शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : संवैधानिक परिषद्सम्बन्धी मुद्दामा अर्को ट्विस्ट, बल्ल नयाँ मन्त्री थपिँदै (भिडियोसहित)

मङ्गलबार, ०५ असोज २०७८, २१ : ५८
मङ्गलबार, ०५ असोज २०७८

आज २०७८ असोज ५ गते मंगल । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
 

राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने

सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

पदक वितरणप्रति ओलीको कटाक्ष 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो विरोध नहोस् भनेर जथाभाबी पदक तथा विभूषण वितरण गरेको आरोप लगाएका छन् । मंगलबार श्वेतशार्दुल नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो सरकारले त्यसैगरी पदक वितरण गरेको भए खपिनसक्नु हुने टिप्पणी गरे । 

​ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता–कार्यकर्तालाई निर्देशन दिए । 

​​ओलीको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सक्कल फाइल झिकाउने आदेश जारी भएको छ । मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको हो । आदेशमा निर्वाचन आयोग, संघीय संसद् सचिवालय र लुम्बिनी प्रदेश सभाबाट सक्कल फाइल झिकाउन आदेश भएको हो ।

​नेकपा (एमाले)ले कारबाही गरेका लुम्बिनीका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए। खड्काको सपथ भोलि हुने भनिएको छ ।

कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 १ हजार ३३० जना संक्रमित थपिए

मंगलबार देशभर थप १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३६ र एन्टिजेन विधिबाट २९४ जनामा संक्रमण पुष्टि भएको हो । ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप