बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘म यसकारण एकैपटक थुप्रै प्रेमी र पार्टनर चाहन्छु’

आइतबार, ०३ असोज २०७८, १५ : ०४
आइतबार, ०३ असोज २०७८

जीवनको आफ्नो सुरुवाती वर्षदेखि  नै मुवंबी नेडजालामा एक व्यक्तिसँगको वैवाहिक सम्बन्धमाथि प्रश्न उठाउँदै आएकी छिन् ।

उनी सधैं आफ्ना आमाबुवालाई ‘के तपाईंहरु अब जीवनभरी सधैं सँगै बस्नुहुन्छ ?’ भनेर सोध्थिन् ।

मुवुंबीले बीबीसीसँग भनिन्, ‘मलाई लाग्छ कि हाम्रो जीवनमा आउने मानिसहरु मौसम जस्तै फेरिइरहनुपर्छ । तर मेरा वरिवरिको दुनियाँका सबै स्थानमा, एकै व्यक्तिसँग सम्बन्ध राख्नुपर्ने कुरा सिकाइएको थियो  । सिनेमा र चर्चमा पनि यही कुरा भनिन्छ तर मैले यो कुरा कहिल्यै राम्रोसँग बुझ्न सकिनँ ।’

अब मुवुंबी ३३ वर्ष पुगिसकेकी छिन् । उनी यस्ती महिलाको रुपमा परिचित छिन् जसको एकभन्दा बढी मानिससँग सम्बन्ध छ । उनले कुनै पनि सम्बन्धलाई बन्धन मान्दिनन् । यतिमात्रै होइन, उनी दक्षिण अफ्रिकामा यस्ता समुदायको हितको रक्षाका लागि आवाजसमेत उठाउने गर्छिन् ।

उनी भन्छिन्, ‘हाल मेरा एक मुख्य पार्टनर छन्, जोसँग मेरो इन्गेजमेन्ट भएको छ र हाम्रा सन्तान पनि छन् । मेरा अर्का पार्टनर हामी सबैका लागि निकै खुसी छन् । मेरा मुख्य पार्टनर विवाह गर्न चाहँदैनन् तर भविष्यमा म यस्तो विवाहको कल्पना गर्छु जसमा म एकसाथ एकभन्दा बढी व्यक्तिसँग विवाह गर्न सकूँ । म मानिसहरुप्रति आकर्षित हुन्छु, उनीहरुको चाहे जुनसुकै यौन अभिविन्यास होस् ।’

एक महिलाका एकभन्दा बढी श्रीमान् ?

दक्षिण अफ्रिकाको संविधान संसारभरीकै सबैभन्दा उदारवादी मानिन्छ । यहाँ समलिङ्गी विवाहका साथै पुरुषलाई थुप्रै श्रीमती राख्ने अनुमति छ ।

देशमा अब विवाह सम्बन्धि कानून परिमार्जन गर्न माग गरिँदैछ । यस्तोमा महिलालाई पनि एकै समयमा एकभन्दा बहुपतीको अनुमति पाइने सम्भावना छ । यसका लागि जोडतोडका साथ माग उठिरहेको छ ।

यद्यपि, देशभरी छरिएका पुरातनवादी समाजले भने यसको अत्यधिक आलोचना गरिरहेका छन् ।

चार श्रीमती राख्ने व्यापारी तथा टिभी व्यक्तित्व मुसा मस्लेकेऊले यसको विरोध गरेका छन् । उनी भन्छन्, ‘यस्तो भएको खण्डमा हाम्रो अफ्रिकी संस्कृतिलाई अत्यधिक हानी हुनेछ । उनीहरुको बालबच्चाको के होला ? उनीहरुले आफ्नो पहिचान के भनेर देलान् ? महिलाले पुरुषको स्थान ओगट्न सक्दैनन् । यस्तो कुरा पहिले सुनेकै थिएन । के महिलाले अब पुरुषलाई लोबोला (दुलहीलाई दिने रकम) दिनेछन् ? के पुरुषले अब श्रीमतीको थर राख्लान् ?’

यस्तै, विपक्षी पार्टी अफ्रिकी क्रिश्चियन डेमोक्रेटिक पार्टी (एसीडीपी) का नेता रेवरेन्ड केनेथ मेशोएले यसले समाज नष्ट हुने बताउँछन् ।

मेशोए भन्छन्, ‘केही समयपछि एक पुरुषले ‘तिमी अरुसँग नै धेरै समय बिताउँछौ, मसँग कम बस्छौ’ भन्लान् । यस्तो भए दुई पुरुषबीच संघर्ष निम्तिनेछ ।’

मानिसहरुको डगमगाउँदो आस्थाः

मुबुंबीले बहुपत्नीको मार झेलिरहेका महिलाका लागि यो एक महत्वपूर्ण क्षण हुने बताउँछिन् ।

उनी भन्छिन्, ‘हालको स्थिति तनावपूर्ण छ । धेरैजसो मानिसहरुको मान्यता डग्मगाउँदै छ । पुरुषले शताब्दियौं देखि खुल्ला रुपमा र खुसीखुसी बहुविवाह गरिरहेका छन् तर महिला भने यसका लागि लज्जित हुनुपर्छ । यस्ता धेरै कुरा छन् जसलाई मिलाउँदै लैजानुपर्छ ।’

मुवुंबी खुल्ला रुपमा पछिल्लो १० वर्षदेखि एकै पटक थुप्रै सम्बन्धमा रहँदै आएकी छिन् । यस्ता मानिसहरुलाई सामुदायिक रुपमा ‘पोली’ भनिन्छ । ‘पोली’ हुनुको सीधा अर्थ तपाईं एकभन्दा बढी सम्बन्धमा रहन सक्नुहुन्छ र जतिपनि मानिसहरुसँग तपाईंको सम्बन्ध हुन्छ , ती सबैको पूर्ण समर्थन र विश्वास हाँसिल पनि हुनुपर्छ ।

हालको समयमा मुवुंबीका दुई पार्टनर छन् – एक ‘एंकर पार्टनर’ जोसँग उनी धेरैजसो सम्पर्कमा हुन्छिन् । यस्ता पार्टनरले एक–अर्काको स्रोत साधन (सर–सामान) प्रयोग गर्ने गर्छन् । यस्तै उनका अर्का पनि पार्टनर छन् जोसँग उनको रोमान्टिक सम्बन्ध मात्रै छ । उनीहरु कमै भेट्छन् ।

उनले भनिन्, ‘हामीहरु टेबल पोलिमोरी शैलीको अभ्यास गरिरहेका छौं जसमा मानिसहरुलाई एक अर्काका पार्टनरबारे पनि थाहा हुन्छ । तर सबैजनाले एक–अर्कालाई भेटेकै हुनुपर्छ भन्ने पनि छैन तर मेरो विचारमा यत्तिको खुल्लापन त हुनैपर्छ । ट्राइब्स समाजमा यस्तो पाइन्छ । ’

मुवुंबीलाई यसबारे आफ्नो परिवारलाई बताउन सुरुमा हिच्किचाहट थियो । तर पाँच वर्ष अघि उनको एंकर साथी मजू म्यामेकेला न्हलाबत्सीसँग सम्बन्ध बलियो भएपछि उनले यसबारे सबैलाई जानकारी दिने निर्णय गरिन् ।

उनी भन्छिन्, ‘मेरा एंकर पार्टनर पनि पोली हुन् र उनी अन्य साथीसँग सार्वजनिक स्थानमा भएका बेला मेरो परिवारले अन्यथा नसोचून् भन्ने म चाहन्थेँ । ’

‘हाम्री छोरी पाँच वर्ष पुग्नै लागेकी थिइन् र म यो क्षेत्रमा सक्रिय पनि भइरहेकी थिएँ । म बहुविवाहका लागि प्रचार गर्दै स्थानीय टेलिभिजनमा आएँ । मेरो परिवारलाई यसबारे अन्य स्रोतबाट थाहा हुनुभन्दा अघि म नै यसबारे भन्न चाहन्थेँ ।’

मुवुंबीले आफ्नो परिवारबाट केही हदसम्म स्वीकृति पाइन् तर बाटो निकै लामो थियो ।

मुवुंबी हालै भएको आफ्नो इन्गेजमेन्ट स्मरण गर्दै उनका एंकर पार्टनरले लोबोला प्रथा निभाएको जानकारी दिइन् । यो प्रथा  अन्तर्गत एक पुरुषले आफ्नी भावी श्रीमतीको परिवारलाई विवाहका लागि भुक्तानी गर्छ ।

मुवुंबी भन्छिन्, ‘मेरो परिवारले अरु नै आएर लोबोला तिर्छ भने ‘हामीले त्यो लिने कि नलिने ?’ भनेर सोधे । त्यसपछि मैले उहाँहरुलाई ‘यस्तो हुने त सम्भावना छ’ भनेँ । मैले आफ्नो वास्तविकतालाई स्वीकार्न जरुरी थियो । भलै, यो उहाँहरुलाई राम्रो लागेको होस् वा नलागोस् ।’

पितृसत्तामाथि प्रश्नः

दक्षिण अफ्रिकामा लैङ्गिक समानताका लागि तथा महिलाले आफूलाई मनपरेको विकल्प छान्न सकून् भन्दै बहुपतिलाई बैध बनाउने अभियान चलिरहेको छ किनभने हालको व्यवस्थामा पुरुषलाई एकसाथ धेरै श्रीमती राख्ने अनुमति छ ।

उनको यो प्रस्तावलाई सन् १९९४ पछि पहिलो पटक विवाह सम्बन्धि कानून परिवर्तनका लागि सरकारले जारी गरेको दस्तावेजमा समावेश गरेको छ । यसमार्फत् मानिसहरुले आफ्नो धारणा व्यक्त गर्न पाउने अधिकार छ ।

दस्तावेजमा मुस्लिम, हिन्दु, यहूदी र रस्ताफेरियन विवाहलाई कानूनी मान्यता दिने प्रस्ताव छ । यसलाई  हाल मान्यता दिइँदैन ।

मुवुंबी भन्छिन्, ‘यो प्रस्ताव पारित भएको खण्डमा एक प्रार्थना स्वीकार गरेजस्तै हो  । बहुपतिबारे गरिएको आपत्तिको जड पितृसत्तामा निहित छ । ’

बहुपति प्रथाको विषयमा चर्चित प्राध्यापक कोलिस माचोकोले आफ्नो धारणा व्यक्त गर्दै भने, ‘ईसाई धर्म र उपनिवेशवाद आएपछि महिलाको भूमिका कम भयो । उनीहरु समान थिएनन् । विवाह पनि समाजमा पदको अनुक्रम स्थापित गर्नका लागि उपयोग गरिने उपकरणमध्ये एक बन्यो ।’

उनका अनुसार कुनै बेला केन्या, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र नाइजेरियामा बहुपतिको प्रचलन थियो र अहिले पनि गेबनमा प्रचलित । यहाँको कानूनले यसको अनुमति दिन्छ ।

उनले थपे, ‘धेरैले बच्चाको के होला भनेर प्रश्न उठाइरहेका छन् । बच्चाको प्रश्न सहज छ । ती सम्बन्धमा जति पनि बच्चा जन्मिएका छन्, उनीहरु त्यहि परिवारका बच्चा हुन्छन् ।’

 


 

‘यो भिन्न खालको लडाईं हो’

पछिल्लो सम्बन्धमा रहँदा मुवुंबीका केही पार्टनरले पितृसत्तालाई अनुसरण गर्ने गरेको तर पोलीमा विश्वास राख्नेहरुसँग सम्बन्धमा बस्दा उनलाई सहज भएको उनले बताइन् ।

‘जहाँसम्म मेरो प्रश्न छ । म धेरैभन्दा धेरै प्रेमी राख्ने कोसिस गरिरहेको छु भन्ने होइन । यो महसुस हुँदा कसैसँग ‘कनेक्सन’ खोज्नुजस्तो हो ।’

दक्षिण अफ्रिकामा पोली मानिसहरुसँग जोड्ने अनलाइन समुदायमा मुवुंबीको भेट आफ्ना दुई पार्टनरसँग भयो ।

आजकाल उनी देशमा चलिरहेको बहसका लागि आफ्नो पार्टनरसँग मिलेर ओपन लभ अफ्रिका नामबाट अनलाइन प्लेटफर्म बनाइरहेकी छिन् । मुवुम्बी भन्छिन्, ‘हाम्रो कोसिस एकै समयमा नैतिक रुपमा एकभन्दा बढी मानिसहरुसँग सम्बन्धको प्रचार गर्नु हो ।’

उनी थप्छिन्, ‘समुदायमा अश्वेतहरुको समर्थन बढी छ तर यो समावेशी छ र समयसँगै यो विस्तार हुनेछ । यो ती मानिसहरुका लागि उपहार हो जुन एकभन्दा बढी मानिसहरुसँग खुसीखुसी सम्बन्धमा छन् । उनीहरुले यहाँ आफूजस्तै मानिसहरु पाउनेछन् । उनीहरुलाई यसका लागि झुटो बोल्नै पर्दैन भन्ने महसुस हुन्छ ।’

मुवंबीका लागि यो अन्य लडाईं जस्तै छ । उनका अनुसार यहाँ यस्ता मानिसहरुका हुन्छन् जसले यसको विरोध गर्नेछन् ।

उनी भन्छिन्, ‘जब म आफ्नी आमाको गर्भमा थिएँ तब मेरी आमा विरोध प्रदर्शनमा सहभागि भएकी थिइन् ताकि महिलाले पुरुषको सहमतिबिना गर्भनिरोधक पाउन सकून् ।’

‘यो त्यतिबेला एउटा भिन्न लडाईं थियो र अब यो मेरा लागि भिन्न लडाईं छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप