बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

मापसे चेकिङ र स्वास्थ्य मापदण्ड पालनामा कडाइ
सोमबार, ०४ असोज २०७८, १५ : ३२
सोमबार, ०४ असोज २०७८

नेपालीहरुको चाड, दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जनाइएको छ । 

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागी अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए । 

महाशाखाका अनुसार दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरुमा २४ सै घण्टा चेकजाँच हुने गरेको छ ।  
चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए । 

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । मुख्यत लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ । 

यसैबीच चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने योजना रहेको पनि महाशाखाको भनाइ छ । 

१४ स्थानमा यात्रु सहायता कक्ष
उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

आम सर्वसाधारण तथा यात्रुलाई पकेटमार तथा अन्य आपराधिक गतिबिधि र सुरक्षा सम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रु हरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ । 

यात्रुले स्पष्ट देखिने गरि टिकट काउन्टरमा अनिबार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने नियमिततालगायतका समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने पनि एसएसपी भट्टराईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप