ad
सोह्र श्राद्ध

पुरोहित बाजे भन्छन्– बाहुनलाई सरकारले थितिमा राख्नुपर्छ

‘जजमानको झोलाका सबै पैसा लेऊ भन्ने ब्राह्मण पनि छन्’

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का



पुरोहित भीमप्रसाद पराजुली ७८ वर्षका भए । पहिलो लहरको कोरोनाकालमा उनी कर्मकाण्डका दैनिकजसो पशुपतिनाथ आउँथे र कर्मकाण्ड गर्थे । लकडाउनपछि उनी आक्कल–झुक्कलमात्रै पशुपति आउँछन् । सोह्र श्राद्ध सुरु भएकाले लामो अन्तरालमा सोमबार उनी पुनः पशुपतिमा झुल्किए ।


पशुपतिनाथ मन्दिर बाहिर यजमानहरुको कर्मकाण्ड र पूजापाठमा सहभागी हुने पुरोहितहरू प्रशस्तै देख्न सकिन्छ । उनीहरू बाटो छेउमा पलेँटी मारेर लस्करै बसेका हुन्छन् । भक्तजनहरूलाई टीका लगाइदिन्छन् र दक्षिणा थाप्ने गर्छन् । यसरी प्राप्त गर्ने दक्षिणा नै उनीहरूको जीविकोपार्जनको स्रोत हो ।



वृद्ध भत्ता खाने उमेरका भीमप्रसाद पराजुली पनि यही पुरोहित पेसामा संलग्न एक प्रतिनिधि पात्र हुन् । पशुपतिनाथ मन्दिर अगाडि सडकमा भेटिएका यिनै पात्रसँग मंगलबार सोह्र श्राद्ध सुरु भएको अवसर पारेर हामीले संक्षिप्त कुराकानी गरेका छौँ–   



अहिले कता बस्नुहुन्छ ?



०५३ सालदेखि म भक्तपुरस्थित धुन्चेपाखामा बस्दै आएको छु । मेरो स्थायी घर सिन्धुपाल्चोकको तत्कालीन मांखा गाविसमा पर्छ ।



किन पुर्खौली घर छाड्नुभयो त ?



बाँच्न पुगेकै थियो । तर, कता–कता के मिलेन । मन चञ्चल भयो । ५३ वर्षको उमेरमा यहाँ आएर १० पैसा जग्गामा घर बनाएँ, त्यसमध्ये पनि ५ पैसा अहिले बाटोले खाइदियो । अहिले त्यहाँ श्रीमती र छोरीसहित बस्दै आएको छु । मेरा ५ छोरीमध्ये सबैको बिहे भइसक्यो । त्यसमध्ये माइली छोरी अहिले हामी बाउआमाको सेवामा बसेकी छिन् ।

गाउँले जीवन र सहरको जीवनमा कस्तो अन्तर पाउनुभयो ?

अहिले सम्झँदा मनलाई भ्रान्तिमात्रै हुन्छ । गाउँमा प्रशस्त जमिन थियो । मैले असार महिनाभर खाडीचौर बजारमा धान–चामल बेच्थेँ । ८०–९० मुरी धान भित्र्याउँथे ।  अरू सबै काठमाडौँ गए, म किन नजाने भन्ने पनि भयो । अरूले घोडा चढेको देखेर मलाई धुरी चढ्न मन लाग्यो ।

०५३ सालअघि नै गाउँको धेरै जग्गा बेचिसकेको थिएँ । यहाँ आइसकेपछि पनि खाडीचौर बजारमा अलिकति खेत बाँकी थियो, त्यो पनि बेचे । जमिन प्रशस्त भए पनि काम गर्ने मानिस पाउन गाह्रो थियो । ज्याला महँगो हुँदै थियो, मोहियानी लाग्ने अवस्था थियो । फर्केर हेर्दा, सङ्कटको समय मैले धैर्यधारण गर्नुपर्ने थियो भन्ने लाग्छ । गाउँ छाडेर आउनुहुँदैन थियो भन्ने लाग्छ । जननी जन्मभूमिश्च ... भन्छन् नि । तर, फेरि एकदिन सबै छाडेर जानुपर्ने भएकाले कर्मले नै डोर्‍याउँछ भन्ने पनि लाग्छ ।

यो पेसा कहिलेदेखि गर्नुभएको ?

मैले सानैमा रुद्री, सत्यनारायणको पूजा, विवाह आदि कर्मकाण्डबारे पढेको थिएँ । त्यतिबेला गाउँमा पाठशाला थिएनन् । तर, मेरा बुबाले हामी चार भाइ छोराहरू र अन्यलाई समेत पढाउनका लागि गुरुलाई घरमै ल्याएर तलब दिएर राख्नुभएको थियो ।

मैले कर्मकाण्ड र शास्त्रहरूबारे पढे पनि गाउँमा हुँदा जजमानी पेसा गरिनँ । यहाँ आएपछि एकजना पण्डितले यो पेसा राम्रो चल्छ, तपाईका बच्चाहरुलाई र तपाईलाई खाने–लाउने राम्रो व्यवस्था हुन्छ भन्नुभयो । भगवान्ले दिन्छन्, तपाई पढेको मान्छे, तपाईसँग विवेक र ज्ञान पनि रहेछ, यही पेसा अङ्गाल्नुस् भन्नुभयो । त्यसपछि म पशुपतिमा आएर बस्न थालेको हुँ । बुढेसकालमा गर्जो टार्नुपर्ने भएपछि यस पेसामा लागेको भन्नुपर्ला ।

कत्तिको व्यस्त हुनुहुन्छ त ?

मेरा त्यस्ता निश्चित जजमान छैनन् । कसैले पुरेत पाएनन् भने मलाई बोलाउँछन् । कोरोनाकालअघि दैनिकरुपमा यहाँ बस्थेँ । लकडाउनपछि यहाँ नआएको धेरै समय भयो । अहिले सोह्र श्राद्ध भएकाले फेरि फर्किएको हुँ ।

राति १ बजे भक्तपुरबाट हिँडेर आएको हुँ । सायद, मेरो कर्ममै मर्ने बेलामा आस गरेर खानु भनेर लेखिएको छ होला । त्यही भएर बुढेसकालमा जजमानी पेसामा लाग्न लेखिएको रहेछ । 

यस पेशाबारे तपाईको दृष्टिकोण के छ ?

भगवान्को सृष्टि त एउटै हो । पशुपन्छी, सबै मानिस एउटै हुन् । ब्राह्मणलाई परापूर्वकालदेखि मान्नुको कारण उनीहरूको सत्कर्म हो । भगवान् रामचन्द्रले पनि वाल्मीकि ऋषिको गोडा ढोगेर पानी खाए । सीताले करुवा धोएर पानी हालिदिइन् । वाल्मीकिले लव–कुशलाई देखाएर यी छोरा कसका भनेर सोध्दा रामचन्द्रले मेरो होइन भने । सीताले औँठी देखाइन् । त्यसपछि मेरो गल्ती भो ऋषिजी भनेर भगवान्जस्तो सृष्टिकर्ताले पनि ऋषिको गोडा ढोगेर पानी खाए । यसरी ऋषि भनेको ठूलो हो ।

तर, पछिल्लो समयमा ब्राह्मणले कर्म गर्न छाडे । त्यही कारण तल परे । तर, अहिलेको अवस्थामा जजमान पेसा उत्तम  होइन । शास्त्रले त यथासक्दो ब्राह्मणलाई खुसी गराउनू भनेको छ । तर, ब्राह्मणलाई १० हजार दिँदा अर्कोले ५ हजार खोज्ला । जजमानले आफ्नो खुसी र श्रद्धाले दियो भने त्यो अमृत भयो । उसले चित्त दुखाएर दियो भने त्यो बाहुनलाई पनि उचित हुँदैन ।

अचेल ब्राह्मणले महँगो दक्षिणा माग्छन् भन्ने आरोप पनि कतिपयले लगाउँछन् नि ?

हुन त अहिलेको जमानामा जजमानको झोलामा भएका सबै पैसा लेऊ भनेजस्तो गर्ने ब्राह्मण पनि छन् । कतिपय गैरब्राह्मणहरु पनि अहिले दोबाटोमा झोला बोकेर कमाउन बसेका छन् । कतिपयले त मलामी आएको मान्छेलाई पनि छाड्दैनन् । यो विकृति भयो । खासमा श्रद्धाले बोलाएपछि मात्रै ब्राह्मण जाने हो । मेरो बुझाइमा बाहुनलाई पनि सरकारले थितिमा राख्नुपर्छ ।

यहाँ राम्रो भावनाले पितृ सम्झेर जति दिन्छन्, त्यति नै थाप्छौँ भन्नेहरू पनि छन् । म पनि पितृलाई सम्झेर आफ्नो गच्छेले सक्नेमात्र दिनुस् भन्छु । ब्राह्मणको रेट हुँदैन ।

एउटा मिस्त्रीले अहिले कति तलब खान्छ ? कति ज्याला लिन्छ ? आफ्नो खुसीले ब्राह्मणलाई दक्षिणा दिनेले पनि त्यहीअनुसार हेरेर, बुझेर, आफ्नो आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर दिनुपर्छ । कोही ब्राह्मण त ठग्न आउने पनि छन् । यहाँ ५ वटा घर हुनेले पनि केही छैन भनेजस्तो गर्छन् । श्राद्ध गर्न आउँछन्, सिदा र दक्षिणमा ठूलो भाग खोज्छन् । यस्तैकारण विकृतिहरु देखिएको हो ।

स्रोह श्राद्धको महत्त्व के छ ?

कुण्डलीको पितृदोष टाढा गर्नका लागि पितृ पक्षको समय सबैभन्दा राम्रो मानिन्छ । पितृको सम्झनामा यति धेरै मानिस आइरहेका छन् र श्राद्ध गरिरहेका छन् । यो हाम्रो वैदिक परम्पराअनुसार गरिरहेका छन् । पितृदेवले आफ्ना छोरा–नातिबाट केही तर्पण–पिण्ड, पानी पाउन भनेर हाम्रो वैदिक शास्त्रमा लेखिएको छ ।  त्यसकारण हामी पितृ पक्ष अर्थात् स्रोह श्राद्ध मनाउँछौँ । यसपछि दसैँ आउने हुनाले पितृलाई पनि दसैँका रूपमा केही जलपान दिनुपर्छ भन्ने शास्त्रमा उल्लेख छ ।

बाहुनले देश बिगारे भन्नेहरू पनि छन् ? यसमा तपाईको धारणा के छ ? र, अहिले तपाईलाई देशको कुन नेता मनपर्छ ?

क्षेत्री राजा हुनुपर्ने परम्परा भए पनि प्रजातन्त्र आएपछि बाहुन नेता भए । उनीहरू लगातार नेता हुने, तर राम्रो काम गर्न नसक्ने भएकाले ब्राह्मण शोषक हुन् भन्ने पर्न गयो ।

अहिलेको अवस्थामा मलाई केपी ओली मनपर्छ । किनकि, उनका पालामा वृद्धि भएको वृद्ध भत्ता मैले खाएको छु । केही गर्न नसक्नेलाई अहिले ४ हजार वृद्ध भत्ता मिलिरहेको छ, वृद्धवृद्धाको सम्मान हुनु पनि त ठूलो कुरा हो नि । औषधीमुलो र उपचारमा यसले पनि केही न केही गर्छ । नत्र, यहाँ धेरैले त लुट्ने र डकैती गर्ने मात्रै गरे । देशको चिन्ता गरेनन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।