शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युत खपत बढाउन तत्काल प्रसारण क्षमता सुधारिने

सोमबार, ०४ असोज २०७८, १५ : ३५
सोमबार, ०४ असोज २०७८

नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउन निर्धाणाधीन प्रसारणलाइन र सबस्टेसन छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ । प्राधिकरणले विद्युतको खपत बढाउन ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन यस्ता आयोजनालाई अगाडी बढाएको हो ।

विद्युत खपत बढाउन योजनाबद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको प्राधिकरणको दाबी छ । प्राधिकरणले प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरुलाई मागेअनुसार विद्युत उपलब्ध गराउन सकेको छैन ।

जसकारण, उत्पादित विद्युत खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो । अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने योजना समेत अगाडी बढाइएको छ ।

उद्योगीहरुले मागेजति विद्युत नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौडा, सिमरा, विरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन् । त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन आयोजनाहरु निर्माणाधीन छन् ।

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखहरुसँग आयोजनास्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेका छन् ।
नवलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवलमा १३२÷३३ केभी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट  विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगहरुलाई विद्युत आपूर्तिका लागि बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२÷३३÷११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ का कारण चिनियाँ प्राविधिकहरू आउन नसक्दा सबस्टेसनको परीक्षण हुन सकेको छैन । सबस्टेसन सञ्चालनमा आएपछि थप ९० विद्युत आपूर्ति दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप