मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्ण डोज खोप नलाएकाहरू दसैँमा घर सरासर जान नपाउने

त्रिभुवन विमानस्थलमा ह्वात्तै बढ्यो यात्रु चाप
मङ्गलबार, ०५ असोज २०७८, १७ : ०७
मङ्गलबार, ०५ असोज २०७८

दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । वैदेशिक रोजगारी र शैक्षिक सिलसिलामा गएका तथा उतै स्थायी आवासीय सुविधा (पीआर) पाएका गैरआवासीय नेपालीहरू (एनआरएनए) हरू चाडपर्वको छेको पारेर नेपाल आउन थालेका हुन् । 

असोज लागेसँगै विदेशबाट आउने नेपालीहरूको सङ्ख्या निकै बढेको त्रिभुवन विमानस्थल, अध्यागमन विभागले जनाएको छ । अध्यागमनमा रेकर्ड भएको तथ्याङ्क अनुसार पछिल्ला चार दिन (असोज १ देखि ४ गते) भित्रै करिब १० हजार नेपालीहरू स्वदेश फर्किसकेका छन् । 

असोज १ गते २३ सय ९५ जना आगमन भएकोमा २ गते २४ सय ६८ जना, ३ गते २५ सय ६० जना र हिजो अर्थात् असोज ४ गते २७ सय २० जना नेपालीहरू हवाई मार्ग हुँदै स्वदेश फर्किएको विभागका प्रमुख सुनिल वैद्यले रातोपाटीलाई जानकारी दिए । 

गत महिनासम्म नेपाल भित्रिनेहरुको सङ्ख्या दैनिक सरदर १४–१५ सयको हारहारीमात्र थियो । दैनिक चार–पाँच हजारको सङ्ख्यामा नेपालीहरू बाहिरिइरहेका थिए । तर, दसैँ–तिहारजस्ता ठुला चाडपर्वहरू नजिकिएसँगै बाहिरिनेको सङ्ख्यामा कमी आएको र भित्रिनेहरूको सङ्ख्या बढेको वैद्यको भनाइ छ । 

‘केही दिनअघिसम्म स्वदेश भित्रिनेहरूको सङ्ख्या अत्यन्त न्यून थियो । दैनिकजसो चार–पाँच हजारको सङ्ख्यामा नेपालीहरू बाहिरिइरहँदा मुस्किलले दिनमा १२ देखि १५ सय नेपालीहरू मात्र स्वदेश भित्रिइरहेका थिए । तर, पछिल्ला दिनमा यस्तो सङ्ख्या विदेशिने भन्दा फर्कने (आगमन) हुने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । यो क्रम अझ बढ्नेछ,’ वैद्यले भने । 

चाडपर्वलाई नै लक्षित गर्दै नेपालीहरू धमाधम स्वदेश फर्किन थालेपछि हवाई कम्पनीहरूलाई पनि नेपाली अकुपेन्सी (यात्रुहरू) बोक्न भ्याइनभ्याई पर्न थालिसकेको छ । यसैलाई मध्यनजर गर्दै केही अन्तरराष्ट्रिय हवाई कम्पनीहरूले त आफ्नो हवाई उडान समेत बढाएका छन् । खाडी मुलुक साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) सँगै मलेसिया लगायतबाट नेपालमा दैनिक उडान भर्दै आएका कतार एयरवेज, एयर दुबई, एयर थाई र टर्किस् एयरलाइन्स लगायतले आफ्नो दैनिक उडान वृद्धि गरेका हुन् ।

यता नेपालको आफ्नै ध्वजावाहक ‘नेपाल एयरलाइन्स’ ले समेत उडान सङ्ख्या वृद्धिको योजना बनाइरहेको छ । चाडपर्व लागेसँगै नेपाली अकुपेन्सीमा झण्डै ४० प्रतिशतले वृद्धि भएको एयरलाइन्सहरूको भनाइ छ । 

अध्यागमन सुरक्षा व्यवस्था कडा

दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्वहरू मनाउन विदेशबाट ठुलो सङ्ख्यामा नेपालीहरू आउन थालेपछि अध्यागमन विभागले सुरक्षा व्यवस्था कडा पार्न थालेको छ । यात्रुको चाप, अध्यागमनको सुरक्षा र व्यवस्थाका लागि अध्यागमन तयार रहेको विभागका निर्देशक झंकनाथ ढकालले रातोपाटीसँग बताए । 

‘यात्रुको चाप बढेपनि अध्यागमनमा कुनै समस्या पर्न दिनेछैनौँ । पहिले दैनिक १६–१७ हजार यात्रु आउजाउ हुँदा त अध्यागमन विभागलाई चुस्त दुरूस्त राखियो, अहिले त्यस्तो अवस्था छैन । हामी यात्रुहरूको सहजताका लागि सहज व्यवस्था मिलाउँछौँ,’ ढकालले भने । 

यात्रुहरूकै सुरक्षा र अध्यागमन व्यवस्थापनका लागि सुरक्षा व्यवस्था भने कडा पारिने उनले बताए । यात्रुहरूको पार्सल, लगेज तथा कागजपत्र छिटोभन्दा छिटो सहज र सरल तरिकाले चेकजाँच व्यवस्था मिलाइने र पूर्ण सुरक्षा प्रत्याभूति दिलाइने उनले बताए । 

७२ घण्टाभित्र गरेको पीसीआर र खोपको पूर्ण डोज अनिवार्य

नेपाल आउने यात्रुहरूका लागि अध्यागमन विभागले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्ट र पूर्ण डोज खोप लगाएको प्रमाणपत्र अनिर्वाय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो व्यवस्था अनुसार स्वदेशी तथा विदेशी जोकोही आगन्तुकले नेपाल प्रवेश गर्न ७२ घण्टा भित्रको पीसीआर रिर्पोट र पूर्ण डोजको खोप लगाएको प्रमाण ल्याउनुपर्ने अध्यागमन सहायता कक्ष (हेल्प डेस्क) का संयोजक गोपालप्रसाद पाण्डेले रातोपाटीसँग बताए । अन्यथा आगन्तुकले १० दिनसम्म होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने उनको भनाइ छ । 

‘स्वास्थ्य सुरक्षा तथा सुव्यवस्थाको मामलामा त्रिभुवन विमानस्थल अध्यागमन हेल्थ डेक्स कटिबद्ध छ । पूर्ण चेकजाँच विना एकजना पनि छिर्न पाउँदैनन्, सक्दैनन् । स्वास्थ्य सुरक्षालाई नै ध्यानमा राख्दै हामीले पछिल्लो पटक सरकारले जारी गरेको मापदण्ड अनिवार्य कार्यान्वयनमा ल्याएका छौँ । जो नेपाल आउन चाहन्छ ः उसले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्टका साथमा पूर्ण भ्याक्सिनेटको प्रमाण पेस गर्नुपर्छ । अन्यथा ः नियमअनुसार नै हामी जो कोही आगन्तुकलाई १० दिन बस्नुपर्ने गरी होटल क्वारेन्टिमा पठाउँछौँ,’ पाण्डेले भने ।

स्वास्थ्य सुरक्षालाई नै मध्यनजर गर्दै सरकारले त्रिभुवन विमानस्थलको हेल्प डेक्समा पाण्डेको नेतृत्वमा ४० जना जनशक्ति खटाएको छ । अहिले अध्यागमन हेल्प डेक्सको सुव्यवस्था मौजुदा जनशक्तिले भ्याइरहेको, तर दसैँ–तिहारमा हुने सम्भावित चापलाई धान्न नसके थप जनशक्ति माग गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप