शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१७ दिनसम्म पनि उठेन सीताको शव

सीआईबी टोली अनुसन्धानका लागि घटनास्थलमा
मङ्गलबार, ०५ असोज २०७८, १० : २३
मङ्गलबार, ०५ असोज २०७८



रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ ।

४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घर पक्षले सीताले आत्महत्या गरेको बताइरहँदा माइती पक्ष र स्थानीयवासीले उनको हत्या भएको भन्दै न्यायका लागि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए । उनीहरूले न्याय माग गर्दै सडकमा प्रदर्शनसमेत गरे ।

अहिले आन्दोलन रोकिए पनि उनीहरूले शव उठाउन दिएका छैनन् । मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको माइती पक्षको भनाइ छ ।

प्रहरीले सुरुमै सीताको मृत्युलाई आत्महत्या ठहर गरे पनि माइती पक्षले उनको हत्या भएको किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन । तर माइती पक्ष र छिमेकीले दिनहुँ जसो आन्दोलन गरेपछि मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो ।

प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान प्रभावित नहोस् भनेर आफूहरूले अहिले आन्दोलनलाई स्थगित गरेको स्थानीयवासी शान्ता बस्याल भट्टराईले रातोपाटीलाई बताइन् । अहिले शव उठाउँदा अनुसन्धान फितलो बनाउन सक्ने भएकाले आफूहरूले शव उठाउन नमानेको उनको भनाइ छ ।

पुनः पोष्टमार्टम गर्नु परेमा वा अन्य विधिका लागि पनि अझै शव चाहिन सक्ने भएकाले पनि शव नउठाएको माइती पक्षको भनाइ छ ।

सीआईबी टोली घटनास्थलमा

भदौ १९ गते सीताको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन मुद्दा अन्तर्गत प्रहरीले मृतकका श्रीमान् टीका पौड्याललाई पक्राउ गरेको थियो । लगत्तै प्रहरीले तिलोत्तमा–५ का वडा सदस्य एवं मृतकका जेठाजु हरि पौड्याल र उनकी दिदी (मृतककी आमाजू) विष्णुलाई पक्राउ गरेको छ । उनीहरू तीनै जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

माइती पक्षले सीताको हत्या नै भएको भन्दै लगातार आन्दोलन गर्दै आएपछि भने जिल्ला प्रहरी कार्यालयले तीनै जनाविरुद्ध  किटानी जाहेरी लिएको थियो । प्रहरीले घटनाको १० दिनपछि मात्र किटानी जाहेरी लिएको हो ।

सीताको मृत्युका सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले प्रहरीले भिसेरा रिपोर्ट कुरेको छ ।

भिसेरा रिपोर्ट आउन कम्तीमा एक महिना लाग्ने प्रहरीको भनाइ छ । आफन्तहरूले माग गरेजस्तै ‘रि–पोष्टमार्टम’ नगरे पनि  भिसेरा रिपोर्ट आएपछि आत्महत्या नै हो या हत्या हो भन्नेबारे केही भन्न सकिने एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

उनले भने, ‘अहिले आत्महत्या नै भनिएको छ, यदि भिसेरा रिपोर्टमा थप नयाँ कुरा आएमा अनुसन्धान गर्न अलि सहज हुन्छ ।’

सो घटनाबारे अनुसन्धान गर्न सीआईबीको टोली रुपन्देही आएको छ । प्रहरी निरीक्षकको कमान्डमा आएको सो टोलीले घटनास्थल पुगेर विभिन्न पक्षका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरेको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले सीआईबीको टोली केही दिन रुपन्देहीमै बसेर अनुसन्धान गर्ने रातोपाटीलाई बताए । उनले भने, ‘यहाँको प्रहरीको टोलीले पनि अनुसन्धान जारी राखेको छ, सीआईबीको टोलीले पनि अनुसन्धान सुरु गरेको छ । छिटै एउटा रिजल्ट आउला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप