शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुण एयरलाइन्सको उडान शुरु, यस्तो छ यात्रुहरुको प्रतिक्रिया

सोमबार, ०४ असोज २०७८, १४ : २६
सोमबार, ०४ असोज २०७८

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेटस्ट्रिम सहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । 

एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिस्पर्धा गर्नका लागि नआएको बताए । उनले एयरलाइन्सले कोरोना महामारीको समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेटस्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए । सीईओ श्रेष्ठले पुरानो ब्रान्डबाट चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए । उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेटस्ट्रिम पाँच वटा थप गरेर सात वटा विमान सञ्चालनमा ल्याएको बताए । उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताए ।

गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरुले एयरलाइन्सको सेवाहरु राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन् ।

गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन् । २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएर उडान शुरु गरेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप