शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : पश्चिम नवलपरासीमा कँडेल–खनाल समूहको गुटगत तथ्याङ्क

सोमबार, ०४ असोज २०७८, १० : ४५
सोमबार, ०४ असोज २०७८


वडा अधिवेशन सकिएर क्षेत्रीय प्रतिनिधि आएपछि नेपाली काँग्रेस पश्चिम नवलपरासीमा अधिवेशनको सरगर्मी बढेको छ ।  योसँगै जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह क्षेत्रीय प्रतिनिधिको हिसाब–किताबमा जुटेका छन् ।

देउवा समूहबाट केन्द्रीय सदस्य देवेन्द्र कँडेल र पौडेल समूहबाट संविधान सभा सदस्य विक्रम खनालले आन्तरिक रणनीति बुनिरहेका छन्। भदौ १८ भएको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको क्याल्कुलेशन भइरहेको छ । यसपटक पश्चिम नवलपरासीमा  केन्द्रीय सभापति देउवा पक्षको उपस्थिति कमजोर देखाएको छ । क्षेत्रीय प्रतिनिधिको तथ्याङ्कले देउवा गुट कमजोर देखाएको हो ।

देउवानिकट केन्द्रीय सदस्य कँडेल लामो समयदेखि जिल्लामा पकड जमाएर बसेका थिए  । तर यसपटक पौडेल समूहमा महामन्त्री शशांक कोइराला निकट खनाल बलियो देखिएका छन् । खनाललाई संविधानसभा सदस्य देवकरण जयसवाल साथ छ । असोज ९ गते हुने गाउँ/नगरको अधिवेशनमा दुवै पक्ष आफ्नो प्यानल जिताउन कार्यकर्ता रिझाउन व्यस्त देखिएका छन् । क्षेत्रीय प्रतिनिधि क्षेत्र/गाउँ/नगर/ जिल्ला अधिवेशनका मतदाता हुन्  । उनीहरूले नै महाधिवेशन प्रतिनिधि छनोट गर्ने गर्छन् ।

मतदाताको गुटगत तथ्याङ्क

निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार जिल्लाका ७ स्थानीय तहमा रहेका ७४ वडाबाट साढे १३ सय हाराहारीमा क्षेत्रीय प्रतिनिधि चयन भएर आएका छन् । १ वटा प्रतिनिधिसभा र ३ वटा प्रदेश सभा क्षेत्रमा खनाल गुट बलियो छ ।

पालिकातर्फ २ नगरपालिका र २ गाउँपालिकामा खनाल पक्ष बलियो देखिएको छ । कँडेल पक्ष १ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, १ प्रदेशसभा, १ नगरपालिका र १ गाउँपालिमा बलियो देखिएको छन् । १ वटा गाउँपालिकामा कडा प्रतिस्पर्धा छ ।

मतको आङ्कलन अनुसार खनाल समूह २ सय ३० भोटको हाराहारीमा कँडेल गुटभन्दा बलियो देखिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा २ सय ३० भोटको हाराहारीमा खनाल गुटअघि छ भने सोही निर्वाचन क्षेत्रको ‘क’ मा ६५ भोट र ‘ख’ मा १ सय ६० मतले खनाल समूहअघि देखिएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा १ सय १० मत ले उक्त समूहअघि देखिएको छ । नगरपालिकातर्फ सुनवलमा १ सय ५० र बर्दघाटमा ८० भोटको हाराहारीमा खनाल गुटअघि देखिएको छ । गाउँपालिकातर्फ सुस्तामा ५० र प्रतापपुरमा १ सय बढी मतको हाराहारीमा खनाल गुट अघि देखिएको आकलन गरिएको छ ।

त्यस्तै मतको आकलन अनुसार कँडेल गुट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ३० मतको हाराहारीमा अघि देखिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘ख’ मा १ सय ३५ मतको हाराहारीमा कँडेल समूहअघि देखिएको छ ।
रामग्राम नगरपालिकामा १ सय र पाल्हीनन्दन गाउँपालिकामा ६५ मतको हाराहारीमा कँडेल समूहअघि देखिएको छ । सरावल गाउँपालिकामा भने दुवै गुटको कडा प्रतिस्पर्धा रहेको क्षेत्रीय प्रतिनिधिहरूको भनाइ छ ।

चुनावी प्रतिस्पर्धामा गुटै बनाएर उत्रिएका दुवै पक्षले १/२ पालिका बाहेक सबैमा आफ्नो पकड बलियो रहेको दाबी गरेका छन् । यी गुटले केही पालिकाबाहेक सबैमा प्यानलै बनाएर उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । केहीमा भने बाँकी छ ।

जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल समूहले वर्तमान उपसभापति अर्जुन पोखरेललाई अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप