ओभरमा पञ्जाब किङ्ग्सलाई जीतका लागि ४ रनको आवश्यकता थियो । तर, टोलीले १ रन मात्र बनाउन सक्यो र खेल २ रनले हार्न पुग्यो । खेलमा २० वर्षीय युवा फास्ट बलर कार्तिक त्यागी हिरो बने । अन्तिम ओभर बलिङ गर्दै उनले राजस्थानलाई अविस्मरणीय जीत दिलाए ।

अन्तिम ओभरमा पञ्जाबलाई ४ रन आवश्यक रहेको बेला ऊसँग ८ विकेट बाँकी थियो । टिमका लागि एडेन मार्कराम र निकोलस पूरन ब्याटिङ गरिरहेका थिए । अन्तिम ओभर बलिङ गर्न आएका कार्तिकले पहिलो बलमा शून्य रन दिए, दोस्रोमा १ रन दिएका उनले तेस्रोमा पूरनलाई आउट गरे । चौथो बलमा पनि कसैले रन लिन सकेनन् । पाँचौ बलमा उनले दीपक हुड्डालाई शून्यमा आउट गरे भने अन्तिम बल पनि डट बल फ्याँक्दै राजस्थानलाई रोमाञ्चक जीत दिलाए ।

टस हारेर पहिलो ब्याटिङ गरेको राजस्थानले पञ्जाबलाई १८६ रनको लक्ष्य दिएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४९ तथा महिमाल लामरोरले ४३ रनको योगदान दिए । पञ्जाबका लागि अर्शदीप सिंहले ५ तथा मोहमद शमीले ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको पञ्जाबका लागि मयंक अग्रवालले ६७ तथा कप्तान केएल राहुलले ४९ रन बनाए । योसँगै राहुल आईपीएलमा सबैभन्दा चाँडो ३ हजार रन बनाउने दोस्रो तथा पहिलो भारतीय खेलाडी बनेका छन् । उनले ८० पारीमा यो रेकर्ड बनाएका हुन् । उनीअघि क्रिस गेलले ७५ पारीमा यो रेकर्ड पूरा गरेका छन् । तर, टोलीले ४ विकेटको क्षतिमा १८३ रन बनाउँदै खेल गुमाउन पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप