शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुमखोला–गोरखा जिपलाइन निर्माणको काम अन्तिम चरणमा

आइतबार, ०३ असोज २०७८, १६ : ०५
आइतबार, ०३ असोज २०७८

पृथ्वी राजमार्गको चुमखोला–गोरखा बट्टार जोड्ने जिपलाइन र स्काई साइक्लिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्रिशूली खोलामाथि बन्दै गरेको ५ सय मिटर लामो जिपलाइन र साइक्लिङ रुटको हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी ३० प्रतिशत काम पनि अब छिट्टै सक्ने रिभर फन बिच रिसोर्टले जनाएको हो ।

निर्माणाधीन जिपलाइन र साइक्लिङ छिटोभन्दा छिटो सक्ने र आउँदो डिसेम्बरसम्म सञ्चालनमा ल्याइ सकिने कम्पनीले जनाएको छ । विगत ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसायमा लोकप्रिय रहँदै आएको उक्त कम्पनीले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको अफ्नै रिसोर्टसम्म पुग्ने गरि जिपलाइन र साइक्लिङ रुट निर्माण गर्न लागेको हो । जिप लाइनको करिब ४ सय मिटर भाग त्रिशूली खोलामाथि पर्नेछ भने एकसय मिटर जमिनमा पर्नेछ । त्यसैले  जिपलाइनको सहासिक र रोमान्चकता बढ्ने रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए । 

‘चुमेखोला–गोरखा जिपलाइनको साहसिक र रोमान्चकता त छँदैछ थप अधिकांश भाग खोलामाथि पर्ने हुँदा यो जिपलाइन विश्वकै नमूना हुनेछ’ अधिकारीले बताए । १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट सुरु हुने जिपलाइन युरोपियन स्ट्यान्डर्डसहित भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भैरहेको अधिकारी जानकारी दिए ।

जिएल एयरक्राफ्ट रोप प्रयोग गरी बनाइएको उक्त जिप लाइनमा दुई समानान्तर रोप रहने र दुई व्यक्तिले एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीको भनाई छ । सोही प्रोजेक्ट अन्तर्गत त्रिशुली नदीमाथि ८५ मिटर स्काई रोप साइक्लिङ समेत निर्माण भैरहेको परियोजनाका डिजाइनर समेत रहेका सिभिल इन्जिनियर मुकेश अधिकारीले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रमा मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्कसमेत निर्माण भइरहेका छन् । 

जिप लाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ सञ्चालन गर्ने तयारी कम्पनीको रहेको छ । कफी बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्चालन गरिने बताइएको छ । अङ्ग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त प्रोजेक्ट सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप