शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारी नियन्त्रणका लागि विश्व बैङ्कको थप सहयोग आवश्यक छ : अर्थमन्त्री शर्मा

सोमबार, ०४ असोज २०७८, १५ : ५४
सोमबार, ०४ असोज २०७८


 

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैङ्कबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैङ्कको प्रतिनिधि मण्डलसँगको भेटमा बैङ्कले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् ।

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैङ्कको सहयोग आवश्यक रहेको जिकिर गरे । ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैङ्कको थप सहयोग र सहकार्यको अपेक्षा छ’ उनले भने । नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैङ्कको सहयोग रहने विश्वास व्यक्त गरे । 

भेटका अवसरमा बैङ्कका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आउँदो विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे । भेटमा बैङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैङ्कको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे । 

उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैङ्कले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे ।

बैङ्कको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप