मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आईपीएल फेरि सुरु, चेन्नई सुपर किंग्स् र मुम्बई इन्डियन्सबीच आज प्रतिस्पर्धा

आइतबार, ०३ असोज २०७८, १४ : ४८
आइतबार, ०३ असोज २०७८

कोरोना महामारीका कारण २ मेइमा इन्डियन प्रिमियर लिग (आईपीएल–२०२१) स्थगित भएको थियो । १ सय ४० दिनको ब्रेकपछि युएईमा यो प्रतियोगिता फेरि सुरु हुँदैछ । जसअन्तर्गत पहिलो खेलमा आज चेन्नई सुपर किङस् र मुम्बई इन्डियन्स दुबईमा भिड्दैछन् ।

यस खेल हेर्नका लागि रंगशाला जाने समर्थकहरुले अनिवार्य रुपमा दुई डोज खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दूरीको नियम पालना गर्नुपर्ने लगायत शर्त पालना गर्नुपर्नेछ । १२ वर्षभन्दा कम उमेरका बालबालिकाले भने खोप लगाएको प्रमाण देखाउनुपर्दैन ।

नेपाली समयअनुसार आइतबार राति ७ः४५ मा सुरु हुने यस खेलमा जित हासिल गर्ने दबाबमा दुबै टीम छन् । यदि, चेन्नई विजयी भएमा अंक तालिकामा उसले दिल्ली क्यापिटल्सलाई पछि पारेर पहिलो हुनेछ ।

अहिलेसम्म शीर्ष स्थानको दिल्लीको १२ र चेन्नईको १० अंक छ । चेन्नईको नेट रनरेट दिल्लीभन्दा राम्रो छ । यता, मुम्बई विजयी भएमा चौथो स्थानबाट तेस्रो स्थानमा उक्लनेछ । मुम्बईको अहिलेसम्म ८ अंक छ ।

पछिल्लो भिडन्तमा मुम्बई विजयी

आईपीएल २०२१ मा यी दुई टिमबीच भएको पछिल्लो भिडन्तमा मुम्बई इन्डियन्स ४ विकेटले विजयी भएको थियो । उक्त खेलमा चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । जवाफमा मुम्बईले ६ विकेट गुमाएर जीतको लक्ष्य हासिल गरेको थियो ।

मुम्बईले चेन्नईलाई पछिल्ला ९ म्याचमा ७ औं पटक हरायो । किरोन पोलार्डले उक्त खेलमा ३४ खेल सामना गर्दै ८७ रन बनाएका थिए । उनले केवल १७ बलमै अर्धशतक पूरा गरेका थिए ।

दुबईमा पछिल्लो खेल चेन्नईको पक्षमा

यी दुई टिमबीच दुबईमा पछिल्लोपटक आईपिएल २०२० अन्तर्गत प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा चेन्नईले ५ विकेटको जित निकालेको थियो । यद्यपी, मुम्बईको टिमलाई यस हारले उक्त संस्करणको उपाधि जित्नबाट भने रोकेन ।

आजको खेलमा चेन्नईका दुई महत्त्वपूर्ण विदेशी खेलाडी साम करन र फाप डु प्लेसीस भने उपस्थित हुने छैनन् । करन १५ सेप्टेम्बरमा युएई पुगेका थिए र अहिले उनीहरु क्वारेन्टाइनमा छन् । त्यसैगरी फाप डु प्लेसिस पूर्ण फिट छैनन् । वेस्ट इन्डिजका अलराउन्डर ड्वायेन ब्राभो बलिङका लागि पूर्ण फिट नभएको बताइएको छ, यद्यपी उनले ब्याटिङ गर्नसक्छन् । चेन्नईको टिममा धेरै देब्रेहाते ब्याट्सम्यान भएकाले मुम्बई इन्डियन्सले अफ स्पिन जयन्त यादवलाईै खेलाउनसक्छ । सुरेश रैना, मोइन अली र रविन्द्र जडेजाविरुद्ध जयन्त उपयोगी हतियार हुनसक्छन् । यद्यपी, स्पिनरहरुका लागि पिच धेरै सहयोगी नहुने देखिएमा जयन्तको स्थानमा अस्टे«लियाली तिव्र बलर नाथन कल्टर नाईटले खेल्नसक्छन् ।

शारजहा र अबुदाबीमा अझै कडा नियम

शारजाह र अबुदाबीमा दुबईभन्दा पनि कडा नियम छ । यहाँ, रंगशाला प्रवेशका लागि खोप लगाएको प्रमाणपत्र देखाएरमात्रै पुग्दैन, खेल सुरु हुनभन्दा ४८ घण्टाअघिको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने शर्तसमेत छ । शारजाहमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई रंगशाला प्रवेशको अनुमति छैन । यता, अबुदाबीमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले रंगशाला प्रवेशका लागि खोप लगाएको प्रमाणपत्र देखाउनु पर्दैन, तर उनीहरुले ४८ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट भने देखाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप