अमेरिकामा कोरोना संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि : एकै हप्ता २ लाख २६ हजारमा संक्रमण पुष्टि
अमेरिकामा कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरीका कोरोना संक्रमितमध्ये लगभग २६ प्रतिशत संक्रमित बालबालिका रहेका छन् । द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले दिएको जानकारी अनुसार गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोनाद्वारा संक्रमित भएका छन् ।
महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो संक्रमण दर दोस्रो सर्वाधिक हो । यसको अघिल्लो साता २ लाख ४३ हजार ३ सय ७३ बालबालिका संक्रमित भएका थिए जुन हालसम्मकै सर्वाधिक हो । कोभिड–१९ को खोप लगाउन नपाएका बालबालिका विद्यालय फर्कन थालेपछि संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको हो ।
बालबालिकाको खोप हाल अनुसन्धानकै अवस्थामा छ । अहिलेसम्म १२ वर्ष वा सोभन्दा माथिकालाई खोप दिइँदै छ । स्वास्थ्य विज्ञ तथा अधिकारीले खोपको विकास नभएसम्म बालबालिकालाई सुरक्षित राख्नुपर्ने कुरामा जोड दिएका छन् । ‘गर्मी महिनामा बालबालिका संक्रमित हुने संख्यामा कमी देखिएको थियो तर हाल यसमा अत्यधिक वृद्धि देखिएको छ । पछिल्लो चार हप्तामा ९ लाख २५ हजार बालबालिका संक्रमित भइसकेका छन्,’ एएपीले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।
बालबालिका अझै पनि गम्भीर रुपमा बिरामी हुने सम्भावना न्यूनः
जुलाई महिनामा २२ –२९ बीचको एक हप्ताको तुलनामा सोमबार जारी गरिएको संक्रमितको संख्यामा २१५ प्रतिशतले वृद्धि भएको छ । त्यतिबेला ७१,७२६ बालबालिका संक्रमित भएका थिए । सेप्टेम्बर १६ सम्म ५५ लाख बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यद्यपि, वयस्कको तुलनामा बालबालिकामा कोभिडले गम्भीर खतरा भने निम्त्याएको छैन । उमेरको हिसाबले अस्पताल भर्ना हुनुपरेको जानकारी दिने राज्यमा कोभिड–१९ का कारण अस्पताल बस्नुपर्ने बिरामीमध्ये १.६ देखि ४.२ प्रतिशत बालबालिका रहेका छन् । यता उमेरको हिसाबले मृत्युको रिपोर्ट दिने राज्यमा बालबालिकाको मृत्युदर ०.२५ प्रतिशत रहेको छ । सात राज्यमा हालसम्म कोही बालबालिकाको मृत्यु भएको छैन ।
द यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार आइतबारसम्म कोभिड–१९ का कारण अमेरिकामा १८ वर्षभन्दा मुनीका ५४८ बालबालिकाको मृत्यु भएको छ ।
डिसेम्बरको अन्त्यतिर भ्याक्सिन तयार हुनसक्नेः
सीडीसीका निर्देशक डा. रचेल वालेन्स्कीले बालबालिकाका लागि यस वर्षको (डिसेम्बरको) अन्त्यसम्म खोप तयार गर्न विभिन्न संस्था लागीपरेको जानकारी दिए । फाइजरमा बोर्ड सदस्य तथा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनका पूर्व आयुक्त डा. स्कट गटलिबले अक्टोबरको अन्तिम वा नोभेम्बरको पहिलो सातासम्म बालबालिकाका लागि खोप उपलब्ध हुने जानकारी दिए ।
खोप उपलब्ध भएतापनि आफ्ना बालबालिकालाई खोप दिने वा नदिने भन्ने निर्णय पूर्ण रुपमा परिवारको हातमा भएको उनले बताए । अमेरिकाका ५४.७ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाभिने भए होन्डा–निशान
-
आइरा बनिन् ‘मिनी डान्सिङ स्टार’
-
हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू