प्रेरक भनाइ : अविश्वास नै डरको जननी हो

person explore access_timeअसोज ३, २०७८ chat_bubble_outline0


जिद्दु कृष्णमूर्ति प्रशिद्ध भारतीय दार्शनिक हुन् । सन् १८९५ मे १२ मा जन्मेर १९८६ फेब्रुवरी १७ मा दिवङ्गत भएका कृष्णमूर्ति जे. कृष्णमूर्तिको नामले परिचित छन् । विश्वप्रशिद्ध यी विचारक कुशल वक्ता र लेखक पनि हुन् । उनका शिक्षा तथा विचार मनलाई शिक्षित गराउने किसिमका हुन्छन् । उनका विचारबाट प्रेरित हुनेहरूको सङ्ख्या लाखौँ छन् । प्रस्तुत छ उनै कृष्णमूर्तिका केही विचार ।

१, संसारमा अन्त्य कुनै चीजको पनि हुँदैन । किनकि एउटा चीजको अत्य नै अर्को चीजको सुरुवात हो । जहाँ एउटा चीजको अन्त्य हुन्छ त्यहीँबाट अर्को चीजको सुरुवात भइसकेको हुन्छ । समुद्रमा हरेक क्षण साना ठूला तरङ्ग उठ्ने र बिलाउने गर्छन् । एउटा बिलाउन भ्याएको हुन्न त्यहीँबाट अर्को उठ्न सुरु गरिसकेको हुन्छ । संसार पनि त्यस्तै हो । त्यसैले कुनै पनि चीजलाई काम नलाग्ने भनेर बेवस्था गर्नुहुँदैन ।

२, कुनै पनि समस्याको उत्तर पाउन इच्छालाई स्वतन्त्र छाडिदिनुपर्ने हुन्छ । इच्छा भनेको त्यस्तो चीज हो, जसमा जस्तोसुकै समस्याको पनि उत्तर खोज्ने ताकत हुन्छ । होइन, छैन र सकिन्न भनेर बसे सानै समस्या पनि ठूलो बन्छ र मरिकाटे समाधान भेटिन्न । होइन सकिन्छ र सम्भव छ भनेर अघि बढे आकाशमा उड्न र समुद्रमा कुद्न पनि सकिन्छ । समस्या संसारमा होइन, आफैँमा छ । त्यसैले समाधानका लागि पनि आफैँ जाग्नुपर्छ, जहाँ इच्छा स्वतन्त्रताको सर्वोपरि भूमिका हुन्छ । 

३, अविश्वास नै डरको जननी हो । विश्वास बिना एक पाइलो पनि अघि बढ्न सकिन्न ।  विश्वास भए ढुङ्गा मूढामा पनि देवता देखिन थाल्छन् नभए देवता नै आए पनि कुनै अर्थ छैन । साँझको समयमा डोरी पनि सर्पजस्तो लाग्न सक्छ, रुखको ठुटोमा पनि बाघभालुको चित्र देखिन्छ । यसको कारक अविश्वास नै हो । जब डोरी र ठुटो भन्ने विश्वास हराउँछ तब सर्प र बाघभालु बन्न पुग्छ र डर पैदा गरिदिन्छ । 

४, भगवान्प्रतिको विश्वासले अरू नभए पनि कम्तीमा निरस र क्रुर जीवनबाट मुक्ति भने पाइन्छ । आज नभए पनि भोलि कसो नहोला भन्ने आशा जगाउने काम यही भगवान्प्रतिको विश्वासले गरेको हुन्छ । अन्ततः यही आशा नै जीवन जिउने आधार बनिरहेको हुन्छ ।

५, जसको पासमा डर भन्ने चीज छैन वा हुँदैन त्यही मानिस स्वतन्त्र र शान्तिपूर्ण मानिस हो । डरले मानिसलाई यसरी कैद गरेको छ कि यसैका कारण मानिसलाई स्वतन्त्रता र शान्ति दुर्लभ बनिरहेको छ ।    

६, डर त्यसैको मान्नुपर्छ जुन कुरा मैले जानेको छु भन्ने लागेको छ । किनकि जसले जानेको छु भन्छ उसले केही जानेकै हुँदैन । जसले जानेको छैन भन्छ उसले भने जानेको हुन्छ । नजान्नु पाप होइन तर नजानेको कुरा जानेको छु भन्नु चाहिँ घोर पाप हो । दुनियाँलाई यसैले खाइरहेको छ ।

७, जब प्रकृतिसितको सम्बन्धलाई चटक्कै बिर्सन थालिन्छ तब मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा आदि महत्वपूर्ण हुन पुग्छन् । प्रकृतितर्फ फर्कने बित्तिकै ती सबै त्यसैमा अन्तर निहित हुन पुग्छन् । सजीवलाई तड्पाएर निर्जिवको उपासना गर्नु मूर्खता बाहेक केही होइन ।

८, असीमलाई बुझ्न चाहने हो भने मनलार्ई शान्त राख्नुपर्छ । मन चञ्चल भएसम्म संसार चलिरहन्छ र हातलागी केही पनि हुँदैन तर मन शान्त हुने बित्तिकै असीमलाई समेत सीमाबद्ध हुन कर लाग्छ । 

९, आफ्नो प्रकाश आफैँ बन्ने प्रयास गर्नुपर्छ । अरुको ज्ञानको पछि लाग्नु भनेको नक्कल गर्नु हो । जतिसुकै राम्रो भए पनि नक्कल भनेको नक्कल नै हो, जसले परेको बेला काम दिँदैन । 

१०, ज्ञान खोज्न टाडा जानुपर्दैन । आफैँलाई बुझ्ने प्रयास गरे पुग्छ । जहाँ आफूलाई बुझ्न थालिन्छ त्यहीँबाट ज्ञानको सुरुवात हुन्छ ।

११, जुन विन्दुबाट आफूले आफूलाई बुझ्न थालिएको हुन्छ वा आफूलाई बुझ्ने क्रमको सुरुवात भएको हुन्छ त्यहीँबाट डरको अन्त्य भइरहेको हुन्छ ।

१२, वास्तविक ज्ञानको उदय त्यतिबेला हुन्छ जतिबेला प्रतिस्पर्धी भावना समाप्त भएको हुन्छ । प्रतिस्पर्धाले विजयको धरातलमा उभ्याउनसम्म सक्छ । ज्ञानको धरातलमा उभिन भने प्रतिस्पर्धा समाप्त हुनैपर्छ ।

१४, सत्य मार्ग त्यस्तो भूमि हो, जहाँ कुनै धर्म, सम्प्रदाय, जात, जाति, वर्ण, लिङ्ग तथा वाद र वादीको बाटोबाट पुग्न सकिन्न ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।